Comments Add Comment

गृहमा कार्यरत सशस्त्र प्रहरीबाट कुटिए विद्युत् प्राधिकरणका कर्मचारी

२३ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि प्रहरीले कुटपिट गरेको छ । मादक पदार्थ सेवन गरेका प्रहरीको कुटपिटबाट २ कर्मचारी घाइते भएका छन् ।

मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका प्राधिकरणका २ कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) प्रवीण राई र हवल्दार छवीन्द्र राईले कुटपिट गरेको जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । कुटिनेमा प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का  छन् ।

कुटपिटबाट  खत्री र खड्का घाइते भएका छन् । घाइते खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको छ । घाइते दुवैको अहिले अर्थोपेडिक हस्पिटलमा राखेर उपचार भइरहेको प्राधिकरण जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मर्मतको काम सकाएर प्राधिकरणकै गाडीबाट फर्किंदै गर्दा गाडी रोकेर मदिराले मात्तिएका सशस्त्रका २ प्रहरीले आक्रमण गरेका थिए ।

‘मर्मतको काम सकेर उहाँहरू फर्कंदै गर्दा कसरी गाडी चलाएको भन्दै निर्घात कुटपिट भयो’, पौडेलले अनलाइनखबरसँग भने ।

कुटपिट गर्ने प्रहरीद्वयले भने प्राधिकरणको गाडीले ठक्कर दिएपछि विवाद भएको दाबी गरेका छन् ।

बौद्ध प्रहरीका डीएसपी रमेशबहादुर सिंहले आक्रमणकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

आक्रमणमा संलग्न सहायक प्रहरी निरीक्षक प्रवीण र हवल्दार छवीन्द्र सशस्त्र प्रहरी कार्यदल दरबन्दी भई गृहमन्त्रालयमा कार्यरत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment