Comments Add Comment

युद्ध साहित्यको दस्तावेज : सरिताको अपहरण

पछिल्लो समय यात्रा साहित्यसँग सम्बन्धित पुस्तक प्रकाशन हुने क्रम तीब्र छ । लाखौँ मानिस देश-विदेशको यात्रामा गतिशील भइरहेका छन् ।

यात्राका पनि विभिन्न उद्देश्य हुन्छन् । कुन उद्देश्यले प्रेरित भएर यात्रा गरिएको हो, त्यसमा भर पर्ने भएकाले चाहे जति यात्रा निवन्ध लेखिएका छैनन् । यात्रा गर्नेजति सबै मानिसले आफ्ना अनुभव र अनुभूतिलाई लिपिवद्ध भने गर्दैनन् । सबैसँग लेखनसीप पनि हुँदैन । जे जति मानिसले आफ्ना अनुभूतिलाई पुस्तकमा उतार्ने काम गर्छन्, त्यसले यात्रा साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ ।

हालका दिनमा यात्रा निवन्ध लेख्ने महिलाको संख्या पनि विस्तारै बढ्दै गइरहेको छ । यो निकै खुसीको कुरा हो । घरको चौघेरोबाट समय निकालेर यात्रालाई खर्च गर्नु र ती यात्रानुभूति समेटेर पुस्तक प्रकाशन गर्नुजत्तिको धैर्यता प्राप्त गर्नु निकै उपलब्धिपूर्ण काम हो । यही उपलब्धिलाई हासिल गरेकी छन् सरिता अर्यालले ‘मेरो अपहरण’ कृतिमा ।

पेशाले पत्रकार सरिता अर्याल पत्रकारिताकै सिलसिलामा ०६० सालमा कणर्ाली अञ्चलमा अवस्थित विकट जिल्ल्ाा कालिकोट पुगेकी थिइन् । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला ०६० साल वैशाखमा केही समय युद्धविरामको अवस्था थियो । युद्धविरामका बेलामा सहज ढङ्गले घुमफिर गर्न बाधा नपुग्ने ठहर गर्दै उनी स्थानीय पत्रकार कुर्मराज शाही र करुणा थापासँग कालिकोटका विभिन्न गाउँहरुमा बसोबास गर्ने जनताको अवस्था बुझ्न गइन् । तर, उनी र उनका सहयात्रीहरुलाई सीआइडीको आरोपमा घेराबन्दीमा राखियो ।

उनीहरुलाई बन्धक बनाउनुअघि पनि विभिन्न व्यक्तिले रहस्यमय पाराले विभिन्न प्रश्नहरु गरे । कालिकोटको कोटबाडामा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने लेखकको लक्ष्यमा तुषारापात भएपछि उनले अपहरणकै बीच आफ्नो सम्पर्कमा आएका स्थानीय महिलाको दैनिकी अवलोकन गर्न थालिन् ।

महिलाको बोलाइ, लवाइ, खुवाइबाट पनि उनीहरुको अवस्थाको आँकलन गर्न सकिन्थ्यो । ग्रामीण भेगमा अन्धविश्वासले कतिसम्म जरा गाडेको रहेछ भन्ने कुरा पनि उनले थाहा पाइन् । द्वन्द्वको प्रभावले पूरा गाउँलाई पारेको असरबारे पनि उनी राम्ररी जानकार भइन् ।

आफैँ के खाउँ र के लाउँ को अवस्थामा माओवादीका जत्थालाई पकाएर खुवाउनैपर्ने भयले गाउँबाटै विस्थापित भएको अवस्थालगायत चन्दा आतंकका कारण त्यहाँका जनता भयभित बनेको अवस्थालाई कृतिमा सुन्दर ढंगले वर्णन गरिएको छ ।

राजधानीमा बसोबास गर्ने महिला र दूरदराजमा बस्ने महिलाको दैनिकी र जीवनयापनको पनि तुलना गर्नु र युद्धले के कस्तो क्षति पुर्‍याएको छ भनेर अवलोकन गरी पत्रिकामा रिपोर्टिङ गर्ने उनको उद्देश्य थियो । तर, माओवादी पार्टीका क्रियाशील सदस्यहरुले उनलाई र उनका सहयोगीलाई सीआइडीको ट्याग लगाइदिए र मानसिक यातना दिए

कालिकोटको कोटबाडा भन्ने ठाउँलाई लक्ष्य बनाएर हिँडेको टोलीलाई माओवादीको आधार इलाका मेहलमुडीको तिनुवा भन्ने ठाउँमा बन्दी बनाइएको थियो । कणर्ाली प्रवेश गर्नेबेला कालिकोटको सदरमुकाममा रहेका डीएसपी र सिडियोसँग सल्लाह गरेर माओवादी आधार क्षेत्रमा प्रवेश गरेको निहुँमा उनीहरुलाई शंकाको घेरामा राखिएको थियो ।

जुन उत्साह र आत्मविश्वास लिएर उनीहरु गएका थिए, त्यसमा हस्तक्षेप हुँदा उनीहरुको योजना चौपट भयो । अनेकखालका मानिसहरुसँग मन नलागी नलागी पनि कुरा गर्नुपर्ने अवस्थाले कायल बने ।

पत्रकारको टोलीले भोगेको यस घटनालाई मात्र आधार बनाएर अध्ययन गर्दा पनि तत्कालीन द्वन्द्वको अवस्थामा नेपालको पश्चिमी भाग कति आक्रान्त थियो भन्ने कुरालाई यस पुस्तकले इमानदारितापूर्वक बोलेको छ ।

लेखकको टोलीलाई घेराबन्दीमा पारेर दिनभर कोठामा थुन्ने र रात परेपछि हिँडाउने काम गरेर शारीरिकरुपमा पीडा दिने काम भयो । विभिन्न चरणमा मौखिक वार्ताहरु गरेर उनीहरुलाई मानसिकरुपमा पनि थकित बनाइयो । उनीहरुको आधार इलाकामा प्रवेश गर्नु नै गल्ती ठहराइयो । अनेक खालका विघ्नबाधा तेर्साएर गन्तव्यमा पुग्नबाट वञ्चित गराइयो ।

तत्कालीन अवस्थामा द्वन्द्वको मार खेप्न नसकेर कयौँ युवाहरु परदेशिएको कुरा पनि पुस्तकमा जीवन्त तबरले लिपिबद्ध गरिएको छ ।

आफू जुन उद्देश्यले निश्चित गन्तव्यको खोजीमा हिँडिएको हो, त्यसमा सफलता हासिल नगरी अपहरणमा पर्नुपर्दाको पीडालाई लेखकले अत्यन्तै मार्मिक ढंगमा प्रस्तुत गरेकी छन् ।

युद्धविरामको अवस्थामा घुम्न जान पक्कै पनि सहज होला भन्ने अनुमानमा उनले आफ्नो यात्रा थालेकी थिइन् । तर, यसरी अपहरणमा परेर जन्म र मृत्युको दोधारमा परिएला कि भन्ने उनले अनुमानसम्म गरेकी थिइनन् । राजधानीमा बसोबास गर्ने महिला र दूरदराजमा बस्ने महिलाको दैनिकी र जीवनयापनको पनि तुलना गर्नु र युद्धले के कस्तो क्षति पुर्‍याएको छ भनेर अवलोकन गरी पत्रिकामा रिपोर्टिङ गर्ने उनको उद्देश्य थियो । तर, माओवादी पार्टीका क्रियाशील सदस्यहरुले उनलाई र उनका सहयोगीलाई सीआइडीको ट्याग लगाइदिए र मानसिक यातना दिए । र, लक्ष्यमा भाँजो हालिदिए ।

अन्ततः बन्दी अवस्थालाई नै प्रतिकार गर्दै भागेर सदरमुकाम र्फकनु पर्दाका कष्टमय क्षणहरुलाई लेखकले अत्यन्तै साहसिक ढंगबाट प्रस्तुत गरेकी छन् । एक-दुई मिनेटको अन्तरले मात्र उनी र उनको टोली सुरक्षित बन्न पुगेको थियो । नत्र के हुन्थ्यो, भन्न नसकिने अनिश्चितताको भयले पाठकलाई पनि भयभीत बनाउँछ ।

काठमाडौँ फर्केपछि पनि लेखकलाई चैन हुँदैन र उनी विदेश पुग्छिन् । विदेश पुगेर बल्ल शान्तिको सास फेर्छिन् । र, लगभग छ/सात वर्ष उतै हराउँछिन् । युद्धको पीडा बिर्सिन पनि उनले विदेशको सहारा लिएकी हुन् कि भन्ने लाग्छ ।

पार्टीविशेषको झन्डा नबोकी एउटा स्वतन्त्र पत्रकार भएर पनि आफ्नो देश घुम्न नपाउँदाको पीडालाई कृतिले छर्लङ्ग पारेको छ । आफ्नो उद्देश्य विशुद्ध हुँदाहुँदै पनि लेखकले पाउनु परेको पीडालाई कृतिमा कुशलतापूर्वक अभिव्यक्त गरिएको छ ।

समय परिस्थिति प्रतिकूल हुनाका कारण भ्रमणमा निस्कदाँ लेखक अपहरणमा परेको ठहर पाठकलाई लाग्दछ । २०६० सालको घटनालाई बल्ल सोह्र वर्षपछि प्रकाशनमा ल्याउन अलिकति विल्ाम्ब भयो कि भन्ने कुरा पाठकलाई लाग्न सक्छ, अनेक जिम्मेवारीका पहाड उक्लँदाउक्लदै पुस्तक प्रकाशनको कार्य ओझेलमा परेको कुरालाई महसुस गर्न सकिन्छ । यति लामो समयको अन्तरालपछि पुस्तक आए पनि सम्पूर्ण घटनाक्रमहरुलाई जीवन्त ढंगले पस्कन सकेकोमा लेखक बधाईको पात्र बनेकी छन् र आगामी दिनमा पनि यस्तै कृतिहरु नेपाली साहित्यमा ल्याउनेछिन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment