Comments Add Comment

नारायणगढ-मुग्लिन सडक थप दुई दिन दिउँसोमा बन्द

Photo Credit : अनलाइनखबर फाइल

२३, पुस, चितवन । पहिरो रोकथामका विभिन्न काम गर्न भन्दैं मंसिर २७ गतेबाट दैनिक दिउँसो ४ घण्टा बन्द गरिएको नारायणगढ मुग्लिन सडकखण्ड बुधवारदेखि थप दुई दिन बन्द गरिने भएको छ ।

आयोजनाले मंगलबार एक सूचना जारी गरी काम नसकिएकोले थप दुई दिन बन्द हुने जनाएको छ ।

आयोजनाले सडक बन्दको समय थप गरेको यो दोस्रोपटक हो । पहिरो नियन्त्रणको कामको काम गर्ने भन्दैं नारायणगढ-मुग्लिन सडक दुई हप्ताका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घण्टा बन्द हुँदै आएको छ । यसअघि काम नसकिएको भन्दै पुस २२ गतेसम्म बन्द हुने भनिएको थियो ।

आयोजनाले ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएको जनाएको छ । गत वर्ष अधिकांश ठाउँमा पहिरो नियन्त्रणको काम पूरा भए पनि आठ ठाउँको काम बाँकी थियो । ती ठाउँहरुमा यसपटक काम गरिएको हो ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार यसअघि अघिल्लो वर्ष ११ ठाउँमा आधुनिक शैलीको रक नेटिक र रक बोल्टिङ गरेर पहिरो रोक्ने प्रयास गरिएको थियो ।

१२ ठाउँमा बायोइन्जिनियरिङ गरिएको थियो । सूचना अधिकारी खनालले ३६ किलोेमिटर लामो सडकखण्डमा यसपटक ८ स्थानमा पहिरो जोखिम नियन्त्रणको काम भैरहेको जानकारी दिए ।

गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे मन्दीर छेउ, चारकिलो, टोपेखोला, कालीखोला क्षेत्रमा पहिरो रोकथामका लागि रक नेटिङ, रक बेल्डिङ र अन्य बायो इन्जिनियरिङका कामहरु भैरहेका छन् ।

झण्डै १२ करोडको लागतमा पहिरो रोकथाम सम्बन्धी काम तीनवटा ठेकेदार कम्पनीको जोइन्ट भेन्चरलाई दिइएको हो । सडक बन्द भएपछि चितवन आउने र चितवनबाट जाने सवारीलाई विभिन्न ठाँउमा रोकेर राख्ने गरिएको छ ।

नारायणगढबाट जाने यात्रुबाहक सवारी साधानलाई १५ किलो बजारमा रोकिएका छन् भने मालवाहक सवारीलाई दासढुंगामा ।

काठमाडौंबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारमा, पोखराबाट आउनेलाई बेनीटारमा रोक्ने गरिएको छ ।
यस्तै, पोखराबाट आउने मालवाहक सवारीलाई आबुँखैरहनीमा र काठमाडौंबाट आउनेलाई लेवाटारमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो सडक हुँदै दैनिक १० हजारको हाराहारीमा यात्रु बस, साना सवारी र समान बोकेका ट्रक ओहोरदोहोर गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment