Comments Add Comment

मनमोहक चित्राम, तर पुग्नै कठिन

२७ पुस चितवन । चितवनको पर्यटन भन्नेवित्तिकै झट्ट दिमागमा आउँछ, जंगल सफारी । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनका अन्य पर्यटकीय क्षेत्रबारे भने खासै चर्चा भएको पाइँदैन । तर, चितवनको विविधताभित्र लालीगुराँस फूल्ने डाँडापाखादेखि लामा लामा झरनाहरु अटाउँछन् ।

यस्तै चर्चामा नपरेको तर, मनमोहक क्षेत्रमा पर्दछ, कालिका नगरपालिका–११ स्थित चेउराङको चित्राम । चित्रामको मुख्य आकर्षण यहाँको झरना हो । यसलाई स्थानीय चेपाङ भाषामा सिमे भन्ने गरिन्छ । उनीहरुले झरनालाई भगवानको रुपमा पूजा गर्छन् ।

बाह्रै महिना पानी बग्ने यस झरनामा पहिलोपटक पाइला टेक्नेहरू लोभिन्छन् । झण्डै २५० मिटरभन्दा अग्लो डाँडाबाट झरिरहेको झरना निकै मनमोहक छ । झरनाको फेदीमा इन्द्रेणी बन्छ । बादलसँग लुकामारी गर्ने घाम । उकालो र ओरालो बाटो हिँड्दा थाकेर पुगेका पर्यटकलाई यसले सारा कष्ट भुलाइदिन्छ ।

कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरीले चित्राम आश्चर्यजनक झरना भएको बताए । नेपालमा नै कतै पनि नठोक्किएर सीधै खस्ने लामो झरनाका रुपमा चित्रामले रेकर्ड कायम गर्न सक्ने दावी अध्यक्ष पुरीले गरे ।

भरतपुर वा टाँडीबाट शक्तिखोर, सिद्धिको तीनदोभान हुँदै ज्याम्लिङसम्म मोटरबाटो निर्माण गरिएको छ । कच्ची सडक भएकाले गाडी चलाउन निकै समस्या छ । ज्याम्लिङसम्म मोटरसाइकलमा जान सकिन्छ । ठूला ढुंगा र एकै खोलालाई पटकपटक तर्नुपर्ने बाध्यता कारण बर्खाको बेलामा मोटरसाइलमा जान सकिँदैन । ज्याम्लिङबाट झण्डै तीन घण्टा पैदल हिँडेपछि झरना पुगिन्छ । झरनाको फेदीमा कलेटी परेका ढुंगामा चिप्लिएर लड्ने खतरा पनि उत्तिकै छ ।

झरना नजिकै पुग्दा निकै अप्ठ्यारो बाटो छ । झरना पुग्ने ठाउँ नजिकै खोल्सो भएकाले वारपार गर्न पनि समस्या छ । एकपटक पुगेर फर्किएका पर्यटक फेरि यहाँ दोह्रोरिएर आउन हत्तपत्त मान्दैनन् । झरना नजिकै रहेको भीरले सातो काड्छ ।

झरना आसपास खुला ठाउँ छ । प्रचार प्रसारको कमीले झरना ओझेल छ । यो ठाउँमा सबैभन्दा बढी चेपाङ समुदाय, त्यसपछि तामाङ र गुरुङ समुदायको बसोबास छ । आसपास ठूलो जंगल भएकाले बहुमूल्य जडिबुटी र घोरल पाइने स्थानीय बताउँछन् ।

स्थानीय भन्छन्– पूर्वाधार विकास र प्रचार प्रसार भएन

सरकारी निकायबाट झरनाको विकास र प्रचारप्रसारमा कुनै किसिमको सहयोग नभएकोमा स्थानीयले गुनासो गरे । पर्यटनको क्षेत्रमा काम गर्नेहरूले खासै चासो दिएका छैनन् । स्थानीय अखिल चेपाङ झरनासम्म पुग्ने गोरेटो बाटो बनाउन सकिए पर्यटक बढ्ने र त्यसको लाभ स्थानीय चेपाङ समुदायले लिने बताउँछन् । उनले नगरपालिकाले झरनालाई पर्यटकीय केन्द्र बनाउन लाग्नुपर्ने बताए ।

कालिका नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कृष्णबहादुर (दामाराम) प्रजाले झरनामा पूर्वाधार विकास गर्न सके सौराहा, मेघौली, पटिहानीलगायतका क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटक चेपाङ जातिको मौलिक संस्कृति र झरना हेर्न चित्राम पनि आउने बताउँछन् ।

चित्राम क्यामिनचूली सामुदायिक वनका अध्यक्ष केशव चेपाङले सामुदायिक बनको बजेट नै कम भएकाले सोचेजस्तो काम गर्न नसकिएको बताए । प्रदेश नं. ३ सरकारले चालु आर्थिक वर्षको बजेटमा ५० लाख रकम पूर्वाधार निर्माणका लागि भनेर छुटएको छ । तर, सो रकम कहाँ कसरी खर्च गर्ने भन्ने स्पष्ट योजना नहुँदा अलपत्र पर्ने जोखिम उत्तिकै छ ।

चित्रामसम्म पुग्न केही मिनेटको पैदल दूरी राखेर बाँकी भागमा सडक सञ्जालले जोड्नुपर्ने आवाज स्थानीयले उठाएका छन् । कालिका नगरपालिकाका मेयर गोपी श्रेष्ठले मझवाङबाट २४ लाख नगरपालिकाको रकम खर्चिएर सडक बनाउने काम थालिएको बताए । ‘झरना पुग्न करिब ४५ मिनेटको तेस्रो बाटो बाँकी राखेर बाँकी ठाउँमा सडक लैजान्छौं,’ मेयर श्रेष्ठले भने, ‘झरना पुगेर फर्किनेहरुका लागि मझवाङमा चेपाङ होमस्टे बन्छ, त्यसका लागि संघको दुई करोड र नगरपालिकाले डेढ करोड रकम छुट्टाएका छौं ।’

सीधा सडक सञ्जाल, पार्किङ स्टेशन, रात विताउने पर्यटकहरुका लागि होमस्टेको व्यवस्था गरेर सौराहा तथा अन्य क्षेत्रमा आउने पर्यटकलाई ल्याउन सके, चितवनको जंगल सफारीमा धानिएको पर्यटनमा थप टेवा पुग्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment