Comments Add Comment

भ्रमण वर्षप्रति आशा : प्रदेश १ का व्यवसायी होटलमा लगानी थप्दै

राज्यमन्त्री दुगडको पाँचतारे होटल अन्तिम चरणमा

विराटनगरमा सञ्चालित बिग होटल

२१ पुस, विराटनगर । पछिल्लो समय प्रदेश एकको राजधानी विराटनगरमा होटल व्यवसायमा लगानी गर्न आकर्षण देखिएको छ । व्यवसायीसमेत रहेका उद्योग राज्यमन्त्री मोती दुगड आफैंले यस प्रदेशमै पहिलो पाँचतारे होटलको निर्माण अन्तिम चरणमा पुर्‍याएका छन् ।

चारतारे होटलमा सफल भएपछि उनले भृकुटी चोकमा पाँचतारे होटलसहितको सेन्चुरियन मल निर्माण थालेका हुन् । यो होटलमा गरेको लगानी उनले खुलाएका छैनन् । यसअघि दुगडले करिब ४० करोडको लगानीमा ह्यारिसन प्यालेस सञ्चालनमा ल्याएका थिए ।

विराटनगर बजार क्षेत्रमा चार तारेसम्मका होटलहरु सञ्चालनमा छन् । होटल ह्यारिसन प्यालेस, स्टन स्टार, बिग होटल, होटल एशियाटिक, रत्ना, जेनियल, पाञ्चाली, होटल कृष्ण, स्वागतम, नमस्कार, प्यासिफिक विराटनगरका ठूला होटलहरु हुन् । विराटनगरमा बिग होटल, होटल कृष्ण, मनास्लु पछिल्लो समय होटल क्षेत्रमा भित्रिएको ठूलो लगानी हो । बिग होटल करिब ५० करोड लागतमा निर्माण भई एक वर्ष अघिदेखि सञ्चालनमा छ ।

पर्यटन वर्षलाई लक्षित गरी विराटनगरको होटल इस्टर्न स्टारले करिब पाँच करोड लगानी थप गरेको छ । होटल सञ्चालक तथा पर्यटन व्यवसायी भविस श्रेष्ठका अनुसार भ्रमण वर्षलाई लक्षित गरी होटलको स्तर वृद्धि गरिएको हो । इस्टर्न स्टारले कोठाहरु र सेमिनार हलहरु थप गरेको उनले बताए ।

रत्ना होटलले विराटनगर बसपार्कमा सुविधासम्पन्न संरचना निर्माण गरेको छ । होटल सञ्चालक रेवत थापाले पर्यटकीय क्षेत्र धनकुटाको हिलेमा होराइजन प्यालेस होटल पनि सञ्चालन गरिरहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन तर्फको प्रदेश संयोजक रहेका श्रेष्ठका अनुसार विराटनगरमा थप पाँचवटा होटलहरु निर्माणाधीन अवस्थामा छन् । उनका अनुसार पछिल्लो समय विराटनगरमा होटलहरु मात्र चार अर्ब हाराहारी लगानी थपिएको छ । ‘एउटा सामान्य होटल निर्माण गर्न जमिनबाहेक २५ देखि ३० करोड लाग्छ,’ उनी भन्छन्, ‘फाइभ स्टार होटल खोल्न दुई अर्ब हाराहारी लाग्छ, पछिल्लो समय विराटनगर क्षेत्रमा मात्र चार अर्बभन्दा बढी लगानी भइसकेको छ ।’

पर्यटन वर्षले पर्यटन क्षेत्रलाई थप उत्साहित बनाएको श्रेष्ठ बताउँछन् । तर बाहिरबाट आउने पर्यटकका लागि धेरै समय बस्ने वातावरण बनाउनका लागि पर्यटकीय क्षेत्र निर्माण गर्न नसकिएको उनको गुनासो छ । ‘हामीसँग प्रशस्त सम्भावनाहरु छन्,’ उनी भन्छन्, ‘तर पर्यटकको बसाइँ लम्ब्याउनका लागि पूर्वाधारहरु तयार भएका छैनन् ।’

प्रदेश १ का व्यवसायीहरुले धार्मिक तथा पर्यटकीय क्षेत्रमा नयाँ प्याकेजहरु निर्माण गरेको उनले जानकारी दिए ।

होटल एसियाटिकका सञ्चालक पुण्य भट्टराई पर्यटन वर्षमा आउने पाहुनाको स्वागतका लागि विराटनगरका होटलहरु तयार रहेको बताउँछन् । प्रदेश १ मा पर्यटन वर्ष प्रचारप्रसार समिति संयोजकसमेत रहेका भट्टराईले पर्यटकका लागि होटलमा २५ प्रतिशत र खानामा १५ प्रतिशतसम्म छुट दिने तयार रहेको उल्लेख गरे । उनका अनुसार विराटनगरमा ठूला होटलहरुमा दैनिक एक हजार मानिस बास बस्न सक्ने क्षमता छ ।

होटल एसोसिएसन विराटनगरका अध्यक्ष राजन श्रेष्ठ भ्रमण वर्षले आश देखाएकाले धेरै होटलहरुले लगानी थप गरेको बताउँछन् । पछिल्ला तीन वर्षमा होटलमा उल्लेख्य लगानी भित्रिएको र थप लगानी आउने क्रममा रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment