Comments Add Comment

रामेछापमा भूकम्पीय सुरक्षा सम्बन्धी डेमो प्रदर्शन

२ माघ, रामेछाप । चारैतिर एकैसाथ कोलाह मच्चियो । घरहरु हल्लिन लागे । केही घर गर्ल्याम गुर्लुम ढले । घरका पर्खालहरु खसे । केही चर्किए मात्र । एकै छिनमा शान्त वातावरण कोलाहलमय बन्यो ।

घर हल्लिन र भत्किन लागेपछि कोही विस्तारै झोला बोकेर निहुरिँदै घरबाट निस्किए । उनीहरु सुरक्षित भए ।  कोही घरकै कुनामा हातले टाउको छोपेर गुडुल्की परेर बसे । टाउकोमा चोट लाग्नबाट उनीहरु जोगिए ।

कोही भत्कन लागेको घरबाट हामफालेर हातखुट्टा भाँचिदा भुईँमा पछारिए ।  कोही घर भत्कँदा घरभित्रै घाइते भए । कोही हतार हतार  दौडँदा लडेर घाइते भए ।

घटना भएको केहीबेरमै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको टोली आइपुग्यो । बिरामीहरुलाई घटनास्थलबाट बाहिर निकालेर व्याण्डेजहरु बाँधे । कोही भत्किएका संरचनाभित्र थप मानिसहरु छन् कि भनि खोज्न लागे । कोही भने बिरामीको उपचारमा लागे ।

बिरामीको उपचारमा लागेको टोलीले पहिला गम्भीर घाइते भएकालाई स्टेचरमा राखेर स्वास्थ्य शिविरमा पुर्याए । स्वास्थ्य शिविरमा गम्भीर घाइते र बिरामीलाई एक ठाउँमा र सामान्य चोटपटक लागेकालाई अर्को ठाउँमा राखियो । शिविरमा बिरामीहरुको उपचार सुरु भयो ।

त्यसै बीचमा साइरन बजाउँदै शिविरमा एम्बुलेन्स आइपुग्यो । गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर उपचारको लागि अस्पताल पठाइयो । सामान्य घाइतेलाई शिविरमा नै उपचार गरियो ।

यी यथार्थ लाग्ने घटनाका सबै दृश्य वास्तविक थिएनन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला विपत व्यवथापन समिति रामेछाप र मन्थली नगरपालिकाले भूकम्पीय जोखिम र सुरक्षाका बारेमा आयोजित डेमोस्ट्रेसनमा गरिएको अभ्यास थियो । स्थानीयलाई भुकम्प आउँदा र भूकम्पपछि कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा सचेत गराउन सो अभ्यासको आयोजना गरिएको थियो । सेना, सशस्त्र, जनपद प्रहरी तथा रेडक्रसकर्मी र स्वास्थ्यकर्मीहरुले डेमो गरेका थिए ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले भुकम्पको समयमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने कुरा नागरिकहरुले देखेर नै जानुन् भन्ने उद्देश्यले डेमो आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment