+
+
Shares

नक्कली उपभोक्ता समिति गठन गरेर २५ लाख झ्वाम !

पूर्वसांसद बीपी यादवविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते २:३०

१ माघ, काठमाडौं । पूर्वसांसद वीपी यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सडक ग्राभेल गर्ने भनी फर्जी उपभोक्ता समिति गठन गरी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट ल्याई हिनामिना गरेको आरोपमा अख्तियारले उनीसहित सरकारी अधिकारी र केही राजनीतिकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालिन प्रमुख राजकुमार गोइत, नायब सुब्बा भागवत यादव, पूर्वसांसद यादव, राजपा केन्द्रीय सदस्य हरिनायण मण्डल वीरेन्द्रकुमार मडल, कृष्णकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सप्तरीको अग्निसाइर कृष्ण सरवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न कीर्ते उपभोक्ता समिति गठन गरी पूर्वाधार विकास कार्यालय सिरहासँग सम्झौता गरी २२५ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको भनाइ छ ।

उनीहरुले सप्तरीकै राजगढ गाउँपालिकाको मुतनीदेवी सिञ्चाई आयोजनाका लागि गठित उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको फोटोकपीमा विवरण सच्याई अग्निसाइर कृष्णसरवरण गाउँपालिकाको इटहर्वादेखि आधारभूत विद्यालय इटहर्वासम्मको सडक निर्माणका लागि उपभोक्ता समिति गठन गरेका थिए ।

त्यस्तै उपभोक्ता समितिलाई सडक ग्राभेलको काम दिन प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको नक्कली सिफारिस पत्रसमेत बनाएका अख्तियारले बताएको छ ।

एउटा प्रयोजनका लागि गठित उपभोक्ता समितिको कागजात सच्याई गलत उपभोक्ता समिति गठन गरेको र गलत कागजातको आधारमा योजना सम्झौता गरी सरकारी सम्पत्ति नोक्शान गरेको देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

यो कसूरमा अख्तियारले सरकारी कर्मचारीहरु पूर्वाधार कार्यालय प्रमुख गोइत र नायब सुब्बा यादवविरुद्ध २५ लाख रुपैयाँ बिगो कायम गरी १० देखि २५ लाख रुपैयाँसम्म जरिवाना र २ वर्ष ६ महिनादेखि ४ वर्षसम्म कैद मागदावी गरिएको छ ।

त्यस्तै पूर्वसांसद बीपी यादव, राजपा केन्द्रीय सदस्य हरि मण्डल, वीरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवको काम भने भ्रष्टाचारमा सहयोग गरेको देखिएकाले २५ लाख नै विगो काम गरी सरकारी कर्मचारीलाई भन्दा आधा सजाय गर्न माग गरिएको छ ।

हाल पूर्वसां‌सद यादव र राजपा केन्द्रीय सदस्य मण्डल कीर्ते गरेको अभियोगमा जिल्ला अदालत सप्तरीको आदेशमा थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?