
२३ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ मा सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत ५३ जना महिलालाई १५० थान मेवाको बेर्ना वितरण गरिएको छ ।
वीरगञ्ज महानगरपालिका बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनमा आवश्यक पर्ने पोषण तत्वबारे तालिम प्रदान गरिएपछि १ सय ५० थान मेवाको बेर्ना हस्तान्तरण गरिएको हो ।
बुधबार वीरगञ्ज–२२ मनियारीमा भएको कार्यक्रममा महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शिशुको बौद्धिक विकासका लागि पोषण तत्वमा ध्यान दिनुपर्ने बताए ।
‘गर्भ अवस्थादेखि २ वर्षसम्ममा बालबालिकाको ८० प्रतिशतको हाराहारीमा बौद्धिक विकास हुन्छ । गर्भवती महिला र जन्मेका बच्चाहरुको पोषणतत्वमा ध्यान पुर्याउनुपर्छ ।’ नगर प्रमुख सरावगीले भने ।
महिलालाई उर्मिला श्रेष्ठ र ओमप्रकाश रामले मेवाको बेर्ना रोप्ने तरिका र त्यसको जातीय बिशेषताको बारेमा जानकारी गराएका थिए ।
मनियारी जगर्नाथपुरमा रहेका सम्पूर्ण गर्भवती महिलालाई चाहिने पोषण तत्वको आवश्यकतालाई ख्याल गर्दै सबैलाई आँगनमा लगाउन सकिने उन्नत जातका फलफुल प्रदान गरिएको वडा अध्यक्ष ग्याँसु मियाले बताए ।
प्रतिक्रिया 4