Comments Add Comment

सिद्धबाबाको मुद्धाको पेशी स्थगित

२ माघ, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ । उच्च अदालत विराटनगरमा सिद्धबाबाको मुद्दाको सुनुवाई स्थगित भएको हो ।

उच्च अदालत विराटनगरले बिहीबार जिल्ला अदालतको आदेशविरुद्ध परेको निवेदनका लागि पेशी तोकेको थियो । कायम मुकायम मुख्यन्यायाधीश प्रेमराज कार्की र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा परेको पेशीको सुनुवाई स्थगित भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार जिल्लाको आदेशविरुद्ध परेको पुनरावेदन निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ ।

सिद्धबाबामाथि आफ्नै अनुयायीले कात्तिक पहिलो साता बलात्कार गरेको आरोप लगाउँदै  किटानी जाहेरी दिएपछि सिद्धबाबालाई मंसिर १६ गते प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई गत पुस १४ गते तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय थुनामा राख्न माग गर्दै उच्च अदालत पुगेको छ । भने सिद्धबाबा साधारण तारेख माग्दै उच्च अदालत पुगेका छन् ।

जिल्ला अदालतको आदेश बेरितको भन्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयले पीडितको पक्षबाट दर्ता गराएको निवेदनमा १८ पुसमा उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दाको कैफियत प्रविदेन झिकाउने आदेश दिएको थियो ।

सिद्धबाबाले पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका थिए ।

एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाईका लागि मुद्दा लगाउमा राख्न आदेश दिएको थियो ।

बिहीबार अदालतमा पेसी तोकिएपछि महिलाको पक्षमा उच्च अदालत अगाडि मौन प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment