Comments Add Comment

छोरी बिमाको रकम २० लाख पुर्‍याउँछु : मुख्यमन्त्री राउत

२ माघ, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी बिमाको रकम २० लाख रुपैयाँ पाउने व्यवस्था मिलाउने बताएका छन् । प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्र्तगत एक लाखको छोरी बिमा रकमलाई २० लाख रुपैयाँसम्म पुर्‍याउने सोच आफ्नो रहेको उनले बताए ।

वीरगञ्जमा सप्ताहिक ‘छोरी शिक्षा बीमा शिविर’ को उद्घाटन गर्दै मुख्यमन्त्री राउतले छोरी शिक्षाको बिमा रकमलाई वृद्धि गर्न स्थानीय तहका प्रमुख तथा अन्य दातृ निकायसँग कुराकानी भइरहेको बताए ।

‘प्रदेश विकासका लागि छोरी शिक्षित हुन आवश्यक छ, २० वर्षपछि उच्च शिक्षाका लागि रकम आवश्यक भएको बेला छोरीले अरुको मुख ताक्नु नपरोस् भन्ने छ’ उनले भने ‘बिमाको रकम वृद्धि गर्न गृहकार्य सुरु गरेका छौं ।’

उनले सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने छोरीहरुलाई प्रति महिना पाँच सय रुपैयाँ प्रोत्साहन रकम दिने तयारीमा समेत प्रदेश सरकार रहेको बताए ।
कार्यक्रममा सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य जन्नत अन्सारीलगायतले देश विकासका लागि छोरी शिक्षित हुन अवश्यक रहेकोमा जोड दिए ।

वीरगञ्जको विर्तास्थित त्रिजुद्ध माविमा सञ्चालित शिविरमा बिहीबार ६५ जना बालिकाको बिमा गरिएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं १ देखि ७ र १६ नम्बर वडाबाट आएका सर्वसाधरणले शिविरमा छोरीको बिमा गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment