Comments Add Comment

नियात्रा : हिउँको रोमाञ्चसँगै मृत्युवोध पनि !

अफिसबाट फर्केपछि दीपकजीले भन्नुभयो, ‘ल है कालिञ्चोक जाने कुरा छ । हिउँ पनि परेको छ रे अहिले !’

जाडो महिना र हिउँका कुराले मन चिसो हुनुपर्ने हो । तर, झन् तातो पो भएर आयो । पुलकित भयो मन त्यसै त्यसै । यो कुरा छोरीलाई सुनाउन हतारिएँ । ऊ झन् खुशीले तीन बित्ता उफ्रिइ । खुशी हुनका लागि धेरै ठूलो कुरा नचाहिने ।

हामी कालिञ्चोक जान निस्कियौं । दुईवटा स्कर्पियो जीपमा बसेर हिउँ हेर्ने उत्साह मनभरि बोकेर गुड्यौं । सधैं यात्रामा निस्किरहने साथीहरुमा उत्सुकता छैन । सबै चिनारु, बोलाकु । यताको बाटो हिँडिरहेकाले नयाँपन केही छैन । बनेपा धुलिखेलको बाटो हिँड्दाचाहिँ युधिर थापाको उपन्यासको याद आउँछ । नागबेली परेको बाटोमा प्रेमीसँग मोटरसाइकलमा लपक्क टाँसिएर बसेकी षोडसी जस्तै बन्छु म पनि । खै किन हो, यो बाटो र त्यो हरफले मलाई निकै समातेको छ । ५० टेक्दै गरेको मन र ५० काटेका दीपकीजीमा अल्लारे प्रेमजोडी कसरी भेटिँदो हो र ? तर, पनि एकपटक मोटरसाइकलमा यो बाटो दीपकजीसँग पिठ्युँमा लपक्कै टाँसिएर हिँड्ने रहर मरेको छैन ।

मेरो मन यो बाटो हिँड्दै गर्दा बैंशालु बनेको छ । बैँशालु मनमा हिउँको स्पर्श कस्तो होला, यसै कल्पिन्छु । आँखाहरु अगाडि मात्र कुदिरहन्छन् । सहयात्रीहरु रमाइला भए पनि म उहाँहरुका लागि कस्तो बनिरहेछु, मैले हेक्का लिन पनि सकेकी छैन ।

उहाँहरु गफ र खानपानमा कस्सिनु हुन्छ । मलाई खानाको औचित्य भोक मार्नुमा सीमित बनिदिन्छ । उहाँहरु मीठो खानपानका लागि यताउता फोन घुमाइरहनुहुन्छ, म प्रकृति हेरिरहन्छु । चिसोले कठाँग्रिएका बोट बिरुवा हेर्छु । बाटो बढाउनका लागि काटिएका रुखहरुको हिसाब लगाउँछु । असरल्लै परेका रुखहरु, डोजर लगाएर धुलाम्मे बनाएको बाटो हेर्छु । मन कतिखेर खिस्रिक्क पर्छ, कतिखेर आफ्नो देशको प्रकृति देखेर दंग पर्छ ।

 

खाना खाएपछि गाडी एकोहोरो उकालिएको छ । जंगलै जगंल घुम्ती नै घुम्ती पार गरेपछि केही थान घर देखिन्छन् । स्कुल आउँछ । यो स्कुलमा कहाँका विद्यार्थी आउँदा हुन् ।

एकैछिनपछि आउँछन् सा-साना टहराहरु । मुडे बजार यही रहेछ । यहाँको आलु काठमाडौं पुग्दोरहेछ । चिसो हावापानी भएकाले आलु मिठो भएको रे ।

बनेपायता सबै बाटो एकैपटक किन भत्काएको होला ? एक पटकमा जति बनाउन सकिन्छ, त्यति मात्र भत्काउने चेत किन नआएको होला ?

यस्तो धुलाम्मे बाटोमा साना नानीहरु लालीगुराँस बेच्न बसिरहेका थिए । किन्न खोज्दाखोज्दै पनि गाडी साईड लगाउन नसकेर यसै भयो । पहाडबाट झरेको पानीले बाटो बिगारेर खतम रहेछ ।

दोलखा भीमसेनतिर नलागी गाडी बायाँ लागेर उकालिन थाल्यो । जता हेरे पनि जंगलै जंगल छ । यहाँ आईपुग्दा लाग्यो, हाम्रो देशमा जंगल कति होला ? सरकारी जग्गा पनि औधी नै छ जस्तो लाग्यो ।

दिन ढल्कँदैछ । तल हेर्‍यो छाँगेभिर, माथि जंगल ।

बाटामा जाने-आउने साधन पातला छन् । र्फकने र बस्न जाने दुबैथरि समयमै जाँदा रहेछन् कि ? आधा बाटो काटेपछि गाडी रोकियो । यो अनकन्टार जंगलमा पनि बाटो बन्दै रहेछ । रोकिएर परपरसम्म हेर्ने कोशिस गर्‍यौं ।

सूर्यले विश्राम नलिँदै हामी कालिञ्चोकको बेँसीमा पुग्न लाग्यौं । बाहिर भित्तातिर सेतो हिउँ देखिन थाल्यो । म अनायास कराएँ, ऊ हिउँ । सगरमाथाकी छोरी हिउँ देख्नलाई भरखर मौका जुरेको छ । अनायास म कराएँ र लजाएँ पनि ।

अगाडि बढ्दै जाँदा बाटोभरि देखियो हिउँको बिस्कुन । सूर्यदेव थाकेर विश्राम लिन गए, हामी जाग्न आएका छौ ।

थाहा पाउँदैछु मर्न कति गाह्रो रहेछ । फेरेको श्वास फर्केर नआउँदाको अत्यास, छातीको ऐठन, मेरा बाबै ! वयान गरीसाध्य नहुने रहेछ

म अझै कराए र गाडीबाट झरे । मेरो बालापनप्रति कसले के सोच्यो, मलाई सोच्ने फुर्सद नै कहाँ छ र ? म झरें । मसंगै छोरी पनि झरी । मैले पहिलोपटक हिउँको स्पर्स गरेँ ।

चिसो हिउँले मनमा अर्कै किसिमको तरंग ल्याइदियो । परपरसम्म सेतो हिउँ असरल्ल परेको छ, म कहाँ-कहाँ पुगुँ । मन सबैतिर पुग्यो । आँखा नाँचे । गन्तव्य अझै आएको होइन ।

झम्के साँझमा होटलमा पुग्यौं । होटल हिउँको घेराबन्दीमा छ । बिजुली बत्ति छैन । होटल अगाडि धुनी छ । आगोको वरिपरि झुम्मिएका छन् मान्छेहरु । अँध्यारोले अनुहार चिन्न मुस्किल छ ।

पारिवारिक यात्रा भएकाले आनीबानी सबैको सबैलाई थाहा छ । अब सुरु हुन्छ, मासुका टुकुरासँग सोमरस पान । गफका सिलसिला । हाँसोका फोहरा ।

म भने शुद्ध ब्राह्मणीजस्ती सोमरसको गिलासै नछुने । आज त्यो बन्देज मैले खुकुलो पारिदिएँ । चिसोको एलर्जी भएको मान्छेलाई हिउँसँग रात जो बिताऊनु छ । मैले नखाएका कारण साथीहरुले नखाने होइन । तर, अब साथीहरु फुकुवा हुनुभएको छ, केही बाँकी दकसबाट पनि ।

जुनको उज्यालोमा टलक्क टल्किएको छ हिउँ । वरिपरि हिउँ छ, बीचमा बलेको आगो बत्तिजस्तै लाग्छ । यसको तातो ‘पिसाबको न्यानो’ जस्तै । यता फर्कियो, उता चिसो । उता फर्कियो, यता चिसो  ।

रेष्टरुम जानुपर्ने, हातगोडा धुनुपर्ने, पानी छुँदा हात झर्लाजस्तो । हिउँभन्दा पानी चिसो हुँदोरहेछ कि ?

खाना खायौं र सुत्ने तरखरमा लाग्यौं । बिस्तरा यति चिसो कि पानीमै पसेजस्तो । सधैं साथमा ओढ्ने बाक्लो लुगा लिएर हिँड्ने गर्थें । लुगाको झोला देखेर दीपकजीको गनगन सुन्दा-सुन्दा आज हल्का भएर हिँडेको, फेला परियो ।

आफूलाई श्वास फेर्न गाह्रो भैरहेको छ । छोरी ‘मामु चिसो भयो’ भन्छे । श्वास फेर्दा फर्केर आउने हो कि होइन, शंका छ । कसरी निद्रा आउनु ? दीपकजी केही बोल्नु भएको छैन । खाटबाट झरेर उहाँलाई छाम्न सक्दिनँ । यता-उता फर्किंदा पनि हुरुक्क भएर परान जाला जस्तो । हिउँ परेको बेला हिँउकै वरिपरि रात बिताउने योजना यतिबेला धेरै नै गलत लाग्यो । आफू मात्र बचेर पनि भएन, तिनैजना बाँच्नु छ अझै ।

छोरी ‘चिसो भयो मामु’ भन्दै घुस्री रहेकी छ । म आफै चिसिएकी छु, उसलाई कसरी तताउन सक्थें र ? बाबुआमाका साथमा भएर पनि खै, छोरीलाई तातो बनाउन सकेको ?

सबैले एकपटक मर्न पर्छ । म त बूढो नहुने, छिटै मर्ने हो भनिरहन्थें । आज थाहा पाउँदैछु मर्न कति गाह्रो रहेछ । फेरेको श्वास फर्केर नआउँदाको अत्यास, छातीको ऐठन, मेरा बाबै ! वयान गरीसाध्य नहुने रहेछ ।

चिसो र श्वास-प्रश्वाससँग पौंठेजोरी खेल्दाखेल्दै बिहानीपख मान्छेको कल्याङमल्याङ शुरु भयो । बाहिर निश्किएँ । जीवित रहेको आभाष सँगसँगै साथीहरुको खैखबर पनि बुझ्नु छ । सबैको हालत उस्तै भएछ ।

ढोका खुल्लै राखेर सुत्दा कसैका कोठामा कुकुर पसेछन् कसैकोमा अरु केही । हाँसो भयो । हाँसोले रातको चिसो केही बिर्सायो ।

चिया खाएर उकालिने कुरा छ । उकालो चढ्न गाह्रो छ । यसैले म अघि लागेँ । धुलाम्य बाटो छ । हिउँ पर्दामात्र ब्यापार हुन ठाउँ रहेछ । घर र पसलका सामान पनि पाहुनाजस्ता लाग्थे । मान्छेको लर्कन छ । पन्ध्रजनाको त हाम्रै जत्था छ । अलिकति सम्म हिँडेपछि शुरु हुन्छ उकालो र भिरालो । परपर हिउँ छ । बन्दै गरेका ढुंगाका सिँढी छन् । उक्लने सिँढी सिमेन्टको जस्तै लाग्छ । गहिरिएर हेर्दा त हिउँ जमेको पो रहेछ । धुपीका बुटाहरु हिउँले खाएर खिस्रिक्क परेका छन् । बाटो छेउतिर मान्छेले साना-साना ढुंगाका चाङ बनाएका छन् ।

 

यात्रीहरु सोच्दा हुन्, घर यही हुँदो हो त मकहाँ थाक्थेँ र ? मान्छेहरुले हामीलाई उछिनिरहेका छन् । उछिनुन्, तिनलाई जित्नैपर्छ भन्ने के छ र ? दिन हाम्रै हो । घर आफ्नै हो ।

कालिञ्चोकको एउटा हिमालमा चढ्दैछु म खिइएका घुँडा र आज्माले माया गर्दै गरेको विशाल छाती लिएर । यति नै काफी छ मलाई । आफ्नै शरीरलाई जित्नु नै मेरो विजय हो ।

फनफनी घुमेको बाटो छ । टाउकामाथि देखिएको छ मन्दिरको तोरण । पछाडि दाँया-वाँया सेतो हिउँ छ । तल खुरीखन्डे भिर छ । प्रकृतिले पनि किन विभेद गरेको होला ? एउटै ठाउँमा पनि कतै सेतो बिस्कुन छ, कतै रित्तै ? सबै ठाँऊमा नभएर नै त यसको महत्व छ । आफूसँग आफैं प्रश्न गर्छु र उत्तर खोज्छु ।

बिहानको चिसो घाम हिउँलाई सिँगार्न मात्र आएजस्तो छ । हिउँ निख्खर मोतीजसरी टल्किएको छ । यता आफ्नो नाक काठिएर झर्ला जस्तो भएको छ । काठमाडौंमा धुलो छेक्न लगाउने माक्स यहाँ चिसो छेक्न प्रयोग गरेकी छु ।

जति उक्लँदै गयो, उति अक्सिजन घट्दै जान्छ । स्वाँ स्वाँ र फ्वाँ फ्वाँको पनि आफ्नै गति छ ।

फर्कनेहरु भेटिन थाले । उनीहरु माक्स नलगाउन सुझाउँछन् । चिसो ठिहीले नाक झर्लाजस्तो छ । कसरी खोलुँ माक्स ? माथि हेर्छु, जति उचाई बढ्दै जान्छ, मन्दिरका तोरणहरु उति पर हुँदै गएझंै देख्छु । रोमाञ्चक यात्रा कठिन हुँदैछ । सबैथोक खानु, हरेश चै नखानु भन्ने कुरालाई आत्मासाथ गरेकी छु । यसैले अत्तिन्न कहिल्यै पनि । यहाँसम्म त चटक्क परेका थिए सिँढीहरु । यहाँबाट माथि उक्लने सिँढी मिलेका थिएनन् । सिँढीहरु उकालो लिस्नो जस्तो बन्दै थिए ।

गन्तव्य नजिकै देखिएकाले मन उत्साहित भयो । साथीहरु को कता पुगे, मान्छेको भिडमा थाहा भएन । हामी तीन जना सँगै थियौं । अन्ततः ३,८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक चुचुरामा पाइला टेक्न सफल भइयो ।

बिहानको घाम झलमल थियो । तर, तातो हुनुको धर्म त्यसले निर्वाह गर्न सकेको थिएन ।

कालिञ्चोक भगवतीलाई किन र कसले यती माथि ल्यायो होला ? मान्छेले अनेक गरेर फस्ल्याङ फुस्लुङ बनाउँदै नचाहिने माग राखेका कारणले भागेकी पो हुन् कि ? देव देवी जहाँ पुगे पनि मानिसहरु पछ्याउँदै आइरहेछन् त ।

‘ल पूजा गर ।’

दीपकजीको आवाजले मेरो तरङ्ग टुट्छ । झल्यास्स हुन्छु ।

तोरणै तोरणले मन्दिरको स्वरुप देखिएको छैन । पुजारीले लामो डाडुले भित्रबाट जल निकालेर दिए । संगै जानुभएका मणि सर र राधा म्यामले पूजा सामाग्री मात्र होइन, पाठ गर्ने पुस्तकसमेत लग्नुभएको रहेछ । सम्झना र हामीले चाँहि त्यहीँ तल पूजा सामाग्री किनेका थियौं । तर पूजा कहाँ गर्ने ? अलमलजस्तो भयो ।

तल छङगाछुर भिर छ । पाखाभरि सेतो हिउँ छ । हाय ! मेरो देशमा एकदिनको बाटोभित्र कत्रो विविधता छ । मन प्रफुल्लित हुन्छ । सानो थुम्कोमा काठले टेको दिएर अलि फराकिलो बनाएको रहेछ । उत्तरपूर्वमा सगरमाथा देखिन्छ, नजिकै जस्तो ।

भगवतीको मन्दिर आएको दिन, भ्याल्यान्टाइन्स डे परेछ । सुन्दर प्रकृति एकैछिनमा प्रेमिल बन्यो । आ-आफ्ना जीवनसाथीमा फूलका थुँगा आदान-प्रदान भयो । म दायाँ-वायाँ हेर्न थालेँ । काठको टेको दिएर फराकिलो बनाएको मन्दिर परिसर पर्तिर हिमालहरु साउती मार्न खोजेझै लाग्छ, म भए ठाउँ कहिले आउछेस् भनेझै गरेर । म आफ्नो शारीरिक अवस्थाको बेलिबिस्तार लगाउँछु । जाने-जाने भनेको तीन-चार वर्षमा बल्ल गोसाइँकुण्ड पुगियो । ४२०० मिटरको उचाइमा रहेको गोसाईकुण्ड पुगेपछि बल्ल कालिञ्चोकको बाटो खुल्यो । तिम्रो पालो त कैले कैले भनिदिएँ ।

साथीहरु आउनुभयो जाने हैन भन्दै । फोटो खिच्यौं । घरतिर फोन गर्‍यौं र फर्कियौं ।

पहिला पनि आउने भनेर दिन तय गरेका थियौं । तर, कल्पना दिदीले यहाँको बारेमा यति डरलाग्दा कुरा गर्नु भयो कि उहाँलाई ल्याउनु भनेको यहीँ बिसर्जन गर्न ल्याउने हो भने जस्तै । मैले दिदी हजुर नजानु न त भनेपछि उहाँको लामो श्वासको स्पर्श मैले महसुस गरेथेँ । उहाँलाई ‘दिदी हामी कालिञ्चोक भगवती आइपुग्यौं । तर, हजुरले भनेको काठको साँघु, जसको फलेक हल्लेको थियो र पिडिक्क भएर मान्छे भिरमा खसेको थियो, त्यो साँघु मैले देखिनँ’ भनें । दिदी थक्थकाउनुभयो । साथीहरु कता-कता भइयो भनेको त उहाँहरु त्यही साँघुको बाटो जानुभएछ ।

फर्किंदा जाँदाजस्तो स्वाँस्वाँ र फ्वाँफ्वाँ छैन । ओरालोमा भद्दा ज्यानलाई भुत्रुङ भुत्रुङ खसाल्न गोडालाई कम्ता सास्ती छैन । गन्तव्य पुगेर फर्केको उन्माद पनि छ । तल घामको उज्यालोमा पग्लँदै गरेको टल्कँदो हिउँको बिस्कुन छ । त्यसले रातको त्रासदी खाइदिएको छ । त्यो हिउँमा लडीबुडी गर्ने हुटहुटी छ । तर, हाम्रा मान्छेले दिए त मरिजाँऊ ।

तल फेदीमा ठूलाठूला खाल्टा खनेका छन्, केबलकार बनाउने रे । अब हिँड्न नसक्नेहरुले पनि प्रकृतिको भरपुर मजा उठाउन पाउने भए भनेर रमाइलो लाग्यो ।

होटलमा झरेर खाना खायौं ।हिउँले जिस्काइरहेको छ । होटेलको भान्छा पछाडि पनि धुपीलाई संरक्षण गर्न बसेझै टम्मै हिउँ रहेछ । त्योसँग पनि एकैछिन जिस्कियौं ।

हिँड्ने बेला भयो भन्ने संकेत आएपछि कोठामा झोला लिन आएँ । हिजोको रात सम्झिएँ । अघिको हिउँको मजा सर्लक्कै उत्रियो । एसी र हिटर त परको कुरा, बत्तिको तातोसमेत नभएको ठाउँमा रात बिताउनुको मुख्र्याइँ सम्झिएँ । उफ्, मर्न पनि कहाँ सजिलो रहेछ र भन्ने ज्ञान दिने कोठालाई वाईवाई गर्दै निस्किएँ ।

हिउँहेर्न आएको मान्छे हिउँको रमाइलो उतारेर जानु पनि भएन । गाडीमा सामान मिलाउँदै गर्दा फेरि भान्छाघरको पछिल्तिर गएर हिउँलाई अन्तिमपटक स्पर्श गरें । स्पर्श के भनौं, हातले खेलाएँ । डल्ला बनाएर फालें । लडीबुडी खेलेँ !

मभित्र कस्तो मोह ? हिउँ र समुन्द्रसँग । प्रकृतिसँग । या भनौं, नयाँ नयाँ दृश्यसँग !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment