Comments Add Comment

दैनिक साढे ६ सय अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

२१ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा दैनिक साढे ६ सय अन्तराष्ट्रिय हवाई यात्रु कम उडेका हुन् ।

सन् २०१८ मा कूल ४३ लाख ४२ हजार ४८६ अन्तराष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । यो संख्या औसत दैनिक १२ हजार ६२ हो । तर सन् २०१९ को नोभेम्बरसम्म कूल अन्तर्राष्ट्रिय हवाई यात्रु मात्र ३७ लाख ६७ हजार ९१३ भित्रिएका छन् । यसको मतलव दैनिक औसत ११ हजार ४ सय १७ जना अन्तराष्ट्रिय हवाई यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका छन् । अर्थात् दैनिक औसत साढे ६ सय जना यात्रु कम उडेका छन् ।

२०१९ मा केही ठूला वायुसेवा कम्पनीले नेपाल उडान बन्द गरे, त्यसमध्ये जेट एयरवेज मुख्य थियो । जेट एयरवेजले मात्र वाषिर्क ३ लाख यात्रु बोक्ने गरेको थियो । २०१८ को अन्त्यतिर मलेसियाको बजेट एयरलाइन्स एयर एसियाले पनि नेपाल उडान रद्द गर्‍यो । यसले पनि अन्तर्राष्ट्रिय हवाई यात्रु घटाउन भूमिका खेलेको हो ।

यसबीचमा नेपाल सरकारले मलेसियामा वैदेशिक रोजगारी बन्द गरिदियो । त्यसकारण मलेसियामा हुने ठूलो यात्रु संख्या कटौती भयो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलकाअनुसार यसवर्ष त्रिभुवन विमानस्थलको धावनमार्ग र ट्याक्सी वेको जिर्णोद्धारसमेत भएको हुँदा त्रिभुवन विमानस्थल वर्षभर नै पूर्ण क्षमतामा चल्न पाएन ।

अघिल्लो चैतबाट असारसम्म दैनिक १० घण्टा र भदौदेखि मंसिरसम्म दैनिक ७ घण्टा बन्द गरी विमानस्थलमा जिर्णोद्धारको काम भएको थियो, जसले गर्दा अन्तराष्ट्रिय हवाई यात्रु घट्न पुगेको प्राधिकरणको विश्लेषण छ ।

आन्तरिकतर्फ यात्रु वढे

अन्तराष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिकतर्फ भने हवाई यात्रु बढेका छन् । २०१९ मा ३३ लाख आन्तरिक हवाई यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरे । जबकि २०१८ मा आन्तरिक यात्रु २८ लाख ४७ हजार ७५२ जना थिए । आन्तरिक उडानका यात्रुमा भएको वृद्धिले भने समग्रमा त्रिभुवन विमानस्थल प्रयोग गर्ने हवाई यात्रु (राष्ट्रिय-अन्तर्राष्ट्रिय) २ लाख जनाले बढेका छन् ।

सन् २०२० मा थपिँदै उडान

नेपाल एयरलाइन्सले सन् २०२० को प्रारम्भमै चीन र जापानको नारितामा उडान बिस्तारको योजना बनाएको छ । हिमालय एयरलाइन्सले हालै चीनमा उडान थालेको छ । निजी कम्पनीले केही समय अगाडी मात्र ढाका र मलेसियामा समेत उडान शुरु गरेको थियो ।

बिस्तारित उडानले सन् २०२० मा हवाई यात्रु बढाउने अपेक्षा छ । कुवेतको जजिरा एयरले हालै काठमाडौं उडान थालेको छ । प्राधिकरणकाअनुसार भारतको भिस्तारा एयरलाइन्सले१५ जनवरीबाट नेपाल उडान थाल्दैछ । भारतकै इन्डिगो एयरले नयाँ दिल्ली-काठमाडौं रुटमा दैनिक एक उडान गर्दै आएकोमा अहिले दैनिक चार पुर्‍याएको छ ।

त्रिभुवन विमानस्थल समेत पूर्ण क्षमतामा चल्न योग्य बनेका कारण सन् २०२० मा हवाई यात्रु बढ्ने अपेक्षा प्राधिकरणको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment