Comments Add Comment

माइतीको उजुरीपछि घाटबाटै उठायो प्रहरीले शव

२ माघ, विराटनगर । प्रहरीले विराटनगर– ८ सिंघिया घाटमा जलाउन लागेको अवस्थामा महिलाको शव नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका– ८ कि २८ वर्षकी प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरीपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । शवको घाटीमा चोट देखिएपछि प्रहरीले महिलाका श्रीमान गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रेमदेवीको मृत्युका खबर बिहान साढे ५ बजे उनका माइती पक्षलाई पुगेको थियो । बराहक्षेत्र नगरपालिका– ४ कालाबञ्जार घर भएका दाजु राजु साहले बिहानी निस्किए ।

घाट लैजाने तयारी गर्दै गर्दा बहिनीको घाँटीमा डाम देखिएपछि प्रहरीलाई खबर गरेको उनले बताए ।

उनका अनुसार प्रेमदेवीको परिवार हतार हतार केही छिमेकी र आफन्त शव लिएर विश्वकर्मा चोक पूर्व रहेको सिंघिया घाटतर्फ लागेका थिए । शव जलाउनका लागि उनीहरुले चिता पनि तयार पारे ।

शंकास्पद मृत्यु भएको सूचना आएपछि वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी नायव निरिक्षक मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरक्षक रामबहादुर ढकाल नेत्रृत्वमा टोली घटनास्थल पुगेको थियो ।

टोलीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठायो । मृतक महिलाको घाँटीमा डाम देखिएको र मृत्युबारे श्रीमानको जवाफ पनि शंकास्पद पाइएकाले मृतहका श्रीमान गोविन्द साहलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रंमुख एसपी विश्व अधिकारीले बताए ।

बहिनीको घाटीमा शंकास्पद चोट देखिएपछि सोधीखोजी गर्दा जवाफ नपाएपछि प्रहरीलाई खबर गरेको मृतकका दाजु राजु साहले बताए ।

घरमा बहिनीलाई हेला गर्ने गरेको बताउँदै उनले घाटीमा चोट देखिएकाले अनुसन्धान हुनुपर्ने बताए । ‘बहिनी बिरामी थिइन्, माइतबाट १५ दिन अघि मात्र घर आएकी हुन् ।’ उनले भने ‘आज एक्कासी मृत्युको खबर आयो ।’

मृतक महिलाको १२ वर्षअघि विराटनगर ८ बलुवाहीका गोविन्द साहसँग भएको थियो ।

प्रेमदेवीका श्रीमान गोबिन्द साहले घाटीमा देखिएको चोट पुरानो भएको बताएका छन् । करिब पाँच महिनाअघि आत्महत्या प्रयास गर्दा आफूले बचाएको बताउँदै उनले त्यतिबेला नै घाँटीमा चोट रहेको बताए ।
श्रीमतीको मानसिक अवस्था ठीक नभएको उनले बताए । बुधबार मध्यरातसम्म आफूले श्रीमतीसँग गफ गरेको बताउँदै उनले बिहान उठ्दा श्रीमती खाटमुनि मृत अवस्थामा भेटिएको बताए ।
‘राति अबेरसम्म गफ गरेर सुतेका थियौं’ उनले भने ‘बिहान भुईमा लडेको देखेपछि उठाएर स्वास्थ्यकर्मीलाई बोलाएँ तर उनले मृत्यु भइसक्यो भने ।’ उनी राठी पोलिमर्समा काम गर्छन् । मृतक साहका ८ र १० वर्षका दुई छोराहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment