हरेक पर्व अनुसार खानेकुरामा विविधता छ । जस्तो तिहारको सेलरोटी, दशैंमा खसीको पक्कु, असार पन्ध्रमा दही चिउरा । यसैगरी जाडो यामको पनि विशेष खानेकुरा छन्, तरुल ।
हुन त तरुल माघे संक्रान्तिमा पकाइने गरिन्छ । यद्यपि जाडो यामसँगै तरुल उत्पादन सुरु हुन्छ । यो प्राकृतिक एवं मौसमी खानेकुरा भएकाले जाडो याममा यसको सेवन शरीरका लागि उपयोगी र आवश्यक हुन्छ ।
यतिबेला शरीरलाई आवश्यक पोषण यहि तरुलले पूर्ति गर्छ । हामीकहाँ धेरै थरीका तरुल पाइन्छ । घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, स्कुसको जरा । यससँगै पिँडालु, सख्खरखण्ड आदि पनि खाइन्छ । अर्थात यस सिजनमा जे जति कन्दमुल उत्पादन हुन्छन्, ति माघे संक्रान्तिको विशेष परिकार बन्छ ।
तरुलमा के पाइन्छ ?
कन्दुमुलका नामले चिनिने तरुल तथा पिडालु रेशेदार खानेकुरा हो । त्यसैले, यसबाट बढी मात्रामा फाइवर प्राप्त गर्न सकिन्छ । यसले शरीरमा कैलोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ । साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन ।
तरुल तथा पिडालु रेशेदार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर वा दिशालाई मलद्धारद्धारा सजिलै बाहिर निकाल्न मद्दत गर्छ ।
प्राचिन मानिसको मुख्य खाद्यपदार्थ भनेकै कन्दमुल र फलफूल थियो । उनीहरुले यस्तै खानालाई प्रशय दिने गर्थे । तरुल कन्दमुल अन्तरगत पर्ने तरकारी हो । यसबाट प्रोटिन, मिनरल र विभिन्न प्रकारका भिटामिन पाइन्छ । जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ । तरुललाई साप्ताहिक रुपमा नियमित प्रयोेग गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । मधुमेहको विरामीले भने अलि कम नै प्रयोग गर्दा राम्रो ।
उसिनेर खाइने भएकाले
तरुल आफैमा शरीरका लागि उपयोगी खानेकुरा हुन् । यसलाई उसिनेर खाइन्छ । यसमा तेल, मर-मसला हुदैन । त्यसैले तरुलमा रहेको पोषक तत्व नष्ट हुन पाउँदैन ।
अर्ग्यानिक उत्पादन
सामान्यत तरुल अनुकुल माटो र हावापानीमा सहजै उत्पादन हुने गर्छ । यसका लागि अतिरिक्त मल र विषादी प्रयोग गर्नु पर्दैन । त्यसैले तरुल पूर्णत अर्ग्यानिक खानेकुरा हुन् ।