Comments Add Comment

जापानी प्रधानमन्त्री आबेको मध्यपूर्वको भ्रमण रद्द

२४ पुस, टोकियो  । जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वको भ्रमण गर्ने योजना रद्द गरेका छन् । उनले आगामी आइतबारदेखि भ्रमण गर्ने योजना बनाएको भए पनि अहिले आएर रद्द गरेको सरकारी श्रोतले जनाएको छ ।

उनले साउदी अरब, युएई., ओमनलगायतका देशको भ्रमण गर्ने योजना बनाएको उनका प्रवक्ताले केही दिन अगाडि जानकारी दिएका थिए ।

अमेरिका र इरानकाबीचको तनाव उत्कर्षमा पुगेकाले त्यसलाई न्युनीकरणका लागि सहयोग गर्ने उद्धेश्यले मध्यपूर्वको भ्रमण गर्न लागेको उनले बताएका थिए ।

जापानी प्रधानमन्त्री आबेले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सवै पक्षलाई आग्रह गर्दै तनाव न्युनीकरणका लागि प्रयास गरिरहेको जानकारी दिएका थिए ।

उनले भनेका थिए, ‘त्यस क्षेत्रमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि मैले कुटनीतिक पहलमार्फत् केही योगदान दिन सक्छु भन्ने मैले विश्वास लिएको छु ।’

इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि आबेले भ्रमण रद्ध गर्ने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् ।

इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्र प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

इराकको राजधानी बग्दादस्थित विमानस्थलनजिकै गत शुक्रबार इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ ।

इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ भने अमेरिकाले पनि इरानले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । दुवै पक्षले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सिर्जना हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment