२८ पुस, काठमाडौं । दर्शन गुरुङको एक गोलको मद्दतमा न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो जीत हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले विभागीय टोली पुलिसलाई १-० ले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित सकिएको खेलमा एनआरटीले ७६ औं मिनेटमा अग्रता बनायो । राजेश परियारको लङ पासमा दर्शन गुरुङले पेनाल्टी एरिया भित्रबाट गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।
पुलिसले गोलका केही अवसर गुमाएको थियो । ४९ औं मिनेटमा पुलिसका अन्जन राईको हेडर एनआरटीका अरिक विष्टले गोल लाइनबाट बचाउँदा पुलिसले अग्रता लिन सकेन ।
ईन्जुरी टाईममा पुलिसका अन्जन राईको प्रहार क्रस बारमा लागेर फर्कँदा पुलिसले बराबरी गर्ने मौका गुमायो ।
यस सिजन लिगमा एनआरटीको यो तेस्रो जीत हो । जीतपछि एनआरटीले ६ खेलबाट ८ अंक जोडेको छ । गत वर्ष अन्तिम भएकाले एनआरटीले यसपटक २ अंक घटेको छ ।
उता लिगमा पुलिसको यो दोस्रो हार हो । पुलिसको पनि ६ खेलबाट ८ अंक नै छ ।
प्रतिक्रिया 4