Comments Add Comment

सय वर्षसम्म खडेरीले सताएका अष्ट्रेलियाबासी

सिड्नीबाट करिब ६५० किलोमिटर टाढा रहेको वाजेट शहर यतिबेला खडेरीको कडा संघर्षमा गुज्रिएको छ । जुन स्थानीयको जीवित स्मृतिमा अहिलेसम्मकै सबैभन्दा ठूलो खडेरी यही साल भएको हो । त्यहाँ पछिल्लो सय वर्षमा औषत् ३ डिग्री सेल्सियसमा तापक्रम बढेको छ ।

खेतका गराहरु खडेरीले चिरा परेका छन् । सोही खेतमा पानी लगाउन बग्ने खोलाका बाँध र तालहरू प्रायः सुक्खा र खाली छन् । यो एक उजाड अवस्थाको परिदृश्य हो, जुन दृश्य नजिकैका शहरहरूले केही समयदेखि देखिरहेका छन् । डरलाग्दो बाढी आउने क्विन्सल्याण्डका केही भागमा अहिले पनि आगलागीको समस्या चुलिएको छ । सबै यही खडेरीको दुस्चक्रमा फसेका छन् ।

पछिल्लो समय अस्ट्रेलिया घातक र अनियन्त्रित आगोले दहन हुँदैछ । पछिल्लो ५ दिनदेखि निरन्तर चलिरहेको आगलागीबाट ५० करोड पशुपंक्षीहरुको ज्यान गइसकेको छ । आगोले करिब अष्ट्रेलियाको सबै भागलाई प्रभावित गरेको छ ।

अत्यन्तै तातो मौसम, लामो खडेरी र कडा बतासको मिश्रणका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन । तीन महिनाको अवधिमा तापक्रम बृद्धिमा रेकर्ड तोड्ने क्रम जारी छ । डिसेम्बरको अन्तिममा अष्ट्रेलियाले इतिहासको सबैभन्दा तातो दिन भोग्यो । अहिले अष्ट्रेलियामा ४९ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ ।

के जलवायु परिवर्तनको हो असर ?

आगलागीको बीचैमा यसको असरको खोजी सुरु भएको छ । यो कतैबाट सुरु भएको आगलागी नभई जमिन आफैं धेरै तापक्रमका कारण बल्न सुरु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो जलवायु परिवर्तनको असर स्वरुप भएको हो या होइन ? भन्ने विषयमा बहस सुरु जारी छ ।

कसैले यो पहिलेदेखि नै चलिआएको समस्या भएकोले यसलाई जलवायु परिवर्तनको असर मान्न नहुने बताउँछन् भने कसैले यो चरम समस्या जलवायु परिवर्तनकै असर स्वरुप भएको दाबी गरेका छन् । अधिक तापक्रम बृद्धि र वर्षा नहुनुलाई धेरैले जलवायु परिवर्तनको असरको रुपमा लिने गरेका छन् । अष्ट्रेलियामा देखिएको मौसमको अवस्थाले यो समस्या केही हप्तासम्म जारी रहने संकेत दिएको छ । अहिलेपनि अष्ट्रेलियामा बतास तेजका साथ चलिरहेको छ । जसले ज्वालालाई झनै बढाइरहेको छ ।

१०० वर्षको वातावरणीय स्थिति

१०० वर्ष अघि औषतमा माइनस साढे १ डिग्री सेल्सियसको अवस्थामा रहेको तापक्रम १०० वर्षमा ३ डिग्रीले बढेको छ । यही नै अष्ट्रेलियाको जलवायु परिवर्तनको प्रमुख रुप हो । अष्ट्रेलियामा खडेरीको सिलसिलालाई हेर्दा यो १९१४ देखि नै चलेको देखिन्छ । जतिबेला सरकारले खडेरी नियन्त्रण सम्बन्धी ऐन ल्याएको थियो । सन् १९१४ देखि १९१५ सम्म अष्ट्रेलियामा चरम खडेरी चलेको थियो । त्यसको ठिक ३ वर्षपछि सन् १९१८ मा पनि चरम खडेरी सुरु भयो । यो दुई वर्षसम्म चल्यो ।

त्यसपति दोस्रो विश्व युद्धको समयमा पनि अष्ट्रेलियाले नै चरम खडेरीको सामना गर्नुपर्यो । यसपटक सन् १९३९ देखि १९४५ सम्म चलेको थियो । त्यसको ठिक १३ वर्ष पछि सन् १९५८ देखि १९६८ सम्म पनि अष्ट्रेलियामा खडेरी चलिरहेको थियो । सन् १९८२मा सुरु भएको खडेरी एक वर्षसम्म चल्दा त्यहाँ ठूलो धन जनको क्षति भएको थियो ।

सन् १९९१ देखि ९५ सम्म खडेरी मच्चियो । सन् १९९२ मा खडेरी नियन्त्रण सम्बन्धी नीति आएको थियो । यसले खडेरी नियन्त्रणको लागि गर्नुपर्ने कामहरुको बारेमा उल्लेख गरेको थियो ।

यसरी १०० वर्ष अघिदेखिको रेकर्ड हेर्दा जलवायु परिवर्तनका कारण अष्ट्रेलियामा कति भयावह स्थिति सुरु भएको छ ? भन्ने कुरा यसले स्पष्ट गरेको छ ।  गत साता अष्ट्रेलियाको विभिन्न ठाउँमा हावाको गति प्रति घण्टा ६० माईलसम्म रेकर्ड गरिएको थियो । न्यू साउथ वेल्स र क्विन्सल्याण्डको धेरै जसो भूभागमा २०१७ को सुरूदेखि नै वषर्ाको कमीको अनुभव भइरहेको थियो । रूख, झुप्रो र घाँसे मैदानहरू आगोको राँकोले ध्वस्त गरिदिएको छ ।

आगो रोक्न के गरिँदैछ ?

पाँचदिनदेखि सुरु भएको आगो अहिलेसम्म निभेको छैन । सशस्त्र बलले आगो नियन्त्रण गर्न र त्यहाँका बासिन्दाहरूलाई उद्धार गर्नको लागि संयुक्त राज्य अमेरिका, क्यानडा र न्यूजिल्याण्डले पनि आगो रोक्न सहयोग गर्ने र अन्य विभिन्न स्रोतहरु सहयोग गरेका छन् ।

तर, लामो अवधिमा विशेषज्ञहरूले भनेका छन् कि आगलागीको क्षेत्रहरूमा भवन निर्माण सम्बन्धी मापदण्डको समीक्षा हुनुपर्छ । जसमा झाडी र सम्पत्तिहरूबीच साना घरहरू र ठूला बफर जोनहरूको रुपमा सिर्जना गर्नुपर्ने उल्लेख छ । त्यहाँ आदिवासी समुदायहरूले प्रयोग गर्ने परम्परागत अग्नि व्यवस्थापन प्रविधिहरूमा जोड दिन पनि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment