Comments Add Comment

छापामा आज : ‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता दिँदै स्थानीय सरकार

परिवारसहित विनय लामिछाने त्रिशूलीमा हेलिनुको कारण ऋण

४ माघ, काठमाडौं । पत्नी, दुई छोरासहित विनय लामिछाने त्रिशूलीमा हेलिएको दुःखद् घटनामा आजका दैनिक पत्रिकाहरू केन्द्रित छन् । त्यस्तै, एमसीसी अनुदानबारे अमेरिकाले दिएको प्रस्टीकरण, अन्नपूर्ण पदमार्गमा गएको हिमपहिरो, वन विनाशलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले कभरेज गरेका छन् । साथमा शनिवारीय सामग्री त छँदैछ ।

पत्नी र दुई छोरासहित थानकोटका विनय लामिछाने त्रिशूली नदीमा हेलिनुको कारण ऋण भएको नागरिकले लेखेको छ ।

सामूहिक आत्महत्या गर्न लामिछाने दम्पती धादिङ बेनिघाटबाट त्रिशूली नदीमा हेलिएका थिए । नदीमा हेलिएका विनयको स्थानीयले उद्धार गरेका छन् भने उनकी पत्नी २७ वर्षीया जमुना रेग्मीको मृत्यु भएको छ । २ वर्ष र ६ महिनाका छोरा बेपत्ता छन् ।

तनाव व्यवस्थापनमा चुक्दा परिवारसहित विनयले आत्महत्याको प्रयास गरेको कान्तिपुरले लेखेको छ । कान्तिपुरका अनुसार सेयर र कमोडिटी मार्केटमा भएको नोक्सानीका कारण उनले यस्तो कठोर निर्णय लिएका हुन् । विनयलाई भएभरका जायजेथा बिक्री गर्दा पनि तिर्न नसक्नेगरी ऋण लागेको थियो ।

कान्तिपुर लेख्छ– मकवानपुर, चित्लाङका विनयले धादिङको सिद्धलेक ७, बडघरेकी जमुना रेग्मीसँग ०७४ मा विवाह गरेका थिए । उनीहरूका दुई वर्षीय छोरा विजन र ६ महिनाका रिजन दिए । रिजनको शुक्रबारै पास्नीको साइत जुरेको थियो । तर परिवारमा सुतक परेकाले उनी पास्नी छोडेर श्रीमती र दुई छोरासहित घरबाट निस्किएका थिए ।

विनयले ‘ऋणमा डुबीसकेँ अब मर्छु’ भनेपछि श्रीमतीले ‘एक्लै होइन, परिवारै मरौं’ भन्ने प्रस्ताव गरेकी थिइन् । त्यसपछि उनीहरू दुवै छोरालाई लिएर धादिङतर्फ लागेको समाचारमा उल्लेख छ ।

कान्तिपुरले सामूहिक आत्महत्याका घटना बढ्नुको कारणबारे पनि सोधीखोजी गरेको छ ।

जनसत्ताका लिखतलाई धमाधम मान्यता

तत्कालीन द्वन्द्वकालमा माओवादी जनसत्ताले पास गरेका जग्गाका लिखतले मान्यता पाउन थालेको खबर नागरिकमा छापिएको छ । माओवादीले तत्कालीन अवस्थामा खडा गरेका जनसत्ताले पास गरेका लिखतलाई स्थानीय सरकारले मान्यता दिएका हुन् ।

रुकुममा जनसत्ताका लिखतको आधिकारिकताका विषयमा लामो समयसम्म विवाद चलेपछि स्थानीय सरकार नै ती लिखतलाई मान्यता दिलाउन लागिपरेका थिए । रुकुम, मुसिकोटका मेयर देवीलाल गौतमका अनुसार जनसत्ताकै लिखतकै आधारमा पास खगरिएका जग्गाले कानूनी मान्यता पाइरहेका छन् । अहिलेसम्म रुकुमकाम कुल जनसत्ता लिखतमध्ये ८० प्रतिशतले मान्यता पाइसकेको उनले बताए ।

त्यस्तै रुकुमको त्रिवेणी गाउँपालिकालगायतले पनि त्यस्ता लिखतलाई मान्यता दिन अभियान नै चलाएको नागरिक समाचारमा उल्लेख छ ।

अन्नपूर्णले वन विनाशमाथि मुख्य समाचार बनाएको छ । मधेस, पहाड, पूर्व–पश्चिम जताततै वन विनाशका घटना बढेको अन्नपूर्ण समाचारको सार छ ।

एमसीसीमा सैन्य मामिला जोडिएको छैन भनेर अमेरिकाले दिएको प्रस्टीकरणलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ भने राजधानीले सभामुखमा नेकपाका अध्यक्षद्वय सहमति नजिक पुगेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment