Comments Add Comment

नयाँ उखु काट्न सुरु, तर पुरानै अनुदान बाँकी 

फाइल फोटो ।

२१ पुस, विराटनगर । सुनसरी मोरङका उखु किसानले उखु कटान सुरु गरेका छन् । गत वर्षको पूरा अनुदान नपाएका किसानहरुले मिलले कटान पुर्जी जारी गरेपछि उखु कट्न सुरु गरेका हुन् ।

मोरङ सुनसरीमा करिब २ हजार ६ सय किसानले ४ हजार ८ सय बिघा क्षेत्रफलमा उखु खेती गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका– ५ मा रहेको इष्ट्रन सुगर मिलले उखु कटानका लागि पुस १४ गतेदेखि पुर्जी काटेको थियो । तर किसान भने गत वर्षको अनुदानको रकम नपाउने हो की भन्ने चिन्तामा छन् ।

गत वर्ष सरकारले उखुको मूल्यमा प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मोरङ सुनसरीका किसानले ४४ रुपैयाँ ८७ पैसा अनुदान पाए । तर अझै २० रुपैयाँ ४१ पैसा अनुदानको रकम लिन बाँकी छ ।

‘मिलले कटान पुर्जी  दिएपछि उखु कटान सुरु भयो,’  विराटनगर – ६ का उखु किसान भागवत चौधरी भन्छन्, ‘ उखु कटान त सुरु भयो । तर गत वर्षकै पैसा लिन बाँकी छ ।’

उनी मिलले उखुको मूल्य भुक्तानी गरेपनि सरकारले दिने भनेको अनुदान पाउन नसकेको बताए । पाँच बिघा जग्गामा उखु खेती गरेका उनी मिलले पनि सरकारले तोकेको भन्दा थोरै रेट दिएको बताउँछन् ।

२५ बिघामा उखु खेती गरिरहेका उखु किसान सत्यजीवन चौधरी नयाँ उखु काट्न सुरु गरेपनि सरकारबाट पाउने अनुदान नआएको गुनासो गर्छन् । उनका अनुसार सरकारले अनुदानको रकम पनि चाडपर्व सकिएपछि मात्र पठाएको थियो ।

किसान भन्छन्- मिलले ठग्यो, सरकारले हेप्यो

बिक्री गरेको एक वर्षसम्म उखुको मुल्य नपाएपछि सर्लाही महोत्तरीका उखु किसान उखुको  भुक्तानी माग्दै काठमाडौं पुगेपछि मात्र राज्यले उनीहरुको आवाज सुन्यो । गत वर्ष सुनसरी मोरङका उखु किसानले मिलले राज्यले तोके अनुसारको भुक्तानी दिन नमानेपछि आन्दोलित भए । कृषकले आन्दोलन सरकारले सुनेन । खेत मै उखु सुक्न थालेपछि बाध्य भएर किसानले राज्यले तोकेको भन्दा ३० रुपैयाँ घटाएर बिक्री गरे ।

सरकारले प्रति क्विन्टल ५३६ रुपैयाँ तोके पनि इष्ट्रन सुगर मिलले दिन मानेन । मिलले खरिद गर्न नसक्ने बताएपछि किसानले ५ सय ६ रुपैयाँका दरले उखु बिक्री गरे । यो वर्ष भने मिलले राज्यले तोके अनुसारकै मुल्य दिने बताएको छ ।

यो पनि पढ्नुहोस उखु खेती : विचौलिया बन्दा बिल्लीबाठ !

प्रति क्विन्टलमा ३० रुपैयाँ घाटा खाएर उखु बेचेका किसानले समयमा नै भुक्तानी पाउने आशा राखेका थिए । ‘मिलले पनि झण्डै पाँच महिना कुरायो,’ उखु कृषक भागवत चौधरी भन्छन्, ‘ सरकारले दिने अनुदान एक वर्षसम्म पूरा आएको छैन् ।’  उखु खेतीमा फाइदा भएपनि बिक्री झण्झटिलो भएका कारण किसानहरु पलायन हुन थालेको उनको भनाइ छ ।

सँधै भुक्तानी उठाउन समस्या भोग्नुपर्ने अवस्था आएपछि किसानले उखु खेती गर्न छाडेको मोरङ जहदाका उखु किसान पर्मानन्द यादवले बताए । ‘गत वर्षसम्म ६ बिगाहामा उखु थियो,’ उनी भन्छन्, ‘ अहिले तीन बिघामा उखु छ, तीन बिघामा मकै लगाएको छु ।’  उखुको भुक्तानी लिन झमेला भोग्नु पर्ने अवस्था रहेकोले मकै खेती लगाउन थालेको उनले बताए ।

भुक्तानी नअल्झाएको मिलको दाबी

सुनसरी मोरङमा एउटा मात्र सुगर मिल छ । किसानले लगाएको उखु खरिद गर्दै आएको इष्ट्रन सुगर मिलका उखु प्रबन्धक धरमचन्द सिंह मिलले किसानलाई भुक्तानीमा नअल्झाएको बताउँछन् । गत वर्षदेखि नियमित भुक्तानी हुन थालेको बताउँदै उनले सरकारबाट पाउने अनुदान बाँकी रहेको बताए ।

मिलले गत वर्ष ११ लाख ७८ हजार क्विन्टल उखु खरिद गरेको थियो । यो वर्ष ११ लाख क्विन्टल उखु खरिद गर्ने अनुमान रहेको उनले सुनाए । भुक्तानीका विषयमा भने मिल नै धरासाही भएका कारण गतवर्ष राज्यले तोकेको भन्दा ३० रुपैयाँ सस्तोमा उखु खरिद गरेको बताए । ‘सरकारले अनुदान बापत किसानलाई ४४.८७ रुपैयाँ भुक्तानी गरेको छ,’ उनले भने, ‘ अनुदानको प्रति क्विन्टल २० रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।’ मोरङ सुनसरीमा करिब २ हजार ६ सय किसानले ४ हजार ८ सय बिघामा उखु खेती गरेका छन् । उखु किसानले मिलमा बिक्री गरेको रिपोर्टका आधारमा सरकारले किसानको खातामा पैसा पठाउँदै आएको छ ।

यो पनि पढ्नुहोस बल्ल मुस्कुराए रामविलास ! यो पनि पढ्नुहोस सरकार र उखु किसानबीच पाँचबुँदे सहमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment