Comments Add Comment

भारतबाट चोरेर ल्याएको १ करोड रुपैयाँसहित ३ जना पक्राउ

२९ पुस, धनगढी । भारतबाट चोरी गरी ल्याएको १ करोड रुपैयाँसहित प्रहरीले कैलालीमा ३ जनालाई पक्राउ गरेको छ ।

भारतको दिल्लीबाट चोरी गरेको ल्याएको ६५ लाख भारतीय रुपैयाँ (एक करोड ४ लाख नेपाली रुपैयाँ) सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बाजुराको बुढीगंगा नगरपालिका १, डुङ्ग्रीका २९ वर्षीय जहर सिंह थापा सोही ठाउँकी २८ बर्षकी मनाकुमारी खड्का (थापा) र कैलालीको गौरिगंगा नगरपालिका २ कि ३२ वर्षकी बिन्दाकुमारी थापा (रावल) लाई रकमसहित पक्राउ गरेको हो ।

बाजुराका जहर सिंह थापा र मना कुमारी खड्का थापाले भारतबाट पैसा चोरी गरेको र कैलाली गौरिगंगाकी बिन्दा कुमारी थापा (रावल) चोरीको पैसा आफ्नो घरमा लुकाई राखेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ ।

चोरी गरेर लुकाएको रकम ।

भारतको दिल्ली निवासी विश्वेश्वर अग्रवालको कार्यालयबाट गरगहना र नगद चोरी भएको भारतीय राजदूतावासले जनाएपछि कैलाली प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।

प्रहरीले कैलालीको गौरिगंगा २ मा बिन्दाकुमारी थापा (रावल) को कच्ची घर कोठाभित्र सुत्ने खटियामुनि खाल्डो खनी टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरी लिपपोत गरी पुरेर लुकाइरहेको अवस्थामा ६५ लाख भारतीय रुपैयाँ सहित बरामद गरेको हो ।

अग्रवालले सुनका गरगहनासहित १ करोड ४ लाख भारतीय रुपैयाँ चोरी गरेको आरोप लगाएका छन् । प्रहरीले भने अहिलेसम्म ६५ लाख भारतीय रुपैयाँ मात्रै बरामद गरेको छ । ‘चोरी भएको गहना र अन्य रकम हामी खोज्दै छौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनीहरूले मङ्सिर ४ गते भारतबाट रकम चोरेर ल्याएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment