Comments Add Comment
अर्थतन्त्रको शल्यक्रिया–२ :

भारतीय अर्थतन्त्रको अधोगति, नेपालमा प्रभाव

अर्थविद् भन्छन्– परनिर्भर भएसम्म नकरात्मक असर पर्छ

२३ पुस, काठमाडौं । सन् २०१८ मा भारत सरकारले नोटबन्दीको घोषणा गर्दा नेपालसमेत प्रभावित बन्यो ।

नोटबन्दीपछि भारतीयका घरघरमा राखिएका कालो धन बर्वाद हुने र मुलुकको अर्थतन्त्रलाई नोटबन्दीले राम्रो फाइदा पुग्ने विश्लेषण गरिएको थियो । तर, पछिल्लो समय भारतको अर्थतन्त्रमा मन्दी आएको छ । अर्थतन्त्रका सूचकहरु कमजोर बन्दै गएका छन् ।

भारतको अर्थतन्त्रका सूचकहरु नकारात्मक देखिरहँदा खुला सिमाना रहेको नेपाललाई के असर गर्ला त ? नेपाली अर्थशास्त्रीहरु भारतीय अर्थतन्त्रमा मन्दी आउँदा नेपालको अर्थतन्त्रलाई धेरै किसिमले नोक्शानी पुग्ने विश्लेषण गर्छन् ।

अर्थविद् डा. विश्वम्भर प्याकुरेल नेपाल अधिकांश वस्तु तथा सेवामा भारतसँगै परनिर्भर रहेका कारण भारतको अर्थतन्त्र राम्रो हुँदा नेपाललाई राम्रो हुने र नराम्रो हुँदा नराम्रो असर गर्ने बताउँछन् । नेपाल आत्मनिर्भर भएको अवस्थामा भने त्यस्तो नहुने उनी बताउँछन् ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीको धारणा पनि त्यस्तै छ । नेपाल आत्मनिर्भर हुन नसकेका कारण नै भारतीय अर्थतन्त्रको सकरात्मक– वा नकारात्मक दुबै असर नेपालको अर्थतन्त्रमा पर्ने उनी बताउँछन् ।

भारतीय अर्थतन्त्रको मन्दीले के–के पर्ला त असर ? अब नेपालमा पर्न सक्ने असरका बारेमा चर्चा गरौं :

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७६/७७ को चार महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । यसमध्ये गन्तव्यका आधारमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ ।

‘हाम्रो अधिकांश वैदेशिक व्यापार भारतसँग नै छ, जसका कारण पनि भारतीय अर्थतन्त्रमा मन्दी आउँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने नै हो’ अर्थविद चन्द्रमणि अधिकारीले बताए ।

यस अवधिमा कुल वस्तु आयात ६.९ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७६/७७ को चार महिनासम्ममा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई रु.४१४ अर्ब २ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ ।

वैदेशिक व्यापारघाटा क्रमशः सुधार हुने क्रममा देखिएको छ । तर वैदेशिक व्यापारको धेरै ठूलो हिस्सा ओगट्ने भारतको अर्थतन्त्रमा मन्दी आउँदा यसले प्रत्यक्ष असर पार्ने विज्ञ बताउँछन् ।

नेपालले आयात गर्ने कुल परिमाणको लगभग दुई तिहाइ भारतसँगै हुने भएकाले मन्दीको असर राम्रै पर्ने अर्थविद् डा. अधिकारीले बताए । कच्चा पदार्थहरु सबै भारतबाटै आउने भएका कारण पनि वैदेशिक व्यापारमा ठूलो असर पर्ने उनले बताए ।

भारतीय अर्थतन्त्रमा मन्दी आउँदा त्यहाँका सामानहरुको भाउ बढ्ने भएकाले पनि नेपाली उपभोक्ताहरुलाई ठूलो असर पर्ने उनी बताउँछन् ।

वैदेशिक व्यापारमा समेत यसको प्रभाव देखिने उनले बताए । ‘हाम्रो अधिकांश वैदेशिक व्यापार भारतसँग नै छ’ उनले भने, ‘जसका कारण पनि भारतीय अर्थतन्त्रमा मन्दी आउँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने नै हो ।’

श्रम बजारको विजोग

अहिले नेपालका धेरै मान्छेहरु भारतमा रोजगारीका लागि पुगेका छन् । खुला सीमाना भएका कारण भारत रोजगारीका लागि नेपाली श्रमिकको आकर्षणको केन्द्र नै हो । विशेष गरेर कर्णाली र सुदूर पश्चिममा नागरिकहरु ठूलो संख्यामा रोजगारीको लागि भारतमा छन् ।

भारतीय अर्थतन्त्र कमजोर बन्दा त्यहाँ लाखौं श्रमिकहरु बेरोजगार हुने उच्च सम्भावना रहेको भारतीय अर्थशास्त्रीहरुले बताउदै आएका छन् । यसो हुँदा ठूलो संख्यामा श्रमिकहरुको रोजीरोटी नै मर्ने र त्यसको असर नेपाली श्रमिकलाई पर्ने सम्भावना प्रसस्त देखिन्छ ।

भारतमै बेरोजागरी बढे त्यहाँ नेपाली श्रमिकले अवसर पाउने सम्भावना समेत कम हुनेछ । भारतमा अहिले पनि बेरोजगारीको दर बढी नै छ, झन् अर्थतन्त्रमा मन्दी आउँदा थप बेरोगारी बढ्छ यसले नेपाली श्रम बजारलाई नै असर गर्छ ।

अर्थविद् डा. प्याकुरेल भने श्रम बजारको विषयमा अहिले आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताउँछन् । अहिले देखिएको आर्थिक मन्दी लामो समय नटिक्ने समेत उनले दाबी गरे । राजनीतिक कारणले जति असर गर्छ त्यति असर आर्थिक कारणले श्रम बजारमा नपर्ने उनी बताउछन् ।

‘अहिले देखिएको मन्दी लामो समय टिक्दैन’ उनले भने, ‘समस्या भइहाले त्यसको नेपालमा असर पर्नु स्वभाविक नै हो ।’

यो पनि पढ्नुहोस ‘भारतको अर्थतन्त्र सुधार हुँदा नेपाललाई फाइदा’

सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धीपछि खुुला भएको नेपाल भारत सीमानाका कारण अहिले कति नेपाली भारतमा कार्यरत छन् भन्ने एकीन तथ्याङ्क छैन । भारतमा नेपाली कामदारबारे नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमख छदा अध्यनन गरेका नरबहादुर थापा भारतीय अर्थतनत्रमा मन्दी आउँदा त्यसको असर श्रम बजारमा पर्न सक्ने बताउँछन् ।

अहिले ४५ लाख हारहारी नेपाली भारतमा श्रम गरिरहेको अनुमानित तथ्यांक छ । यीमध्ये अधिकांश श्रमिकलाई भारतीय अर्थतन्त्रमा मन्दी आउँदा समस्या पार्ने थापा बताउछन् ।

मुद्रा अवमूल्यन

२०७६ असार मसान्तको तुलनामा २०७६ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ४.५ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.८ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १ सय १४ रुपैयाँ ५६ पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर १ सय ९ रुपैयाँ ३६ पैसा रहेको थियो ।

‘अहिले पनि वैदेशिक लगानीको ठूलो हिस्सा भारतकै छ, अन्य देशहरुको कम नै छ, भारतकै अर्थतन्त्र डामाडोल भए नेपालमा वैदेशिक लगानी बढ्ने होइन घट्ने हुन्छ’ अर्थविद डा. विश्वम्भर प्याकुरेल भन्छन् ।

नेपालको भारतसँग स्थिर विनिमय दर छ । भारतको अर्थतन्त्र कमजोर बन्दै जाँदा अमेरिकी डलरको तुलनामा भारतीय मु्द्रा कमजोर बन्छ । स्थिर विनिमय दरका कारण त्यसको प्रत्यक्ष प्रभाव नेपाली रुपैयाँमा पर्न जान्छ ।

अर्थात भारतीय रुपैयाँ बढे नेपाली रुपैयाँ पनि बलियो हुँदै जान्छ भने भारतीय रुपैयाँ कजोर बने नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । भारतको अर्थतन्त्र यहि अनुपातमा कमजोर बन्दै गए अमेरिकी डलरको तुलनामा भारु कमजोर हुने र त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि देखिने अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउछन् ।

वैदेशिक लगानीमा गिरावट

संविधान सभाबाट संविधान बनेर स्पष्ट बहुमतसहितको सरकार गठन भएपछि नेपालमा लगानीको सम्भावना प्रसस्त भएको विश्व बजारमा थोरबहुत चर्चा छ । गत साल काठमाडौंमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलन तथा सरकारले वैदेशिक लगानी भित्र्याउन गरेका पहल पनि सकरात्मक नै छन ।

उता डुइङ विजनेश इनडेक्समा समेत सुधार भएको विश्व बैंकको तथ्यांकले पनि नेपालमा लगानीको वातावरण बनेको छ भन्ने प्रष्ट पारिसकेको छ । भर्खरै लगानी भित्रिने क्रममा रहेका बेला भारतको अर्थतन्त्रमा मन्दी आए त्यसको असर सोझै नेपाली अर्थतन्त्रमा पर्ने अर्थविद् प्याकुरेल बताउँछन् ।

‘अहिले पनि वैदेशिक लगानीको ठूलो हिस्सा भारतकै छ, अन्य देशहरुको कम नै छ’ उनी भन्छन्, ‘भारतकै अर्थतन्त्र डामाडोल भए नेपालमा वैदेशिक लगानी बढ्ने होइन घट्ने हुन्छ ।’ अझ भनौं उत्पादन मूलक क्षेत्रमा अधिकांश लगानी भारतकै छ ।

सरकारले उत्पादन मुलक क्षेत्रमा लगानी बढाउने योजनालाई कार्यान्वयन गरिरहेका बेला भारतीय लगानी घट्ने हो भने नेपालको अर्थतन्त्रमा खतराको घण्टि बज्ने अर्थविद् प्याकुरेल बताउँछन् । ‘स्वदेशी लगानी पनि त्यति उत्साहित देखिँदैन, कहिले करको लफडा त कहिले के समस्याले गर्दा निजी क्षेत्र सन्तुष्ट हुन सकेको छैन’ उनी भन्छन्, ‘झन भएको भारतीय लगानी पनि घटेपछि त अर्थतन्त्रमा खतरा पर्ने नै गयो, अन्य देशले ठूलो लगानी ल्याउने सम्भावना धेरै कम छ ।’

पर्यटन आवागमनमै समस्या !

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले यस सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरिसकेको छ । गत वर्ष १२ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्यसै पनि २० लाख पर्यटक भित्र्याउनै समस्या छ ।

झन् भारतीय अर्थतन्त्रमा मन्दी आउँदा त्यसको प्रत्यक्ष असर पर्यटक आवागमनमा समेत पर्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

भारतबाट आउने पर्यटकको संख्या ठूलो भएको र अन्य मुलुकहरुबाट आउने पर्यटकहरु पनि भारत हुँदै आउने भएकाले यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पर्ने थापा बताउँछन् ।

अथृविद् प्याकुरेल भारतीय पर्यटकहरुको रेकर्ड राख्ने हो भने ५०/६० प्रतिशत पर्यटक भारतबाट मात्रै आउने बताउछन् । भारत हुँदै आउने पर्यटकको संख्या पनि अधीक रहेको तर त्यसले नेपालले लाभ लिन अझै नसकिरहेको उनले बताए ।

उनले भने, ‘भारतको नाममात्रै लिने हो पनि हामीले नकारात्मक लिन्छौं । फुर्काएर हुने ठाउँमा फुर्काउनु पनि पर्छ तर हामी त्यो मन पराउँदैनांै । डडेलधुरामा भारतीय पर्यटक जान्छन्, त्यहाँ बस्ने ठाउँ नभएर धनगढी फर्किएर बस्छन् । लुम्बिनीको हालत पनि उस्तै छ ।’

आफू म श्रीलंकामा हुँदा त्यहाँको सस्कृति मन्त्रीले भनेको कुरा पनि उनले सुनाए । ‘हाम्रा नागरिक भारतका लागि भिसा लगाएर भारत हुँदै नेपाल पुग्छन् । खानेकुरा भारतमै किन्छन, त्यो लगेर लुम्बिनीमा खान्छन् प्याकेट त्यहाँ फालेर बास बस्न भारतनै आइपुग्छ’ मन्त्रीको कुरा उनले सुनाए ।

यसरी पर्यटन क्षेत्रको विकास नहुने उनले बताए । अझ भारतको अर्थतन्त्रमा पर्दा तेस्रो मुलुकबाट आउने पटकको संख्या घट्ने समेत उनी बताउँछन् । महंगी बढे भारतीयले नेपाल आएर खर्च गर्न नसक्ने भएकाले पनि यसको असर पर्यटन क्षेत्रमा पर्ने उनले बताए ।

यो पनि पढ्नुहोस आर्थिक वृद्धिदर उच्च, अधोगतिमा अर्थतन्त्र ? यो पनि पढ्नुहोस मध्यपूर्वको बाछिटा : सुनको भाउ बढ्यो, अब तेलको पालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment