Comments Add Comment

२८ माघबाट विस्ताराको नेपाल उडान तय

२९ पुस, काठमाडौं । भारतीय निजी वायुसेवा कम्पनी विस्ताराले ११ फेब्रुअरी (२८ माघ) बाट नेपाल उडान शुरु गर्ने भएको छ । कम्पनीले मंगलबार नेपाल उडानको तालिका सार्वजनिक गर्दै बुधबारदेखि दिल्ली–काठमाडौं रुटका लागि बुकिङ खुला गरेको छ ।

सिंगापुर एयरलाइन्स र टाटा समूहको संयुक्त लगानीमा स्थापना भएको कम्पनीका लागि काठमाडौं चौथो अन्तर्राष्ट्रिय गन्तब्य हो ।

विस्ताराले नेपाल भ्रमण वर्ष २०२० को मुखमै प्रारम्भ गर्न लागेको यस उडानले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने कम्पनीको विश्वास रहेको छ । विस्तारा भारतको फूलसर्भिस क्यारियर हो । कम्पनीका अनुसार दिल्ली–काठमाडौं रुटको दुइतर्फी भाडा १६ हजार नौ सय ९९ ( नौ हजार नौ सय ९९ भारु) राखिएको छ । विजनेस क्लासको भाडा भने दुईतर्फी ६१ हजार  नौ सय ९९ रुपैयाँ (३९ हजार नौ सय ९९ भारु) तोकिएको कम्पनीले सार्वजनिक गरेको छ ।

विस्ताराले गत साउन तेस्रो साताबाट पहिलो अन्तर्राष्ट्रिय उडान थालेको थियो । कम्पनीले दिल्ली–सिंगापुर रुटमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो । कम्पनीले भारतको दिल्ली र मुम्बईबाट सिंगापुर उडान गरिरहेको छ । कम्पनीको दोस्रो गन्तब्य दुबई र तेस्रो गन्तब्य थाइल्याण्डको बैंकक हो । चौथो गन्तब्य काठमाडौं बन्नेछ ।

काठमाडौंमा भारतबाट जेट एयरवेजले निकै नाफामा उडान गरिरहेको थियो । जेटको उडान बन्द भएपछि दिल्ली–काठमाडौं रुटमा नेपाल वायुसेवा निगमले राम्रो अक्कुपेन्सीमा उडान गरिरहेको छ । यस रुटमा निगमले साताको १७ उडान गर्छ ।

कम्पनीले सिधा उडानबाहेक कोड शेयरका माध्यमबाट पनि आफ्नो सेवा विस्तारको योजना बनाइरहेको छ । सिंगापुर एयरलाइन्स, सिल्क एयर, ब्रिटिस एयरवेज, जापान एयर र यूनाइटेड एयरलाइन्ससँग कोड शेयर गरी सेवा बिस्तारको योजनामा विस्तारा एयरलाइन्स रहेको छ ।

कम्पनीले मध्यम र लामो रुटमा उडान बिस्तार आक्रामक बनाएको हो । जुन २०१९ मा मात्र यस कम्पनीले दिल्ली र मुम्बईबाट ६० आन्तरिक उडान शुरु गरेको थियो । यो कम्पनीले एयरबस कम्पनीसँग ५० वटा विमान एकैपटक अर्डर गरेको छ ।

सन् २०१९–२०२३ को बीचमा यी जहाज आइसक्ने गरी योजना तय गरेको कम्पनीले नयाँ गन्तब्यमा यी जहाज प्रयोग गर्ने भएको छ । यसबाहेक कम्पनीले ६ वटा बोइङ ड्रीमलाइनर समेत खरीद गरिसकेको छ । अहिले २६ गन्तब्यमा साताको १२ सय उडान गरिरहेको छ । सन् २०१५ मा सेवा थालेको यो कम्पनी टाटा सन्स र सिंगापुर एयरलाइन्सबीचको ज्वाइन भेन्चरमा संचालित छ । कम्पनीले दिल्ली–काठमाडौ–दिल्लीमा दैनिक एक उडान गर्ने गरी तालीका सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment