Comments Add Comment

क्यानको ५ सदस्यीय कार्यसम्पादन समिति गठन

नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा

२२ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको बोर्ड बैठकले अध्यक्ष चतुरबहादुर चन्दसहित पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।

दैनिक कार्यसम्पादन सहज होस् भन्ने उद्देश्यले ५ सदस्यीय कार्यसमिति गठन गरेको क्यानले जनाएको छ ।

जसमा उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य अमितवीर पाण्डे छन् ।

यसैगरी बोर्ड बैठकले जिल्लाका कार्यालय स्थापना गर्न सदस्य जिल्लाहरूलाई १–१ लाख र सात प्रदेशलाई ३३ लाख दिने निर्णय गरेको छ ।

क्याम्प पोखरामा

नेपालले एक महिनापछि अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दैछ । विश्ववकप लिग २ अन्तर्गत नेपालमै हुने यस सिरिजका लागि पोखरामा नेपाली टिमको क्याम्प राख्ने भएको हो । जनवरी १० देखि पोखरा क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु हुनेछ ।

उक्त सिरिजका लागि कीर्तिपुरस्थित टीयू मैदान र मूलपानीस्थित क्रिकेट मैदान (अभ्यासका लागि) तयार पार्ने कार्य सुरु भइसकेको क्यानले जनाएको छ । दुवै मैदान र पिच निर्माणको कार्य आर्इसीसीका क्यरेटर बन्दुला ववार्नपुरले हेरिरहेको पनि क्यानले जनाएको छ ।

यस्तै क्यान बोर्ड बैठकमा केही समयअघि आईसीसीसँग भएको छलफलका बारेमा पनि जानकारी गराइएको थियो । साथै त्रिकोणात्मक सिरिजको बारेमा पनि छलफल भएको क्यानले जनाएको छ ।

बन्द प्रशिक्षणमा रहेका बेला नेपालले पोखरामा मलेसियन टिमसँग ३ दिवसीय खेलसमेत खेल्नेछ ।

इनरुवमा भइरहेको एमएम कप एकदिवसीय प्रतियोगिता खेल्न मलेसियन टोली जनवरी ९ मा नेपाल आउँदैछ र त्यहाँ प्रतियोगिता सकिएपछि टोली पोखरा जानेछ ।

यस्तै बोर्ड बैठकमा प्रतियोगिता संयोजक प्रशान्त मल्लले क्यानको वार्षिक क्यालेन्डरसमेत प्रस्तुत गरेका थिए र यसबारे छलफल पनि भएको थियो । तर त्यसबारे क्यानले केही धारणा सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment