५ साउन, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा २४ वर्षीय युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–६ घर भएका २४ वर्षीय रवीन गौतमले पार्लेजी बिस्कुट उद्योगमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले रकम असुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।
रकम लिएपनि जागिर नदिएको भन्दै पीडितहरूले दिएको निवेदनका आधारमा उनलाई नियन्त्रणमा लिइएको उनले बताए ।
प्रहरीले अनुसन्धानका क्रममा गौतमले २०० जनाभन्दा बढी व्यक्तिलाई पार्लेजी बिस्कुट उद्योगमा जागिरको प्रलोभन देखाएर ठगी गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
आरोपित गौतमलाई मकवानपुर जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए ।
प्रतिक्रिया 4