Comments Add Comment

खोई सोह्रखुट्टे पाटी ? सडकले खायो !

२१ पुस, काठमाडौं । पकनाजोलमा सोह्रखुट्टे पाटी (सतल) देखिन छाडेको पाँच वर्ष जति भएको छ । २०७१ मा सडक विस्तारका क्रममा पाटी भत्काएदेखि सोह्रखुट्टे यतिबेला पाटीविहीन छ ।

इतिहासका प्राध्यापक डा. त्रिरत्न मानन्धर सोह्रखुट्टे पाटी नहुँदा पकनाजोलको चिनारी नै हराएको बताउँछन् । ‘साँच्चै भन्ने हो भने पकनाजोलको गौरव भनेकै त्यही सोह्रखुट्टे पाटी थियो,’ उनी भन्छन्, ‘त्यस्तो सांस्कृतिक धरोहर कुनै पनि हालतमा त्यहाँबाट हटाउनु हुँदैनथ्यो ।’

शिलालेखअनुसार यो पाटी वि.सं. १८६४ मा बनेको थियो । यति पुरानो सम्पदा जोगाउन कतैबाट पहल नभएको प्रा.डा. मानन्धरको गुनासो छ ।

मानन्धर सानो छँदा सोह्रखुट्टे पाटीमा बटुवाहरू सुतीरहेको देखेका थिए । बटुवाका लागि घ्याम्पोमा पानी भरेर राखेको, धानको भारी बिसाएको, नुवाकोटको भगवतीको प्रतिमा राखेको देखेका मानन्धरले त्यो पाटीको ऐतिहासिकता र महत्वबारे यसरी बेलीविस्तार लगाए :-

मेरो जन्म ७५ वर्ष अगाडि ठँहिटीमा भएको हो । हामी विहान-विहानै पकनाजोलको गणेशथान दर्शन गर्न जान्थ्यौं । मन्दिर गएर फर्कंदा सोह्रखुट्टे पाटीमा बटुवाहरू सुतिरहेका हुन्थे । बटुवाकै लागि घ्याम्पोमा पानी भरेर राखिएको हुन्थ्यो । पानी पिउने भाँडो पनि हुन्थ्यो । प्यास लाग्नेहरूले त्यही भाँडोबाट पानी पिउँथे ।

नेपालमा पाटीपौवा बनाउने चलन पहिलादेखि नै थियो । यसले विश्राम गृहको काम गर्दछ । पाटी पौवाले टाढा-टाढाबाट आएका बटुवाहरूलाई आश्रय दिने काम गर्दछ । साधारण पाटीको चार खुट्टा र काठको निदाल हुन्छ । यस्ता पाटी प्रशस्तै बने । तर सोह्र खुट्टा राखेर मजबुत किसिमले बनाइएका पाटी ज्यादै थोरै छन् । त्यसमध्येको एक हो, काठमाडौं-पकनाजोलको सोह्रखुट्टे पाटी ।

तपाईँहरूसँग जुन पाटीको बारेमा कुरा गर्न गइरहेको छु, त्यो पाटी अहिले हटिसकेको छ ।

साँच्चै भनुँ भने सोह्रखुट्टे पाटी इतिहासको पाटो बनिसकेको छ । सोह्रखुट्टे पाटीले पकनाजोलको चिनारी दिएको थियो । पकनाजोलको गौरव भनेकै त्यही पाटी थियो ।

****

यो पाटी निर्माणको सन्दर्भ नेपाल-भोट युद्धसँग जोडिन्छ ।

वि.सं. १८४५ मा भएको लडाइँमा नेपालले भोट (तिब्बत)लाई हरायो । नेपालले जितेपछि भएको केरुङ सन्धिअनुसार भोटले हरेक वर्ष नेपाललाई ५० हजार रुपैयाँ बुझाउनुपर्ने भयो । त्यतिबेला नेपाल र भोटबीचको सीमाना केरुङ थियो ।

तर केरुङ सन्धि भोटलाई मन परिरहेको थिएन । उसले बर्सेनि ५० हजार रुपैयाँ बुझाउन आनाकानी गर्न थाल्यो । त्यसपछि वार्ता गर्ने कुरा भयो । तर कुराकानी भएन, फेरि युद्ध भयो ।

केरुङ सन्धिको तीन-चार वर्षपछि भएको युद्धको सुरुवाती चरणमा नेपालले भोटलाई हराएको थियो । लडाइँ हार्दै जान थालेपछि भोटले चीनसँग मद्दत माग्यो । र चीनले सहयोग गरेपछि नेपाल पराजित भएर बेत्रावतीमा सम्झौता भयो ।

नेपाल र भोटको यो लडाइँमा नेपालको तर्फबाट कपरदार भोटु पाण्डेले पनि भाग लिएका थिए । लडाइँ लड्दालड्दै उनी भोटको कुनै ठाउँमा बेहोस भएका थिए ।

दैवको कृपाले आँखा खुल्दा भोटु पाण्डेले आफूलाई पकनाजोलमा पाएको र त्यही कारण पाटी बनाउन लगाएको भन्ने मत पनि छ । तर भोटमा बेहोस भएको मान्छे होस खुल्दा पकनाजोलमा हुने भन्ने कुरा त अलि वैज्ञानिक भएन ।

भएको चाहिँ के रहेछ भने लडाइँको क्रममा बेहोस भएका भोटु पाण्डेलाई भोटमा व्यापार गर्न गएका नेपालीहरुले बोकेर ल्याएका रहेछन् । यसरी ल्याउने क्रममा पकनाजोलमा आइपुग्दा होस खुलेको थियो । त्यसको केही वर्षपछि उनले सोह्रखुट्टे पाटी बनाउन लगाएको देखिन्छ । भोटु पाण्डेले सोह्र खुट्टा भएको पाटी बनाउन लगाउनुअघि पनि त्यहाँ पाटी थियो रे । तर उनले बलियो हुने गरी सोह्र वटा खुट्टा राखेर पाटी बनाउन लगाएको पाइएको छ ।

बेत्रावती सम्झौताको केही वर्षपछि बनेकाले सोह्रखुट्टे पाटी १८६० को दशकमा बनेको हुनसक्छ ।

****

प्रताप मल्लकै पालादेखि नेपाल र भोटबीच व्यापारिक सम्बन्ध सुरु भएको थियो । मध्यकालदेखि नै नेपालीहरू ल्हासामा गएर व्यापार गर्थे । ल्हासा जाने प्रमुख दुई वटा बाटा थिए, एउटा केरुङ र अर्को कुतीको ।

भक्तपुर, पाटन (ललितपुर) र कान्तिपुर (काठमाडौं) अर्थात तीन वटै जिल्लाबासीले कुतीको बाटो प्रयोग गर्थे । केरुङको बाटो भने विशुद्ध रुपमा कान्तिपुरबासीले मात्रै प्रयोग गर्थे । किनकी पाटन र भक्तपुरवासीलाई केरुङको बाटो टाढा पर्थ्यो ।

केरुङ हुँदै भोट जाने व्यापारीहरूका लागि छोराछोरी, श्रीमतीहरूले पुर्‍याउन आउने ठाउँ पकनाजोलको त्यही सोह्रखुट्टे पाटी थियो । भोटबाट फर्केका व्यापारीलाई लिन पनि आफन्तहरू सोह्रखुट्टेमै जान्थे ।

बहादुर शाहको पालादेखि हरेक पाँच वर्षमा एक पटक नेपाली मिसन चीनतर्फ पठाउन थालियो । मिसनमा ४०-४५ जना  हुन्थे र, उनीहरुलाई बिदाई गर्न कर्मचारीहरू सोह्रखुट्टे नै आउँथे । चीनबाट फर्केको मिसनलाई पनि सोह्रखुट्टे पाटीमै स्वागत गरिन्थ्यो । कहिलेकाँही चाहिँ बालाजुसम्म पनि लिन गएको देखिन्छ ।

पहिला-पहिला काठमाडौं बाहिरबाट धान, चामल आउँथ्यो । हामी सानो हुँदासम्म पनि शिखरबेंसीबाट धान आउँथ्यो । त्यसरी धान, चामल बोकेर आउने भरियाहरूले पनि सोह्रखुट्टे पाटीमै विश्राम लिन्थे । कतिपय बटुवामा त्यहीँ बास बस्थे ।

यो पाटीसँग नुवाकोटको भगवतीको पनि सम्बन्ध छ । भगवतीलाई हरेक वर्षयता पकनाजोलमा ल्याएर जात्रा गर्ने र फेरि नुवाकोट नै पर्काउने गरिन्थ्यो । जात्राका लागि ल्याउँदा भगवतीलाई सोह्रखुट्टे पाटीमै राखेर पूजा गरिन्थ्यो ।

ध्यान दिएर हेर्नुभयो भने काठमाडौं शहर अलि अग्लो ठाउँमा छ । शहर पस्ने चार वटा नाका छन् । पूर्वबाट डिल्लीबजार, पश्चिमबाट नरदेवी, दक्षिणबाट त्रिपुरेश्वर र उत्तरतर्फ पकनाजोल हो । र, उत्तरतर्फको प्रमुख नाकामा बनाइएको थियो, सोह्रखुट्टे पाटी ।

अझै पनि आवागमनमा बाधा नपर्ने गरी त्यहीँ सोह्रखुट्टे पाटी पुनर्निर्माण गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । नभए त भावी पुस्तालाई सोह्रखुट्टे नाम कसरी रह्यो भन्ने पनि थाहा हुँदैन

****

नेपाल भाषामा ‘पकनाजो’ को अर्थ पकनाको गणेशथान हो । त्यसैले सुरुसुरुमा ‘पकनाजोल’ भनियो । तर विस्तारै मानिसहरुले सोह्रवटा खुट्टा भएको पाटीका कारण ‘सोह्रखुट्टे’ भन्न थाले ।

त्यसैले सोह्रखुट्टे पाटी पकनाजोलको पहिचान नै थियो । तर सडक विस्तारका क्रममा त्यो पाटीलाई नै नामेट पारियो । यातायातको बढ्दो चापले गर्दा पहिला भएको साँघुरो बाटोले धानेन । त्यो कुरा सही नै हो । तर बाटो विस्तार गर्दा ऐतिहासिक सोह्रखुट्टे पाटीलाई जोगाउनु पर्दथ्यो । चाहेको भए पाटीलाई जस्ताकोतस्तै राखेर दायाँ-बायाँबाट बाटो लान सकिन्थ्यो ।

 

काठमाडौंमै यस्तो गरिएका उदाहरण कति छन् कति । लौनचौरको डेरी र उपराष्ट्रपति कार्यालय बीचमा महर्जनहरूको कुल देवताको मन्दिर छ । त्यो मन्दिरको दायाँबायाँबाट गाडी ओहोरदोहोर गर्छन् । सोह्रखुट्टेलाई पनि त्यस्तै गरेको भए भइहाल्थ्यो । किनकी सांस्कृतिक धरोहरलाई संरक्षण गर्नुपर्ने त हामी सबैको कर्तव्य हो ।

भक्तपुर नगरपालिकाले पुराना पाटीहरूको संरक्षण गरेको छ । बिग्रे, भत्किएको छ भने मर्मत सम्भार गरेर राख्ने गरेको छ । यही सोह्रुखुट्टे पाटी पनि ४०-५० वर्ष पहिले पुनर्निर्माण गरेर नयाँ बनाएको थियो । अग्राख राखेर बनाइएको थियो ।

भोटु पाण्डेकै पालाको काठ नभए पनि सोह्रखुट्टे पाटीको संरक्षण भएकै थियो । यसले निरन्तरता पाउँछ भन्ने लागेको थियो । तर बाटो पुगेन भनेर भत्काइयो ।

त्यसबेला स्थानीयले अलिअलि विरोध पनि गरे । पाटीलाई जस्ताकोतस्तै राख्ने । अहिले बनेको नयाँ बाटोतर्फ जाने गाडीहरू सोह्रुखुट्टे पाटीलाई दायाँ पारेर जाने र नयाँ बजारतर्फ जाने गाडीहरू पाटीलाई बायाँ पारेर जाने भन्ने परिकल्पना गरिएको थियो । तर संरक्षण गर्ने भन्दाभन्दै सोह्रखुट्टेलाई बचाउन सकेनन् ।

अझै पनि आवागमनमा बाधा नपर्ने गरी त्यहीँ सोह्रखुट्टे पाटी पुनर्निर्माण गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । नभए त भावी पुस्तालाई सोह्रखुट्टे नाम कसरी रह्यो भन्ने पनि थाहा हुँदैन । प्रतीकको रुपमा भए पनि सोह्रखुट्टेमा पाटी बनोस्, यही कामना गर्छु ।

यो पनि पढ्नुहोस कसले मेटाउन खोज्यो चार सहिदको इतिहास ? यो पनि पढ्नुहोस यसरी हटाइएको थियो नेपाली भूमिबाट भारतीय फौज

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment