Comments Add Comment
सभामुखबारे नेकपामा सकस :

प्रधानमन्त्री छाडियो, सभामुख छाडिन्न : पूर्वमाओवादी

पूर्वएमालेभित्रै दुई लाइन, प्रचण्डलाई काशी जान सुझाव !

२० पुस, काठमाडौं । नेकपाभित्र सभामुखको विवाद पेचिलो बनेको छ । पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनलाई अनिर्णयको बन्दी बनाएर आन्तरिक बैठकमा जुटेको सत्तारुढ नेकपाले आइतबार पनि सभामुखमा सहमति जुटाउन सकेन । सभामुख कसलाई बनाउने भन्ने बारे प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीवीच मत बाझिएको छ ।

अध्यक्ष प्रचण्ड पूर्वमाओवादी खेमाले सभामुख पाउनुपर्ने अडानमा छन् । प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई बनाउनुपर्ने पक्षमा छन् । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन प्रधानमन्त्री ओलीलाई दबाव दिएको नेकपा नेताहरु बताउँछन् ।

पूर्वमाओवादीका नेताहरुले सभामुखमा नझुक्न प्रचण्डलाई दबाव दिएको उच्च स्रोतले अनलाइनखबरलाई बतायो । यही आन्तरिक दबावका कारण प्रचण्ड र ओलीबीच कुरा नमिल्दा नेकपाभित्र सभामुखमा सहमति जुट्न नसकेको हो । पार्टीले नाम टुंगो लगाउन नसक्दा संसदको बैठक पटक–पटक सर्दै आइरहेको छ ।

कृष्ण बहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पद आफूहरुले नै पाउनुपर्ने भन्दै पूर्वमाओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘यसअघि लिखित सम्झौता नै भए पनि प्रचण्डले ओलीजीलाई प्रधानमन्त्री पद छाडिसक्नुभयो । प्रधानमन्त्री छाडिदिएको अवस्थामा अब सभामुख छाड्न सकिँदैन ।’

बलात्कारको अभियोगमा जेलमा रहेका कृष्णबहादुर महरा यसअघि पूर्वमाओवादी खेमाबाटै सभामुख बनेका थिए । अहिले राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षसमेत पूर्वएमाले खेमाबाटै भएको अवस्थामा सभामुख पूर्वमाओवादीले नै पाउनुपर्ने ती नेताले बताए ।

ओनसरी भन्छिन्– शीर्ष नेताले मनोविज्ञान बुझुन्

सभामुखका लागि पूर्वमाओवादी खेमाबाट तीनजना दाबेदार छन् । अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालसमेत तीनजना पूर्वमाओवादीबाट सभामुखका दाबेदार भएता पनि यो पद पूर्वमाओवादीले पाउने निश्चित हुनासाथ आपसी सहमतिमा समस्या नरहेको एक पूर्वमाओवादी नेताले अनलाइनखबरलाई बताए । त्यसो त पूर्वसभामुख ओनसरी घर्तीको नाम पनि सभामुखका लागि चर्चामा आएको थियो । तर, उनले आफू सभामुखको दौडमा नरहेको भन्दै नयाँलाई अवसर दिनुपर्ने बताएकी छिन् ।

अनलाइनखबरसँग कुरा गर्दै पूर्वसभामुख घर्तीले भनिन्, ‘पार्टीभित्र एक से एक योग्य नेताहरु हुनुहुन्छ, त्यसैले पुरानालाई भन्दा नयाँलाई अवसर दिनुपर्छ भन्ने मेरो धारणा हो, त्यसैले म सभामुखको दौडमा छैन ।’

तर, यसपटक पूर्वमाओवादी खेमाबाटै सभामुख चयन गर्नु उपयुक्त हुने घर्तीले बताइन् ।

‘पूर्वएमाले र पूर्वमाओवादी एक भई नेकपा बनिसकेको भए पनि पार्टीभित्र सबै पक्षहरुको मनोविज्ञानलाई नेतृत्वले ख्याल गर्नुपर्ने हुन्छ,’ पूर्वसभामुख घर्तीले भनिन्, ‘अध्यक्ष प्रचण्डले पाँच वर्षकै लागि प्रधानमन्त्री नबन्ने सहमति गरिसक्नुभएको छ, यस्तो अवस्थामा सभामुख पूर्वमाओवादीबाटै बनाउँदा पार्टीभित्र राम्रो सन्देश जान्छ जस्तो मलाई लाग्छ ।’

तत्कालीन सभामुख महरामाथि षडयन्त्र भएको पार्टीभित्रैका कतिपयले आशंका गरिरहेको अवस्थामा पूर्वएमाले खेमाबाट सभामुख बनाइँदा त्यस्तो आशंका गर्नेहरुलाई बल पुग्ने घर्तीले संकेत गरिन् । यस्ता विषयमा पार्टीको शीर्षनेतृत्वले निर्णय लिँदाखेरि विचार पुर्‍याउनुपर्ने उनले सुझाव दिइन् ।

सभामुखका लागि पुरानैले दोहोरिने चाहना राख्नुभन्दा नयाँलाई नेतृत्व विकासको अवसर दिनुपर्ने घर्तीले बताइन् ।

पूर्वएमालेभित्रै दुई लाइन, प्रचण्डलाई काशी जान कटाक्ष !

सभामुख कसलाई बनाउने भन्नेबारे नेकपाभित्र एकातिर पूर्वएमाले र पूर्वमाओवादीवीच दुई लाइन संघर्ष सघन बनेको छ भने अर्कोतर्फ पूर्वएमालेभित्रै सुवास नेम्वाङ भर्सेस शिवमाया तुम्बाहाम्फेवीच दुई लाइन संघर्ष देखिएको छ ।

‘राष्ट्रपतिज्यूले शिवमायालाई नै सभामुख बनाइयोस् भनेर प्रधानमन्त्रीलाई भनिसक्नुभएको छ,’ नेकपाको उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘शिवमायाको पक्षमा खुलेरै दबाव आएका कारण प्रधानमन्त्री अप्ठ्यारोमा हुनुहुन्छ । तर, प्रधानमन्त्री ओलीको चाहनाचाहिँ सुवास नेम्वाङको नाममा प्रचण्डले सहमति जनादिए हुन्थ्यो भन्ने छ ।’

उता, पूर्वमाओवादीका दोस्रो दर्जाका नेताहरुले प्रचण्डलाई चर्को दबाव दिएर ओलीलाई जस्तै अप्ठ्यारोमा पारेका छन् । स्रोतका अनुसार पूर्वमाओवादीका एक नेताले आन्तरिक छलफलमा प्रचण्डलाई कटाक्ष गर्दै यतिसम्म भने, ‘पार्टी एकीकरणका बेला लिखित सहमति गरेको कागज हुँदाहुँदै तपाईले ओलीलाई प्रधानमन्त्री छाडिदिनुभयो, अब सभामुख पनि छाडिदिने हो भने बाँकी केही रहँदैन, काशीतिर गए हुन्छ !’

एमसीसी छल्न सीसी बैठक स्थगित ?

प्रधानमन्त्री केपी ओली अघिल्लो साता पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । उक्त बैठकमा अमेरिकाको एमसीसी सहयोगको समर्थन र विरोधमा चर्को बहस भयो । बैठकमा नेताहरुले सरकारको कार्यशैलीको समेत आलोचना गरे । पार्टीभित्र भएको यस्तो बहसप्रति अध्यक्ष एवं प्रधानमन्त्री ओली रुष्ट रहेको नेताहरु बताउँछन् ।

‘प्रधानमन्त्रीज्यूले स्थायी कमिटीको बैठक नै रुचाउनुभएको थिएन’ स्रोतले भन्यो, उहाँले केन्द्रीय समिति बैठक रुचाउने कुरै भएन । त्यहाँ पनि सरकार र एमसीसीको विरोध हुने देखेपछि बैठक स्थगित गर्ने उहाँमा चाहना देखियो ।’

यद्यपि आइतबार बसेको सचिवालय बैठकले राष्ट्रियसभाको चुनावलाई कारण देखाउँदै केन्द्रीय समिति बैठक स्थगित गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment