Comments Add Comment

धानको उत्पादकत्व अहिलेसम्मकै उच्च, तर उत्पादन घट्यो

२१ पुस, काठमाडौं । अघिल्लो वर्षको तुलनामा नेपालमा धानको उत्पादकत्व बढे पनि उत्पादन घटेको छ । कृषि तथ्याङ्क प्राविधिक समितिको बैठकबाट पारित तथ्याङ्कअनुसार यस वर्ष नेपालमा ५५ लाख ५० हजार ८७८ मेक्ट्रिक टन धान उत्पादन भएको हो, जुन गत वर्षको तुलनामा १ दशमलव ०५ प्रतिशत न्यून हो ।

गत वर्ष मुलुकभर ५६ लाख १० हजार ११ मेक्ट्रिकटन धान फलेको थियो । यसपाली धान लगाउने क्षेत्रफल ३२ हजार ८ सय २९ हेक्टरले घट्दा धान उत्पादनमा पनि ५९ हजार १३३ मेक्ट्रिकटनले कमी आएको छ । अघिल्लो वर्ष १४ लाख ९१ हजार ७४४ हेक्टर जमिनमा धान खेति गरिएको थियो भने यस वर्ष १४ लाख ५८ हजार ९१५ हेक्टर जमिनमा मात्रै धान खेती भएको कृषि विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा ३१ हजार हेक्टर जमिनमा यस वर्ष धान रोपाई नै हुन नसकेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए । समग्रमा धान खेतीको आकँडा घटे पनि उत्पादकत्वमा भने अघिल्लो वर्षको भन्दा बढोत्तरी देखिएको उनको भनाइ छ । अघिल्लो वर्ष प्रतिकिलो प्रतिहेक्टर ३७ सय ६० किलो रहेको धानको उत्पादकत्व यस वर्ष ४४ किलो प्रतिहेक्टरले बढेर ३८ सय ४ किलो पुगेको छ ।

मन्त्रालय र कृषि विभाग अन्तर्गतका निकायले सातै प्रदेशमा गरेको स्थलगत अनुगमन पछिको प्रतिवेदन एवं मौसम तथ्याङ्क समेतका आधारमा धान उत्पादनको प्रारम्भिक अनुमान गरिएको कृषि विभागले जनाएको छ ।

यस वर्षको उत्पादन गत आर्थिक वर्षको भन्दा कम देखिए पनि उत्पदकत्व भने अहिलेसम्मकै उच्च भएको कृषि तथा पशुपंछि विकास मन्त्रालयले जनाएको छ । विवरण अनुसार चैते धानको उत्पादकत्व बर्षे धानको तुलनामा उच्च देखिएको छ ।

कुन प्रदेशमा कति ?

मन्त्रालयको तथ्यङ्कअनुसार प्रदेश १ मा रोपाइँ हुने क्षेत्रफल १ दशमलव ७ प्रतिशत घटे पनि धान उत्पादन भने ० दशमलव ६ प्रतिशतले बढेर १२ लाख ४५ हजार ५ सय ४५ टन पुगेको छ ।

प्रदेश २ मा रोपाइँको क्षेत्रफल ६ र धान उत्पादन ५ प्रतिशतले घटेको छ । यस वर्ष प्रदेश २ मा १४ लाख २० हजार ४ सय ३६ टन मात्रै धान फलेको छ । यता प्रदेश ३ मा उत्पादन क्षेत्रफलमा ३ प्रतिशतले ह्रास आउँदा उत्पादन २.२ प्रतिशतले घटेर ५ लाख १० हजार २ सय टनमा सीमित देखिएको छ ।

गण्डकी प्रदेशमा उत्पादन क्षेत्रफल ४.९ प्रतिशतले घट्दा धानको उत्पादन पनि ४.४ प्रतिशतले घटेको छ । यस वर्ष उक्त प्रदेशमा ४ लाख ८ हजार ७ सय ३७ मात्रै धान फलेको छ । प्रदेश ५ मा रोपाइँ हुने क्षेत्रफल १.३ प्रतिशतले घट्दा धान उत्पादनमा ०.३ प्रतिशत ह्रास आएको छ । यस वर्ष प्रदेश ५ मा ११ लाख ८५ हजार ४ सय ९३ टन मात्रै धान फल्नेछ ।

तुलनात्मक रुपमा कम मात्रामा धान फल्ने कर्णाली प्रदेशमा ०.९ प्रतिशतले रोपाई हुने क्षेत्र बढेको छ भने धानको उत्पादन पनि गत वर्ष भन्दा ०.६ प्रतिशतले बढेको छ । यस वर्ष कर्णालीमा १ लाख ३४ हजार ४ सय ७ टन धान फलेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा गत वर्ष भन्दा उत्पादन क्षेत्रफल ६.१ प्रतिशतले बढ्दा धान उत्पादन पनि ६.७ प्रतिशतले बढेर ६ लाख ४६ हजार ५९ टन पुगेको छ ।

किन कम फल्यो धान ?

कृषि विकास मन्त्रालयले धानको उत्पादन घट्नको मुख्य कारण ढिला मनसुनका कारण समयमा रोपाई हुन नसक्नुलाई मानेको छ । ढिला मनसुनका कारण केही जमिन बाँझो रहेको, केही स्थानमा फौजी किराको प्रकोप देखिएको, विऊमा आएको समस्याका कारण धान नफलेको मन्त्रालयका प्रवक्ता केसीले बताए ।

यसका अलवा गरीमा धानको नक्कली विउका कारण साढे ८ हजार मेक्ट्रिकटन धान कम फलेको उनले बताए । यस्तै घडेरीकरण जस्ता कारणबाट पनि धान क्षेत्रफलमा कमि हुन आएको मन्त्रालयले जनाएको छ ।

उन्नत तथा हाईब्रिड जातका विउको उपलब्धता, औसतको तुलनामा लामो मनसुन अबधि, रसायनिक मलमा सहजता, सिंचाइ प्रबिधिमा आएका सुधारका कारण उत्पादकत्व भने बृद्धि हुन पुगेको मन्त्रालयको दाबी छ । नेपालमा वार्षिक ६० लाख मेक्ट्रिकटन धानको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment