Comments Add Comment

दराज पल्टिएर बालकको मृत्यु, फर्निचर कम्पनीले दिनेभयो ५ अर्ब क्षतिपूर्ति

घरमा रहेको दराजले किचेर कसैको मृत्यु हुँदा दराज बनाउने कम्पनीले मृतकका परिवारलाई अर्बौँ रुपैयाँ क्षतिपूर्ति दिन्छ भन्ने कुरा हाम्रो देशमा कल्पना सिवाय केही हुँदैन ।

तर अमेरिकामा चाहिँ यो यथार्थमा परिणत भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा दराज पल्टिँदा किचिएर मृत्यु भएका एक बालकका परिवारले ५ अर्ब २३ करोड रुपैयाँ भन्दा धेरै रकम बराबरको क्षतिपूर्ति पाएका छन्, उक्त दराज बनाउने कम्पनीबाट ।

जोसेफ डडेक नामका बालकको सन् २०१७ मा दराजले किचिएर मृत्यु भएको थियो । घरमा रहेको दराज ती बालकमाथि पल्टिँदा उनको मृत्यु भएको थियो ।

बालकलाई किच्ने उक्त दराज विश्व प्रसिद्ध फर्निचर निर्माता आइकिया कम्पनीले बनाएको दराज हो । सायद कम्पनीले आफ्नो प्रतिष्ठालाई गिराउन चाहेन । उसले आफ्नो उत्पादनका कारण मृत्यु भएका बालकका परिवारलाई ४ करोड ६० लाख डलर क्षतिपूर्ति तिर्न राजी भयो ।

अमेरिकाको इतिहासमा यस्तो खाले मृत्युमा कुनै पनि कम्पनीले तिरेको यो अहिलेसम्मकै ठूलो क्षतिपूर्ति रकम भएको बताइएको छ ।

मृतक बच्चाका बुवा क्रेग डडेकका अनुसार ३० इन्च अग्लो उक्त दराजको डिजाइनमै गल्ती रहेको र सोही कारण अनायासै पल्टिएर आफ्नो बच्चाको ज्यान लिएको बताए । उनका अनुसार आइकिया कम्पनीका दराजहरु यसरी पल्टिँदा बालबालिकाहरु घाइते भएका घटना अन्यत्र पनि रहेका छन् ।

मृतकका परिवारलाई ४ करोड ६० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनेगरी मिलापत्र गरिएको आइकिया कम्पनीका प्रवक्ताले पुष्टि गरेका छन् । साथै आइकियाले दुर्घटनाप्रति माफी पनि मागेको छ । मरेको गएको मानिस पैसाले नफर्किने भएता पनि परिवार तथा यसमा संलग्न सबैका खातिर यो सम्झौता गरिएको आइकियाका प्रवक्ताको भनाइ छ ।

यसअघि सन् २०१६ मा पनि फर्निचरले किचिएर मृत्यु भएका ३ बालबालिकाका परिवारलाई आइकियाले ५ करोड डलर क्षतिपूर्ति दिएको थियो ।

तथ्यांक अनुसार आइकियाका दराजले किचिएर अमेरिकामा अहिलेसम्म ८ जना बालबालिकाको मृत्यु भैसकेको छ भने १ सय ४४ घाइते भएका छन् ।

डिजाइनमा समस्या भएका र दुर्घटनाको जोखिम भएका १ करोड ७३ लाख वटा फर्निचर सन् २०१६ यता आइकियाले अमेरिकी प्रयोगकर्ताबाट फिर्ता लिइसकेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment