Comments Add Comment

बालबालिकाको सिकाई : मोवाइल भर्सेस किताब

अहिले धेरैजसो बालबच्चा किताबमा भन्दा ल्यापटप, मोबाइल वा टिभीमा झुम्मिएका हुन्छन् । उनीहरुलाई लेख्न र पढ्न जाँगर चल्दैन । त्यसैले आमाबुवाहरु गुनासो गरिरहेका हुन्छन्, ‘कसरी बालबच्चालाई मोवाइलको लतबाट छुटाउने ? कसरी पुस्तक पढ्न प्रेरित गर्ने ?’

प्रविधिको जमनामा बालबच्चालाई त्यसबाट अलग गर्न सकिदैन । न यो संभव हुने कुरा हो, न वैज्ञानिक तरिका नै । बालबच्चालाई मोवाइल, ल्यापटप आदिमा अभ्यस्त गराउनुपर्छ । ति माध्यामबाट पनि उनीहरु ज्ञान आर्जन गरिरहेका हुन्छन्, जानकारी हासिल गरिरहेका हुन्छन् ।

तर त्यसमध्ये कति सही हुन्छन् वा गलत भन्ने यकिन हुँदैन । इन्टरनेटमा उपलब्ध सामाग्रीहरु आफैमा पूर्ण हुँदैन । ति सामाग्री उपयोगी छन् भन्ने पनि हुँदैन । यस्ता कुराहरुले बालबालिकाको मस्तिष्कमा अधकल्चो वा गलत जानकारी बस्ने खतरा हुन्छ । त्यसैले डिजिटल मिडिया सिकाइका लागि सहज र वृहत भएपनि त्यती भरपर्दो र विश्वसनिय माध्याम होइन ।

अभिभावकले सही ढंगले छनौट गरेका पुस्तकमा भने यस्तो समस्या हुँदैन । त्यसैगरी इन्टरनेटबाट सिक्ने विधी र पुस्तकबाट सिक्ने विधी पनि फरक छ । विभिन्न अध्ययनले के देखाएको छ भने, इन्टरनेटबाट छिटो-छरितो ढंगले कुनैपनि जानकारी प्राप्त हुने भएकाले त्यसमा बालबच्चाको मस्तिष्कको कसरत वा विकास हुने संभावना रहँदैन । जबकी पुस्तकका अक्षरहरु पढ्ने र लेख्ने अभ्यासले उनीहरुको मस्तिष्कको विकासमा राम्रो भूमिका खेल्छ ।

यस्तो पृष्टभूमीमा कसरी बच्चालाई पुस्तकमा ध्यान फर्काउने त ? बच्चालाई कसरी पढ्न बानी लगाउने ? यसका केहि काइदा छन् ।

सानैदेखि आफ्ना बच्चालाई पुस्तकका कथा पढेर सुनाउनुपर्छ । यसबाट स्वभाविक रुपमा बच्चाहरुको पुस्तकप्रति प्रेम बस्छ । यति मात्र होइन, यसरी कथा सुनाउने गर्दा र बच्चाहरुबीचको सम्वन्ध पनि अझै प्रगाढ र सुमधुर हुन्छ ।

प्रतिदिन करिब २० मिनेट आफ्ना बच्चाहरुसँग बसेर केही पढ्ने प्रयास गर्नुस । यसबाट उनीहरुमा पढ्ने बानीको विकास हुन्छ ।

बच्चाले छिटो छिटो किताब पढ्नु भन्ने मात्र हाम्रो लक्ष्य होइन । उनीहरुले जे पढेका छन्, त्यसलाई राम्ररी बुझुन्, मनन गरुन् र आफ्नो जीवनमा त्यसलाई उतार्ने प्रयास गरुन् ।

यस्ता प्रश्न सोधौं, जस्तैः अब के हुनुपर्छ ? यो पात्रले गरेको काम ठिक छ ? यदि तिमी यसको ठाउँमा भएको भए के गर्थेउ ? आदि । यस्ता प्रश्नबाट तपाईंको बच्चाको कल्पनाशक्ति पनि विकास हुन्छ ।

बच्चा सानैदेखि पढ्नमा शौखिन छ भने पनि घरमा कुनै रोलमोडलको अनुपस्थितिमा उ कुहिरोको काग बन्न सक्छ । आफु स्वयम् उसको रोलमोडल बन्ने प्रयास गर्नुपर्छ र उसको उपस्थितमा पढ्ने गरौं । हामी आफु पढ्नमा धेरै शौख नहुन सकिन्छ, तैपनि प्रयास गरौ । हामीले पढेको देखेर बच्चामा स्वतः पढ्ने उत्प्रेरणा जागृत हुनेछ ।

बच्चाहरु अक्षर पढ्न थाल्छन्, उनीहरुलाई फरक-फरक प्रकृतिका पुस्तकहरु पढ्न दिनुपर्छ । जस्तै अक्षरको ज्ञान दिने पुस्तक, बाल कथा, बाल कबिता, बाल पत्रिका आदि । यसबाट उनीरुको ज्ञानको दायरा फराकिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment