Comments Add Comment

मनाङ भर्सेस थ्रीस्टार : लिगमा रौनक फर्काएको खेल

४ माघ, काठमाडौं । लगातारको वर्षासँगै शुक्रबार ए डिभिजन लिगको खेल दशरथ रंगशालबाट एन्फा कम्प्लेक्समा सारियो । शनिबारको पहिलो खेल पनि एन्फा कम्प्लेक्समै भयो । तर दोस्रो खेल दशरथ रंगशालामा नै खेलाइयो ।

वर्षाको प्रभाव मैदानमा प्रष्टै देखिन्थ्यो । ठूला, उपाधि दाबेदार अनि दर्शक तान्ने दुई ठूला क्लब मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबको खेल भएकाले नै अयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि यो खेल रंगशालामै खेलायो ।

मैदानको ठाउँ-ठाउँमा पानी जमेको थियो, जसले खेलाडीलाई गाह्रो भएको प्रष्टै देखिन्थ्यो ।

तर पनि खेल रोमाञ्चक भयो । मनाङ र थ्रीस्टारले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

शनिबार मनाङ र थ्रीस्टार दुवैले एक-एक पटक अग्रता लिए पुनरागमन पनि गरे । गोल गरे, गल्ती पनि गरे । अनि गोल खाए । मनाङका लागि अन्जन विष्टले दुई गोल गरे भने थ्रीस्टारका लागि भारतीय खेलाडी लाल राम्मभराले दुई गोल गरे ।

दुवै टोलीका प्रशिक्षकले खेल र नतिजाबाट सन्तुष्ट जनाएपनि राम्रो गर्न सकिने ठाउँ भएको सुनाए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले यो खेलले लिगमा छुट्टै माहोल बनाउने बताए । ‘मनाङले थ्रीस्टारसँग कस्तो खेल्यो, अनि थ्रीस्टारले मनाङसँग कस्तो खेल्यो भन्ने विषयले महत्व राख्छ । जति अरु क्लबसँग खेल्दा हुँदैन’ केसीले भने, ‘मनाङले पनि मिहिनेत गरेर खेल्यो । यसले लिगमा रौनक थपिएको जस्तो लाग्छ ।’

मनाङविरुद्ध थ्रीस्टारले जसरी एक अंक लिन सफल भयो त्यसमा भने केसी खुशी नै देखिए । ‘तीन अंकमा एक अंक पायौं । पहिलो हाफमा चान्स गुमाएपनि दोस्रो हाफमा गोल गरेर एक अंक लियौं’ थ्रीस्टारका प्रशिक्षक केसीले भने, ‘आजको खेल हेर्दा लिगमा पनि क्वालिटी गेम हुन्छ भन्ने लागेको छ ।’

मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले पनि थ्रीस्टारविरुद्धको खेल समग्रमा राम्रो भएको बताए । ‘तर आफ्नै गल्तीले गोल भयो, अब त्यसमा सुधार्नु पर्छ’ प्रजापतिले भने ।

उपाधि होडबाट टाढा छैनौं

मनाङसँग खेल्नु अघिल्लो दिन मात्र थ्रीस्टारले लाल राम्मभरासहित ३ नयाँ खेलाडी अनुबन्ध गरेको थियो ।

त्यसको प्रभाव खेलमा देखियो पनि । भारतीय खेलाडीले त डेब्यूमै दुई गोल गर्दै प्रमाणित समेत गरे । यस्तै गत सिजन च्यासलबाट खेलेका डिफेण्डर निशान्त खड्का र मिडफिल्डर संजोग राईले मनाङविरुद्ध पहिलो रोजाईमै अवसर पाए ।

‘हाम्रो स्ट्राइकिङ लाइन अलि कमजोर जस्तो थियो । भारतीय खेलाडीको प्रदर्शनले गर्दा अब त्यो बलियो जस्तो देखिएको छ’ प्रशिक्षक केसीले भने । लाल राम्मभराले थ्री स्टारका लागि १९औं मिनेटमा पहिलो गोल गर्द अग्रता दिलाएका थिए भने २-१ ले पछि परेका बेला ८३औं मिनेटमा बराबरी गोल गरेका थिए ।

थ्रीस्टारका प्रशिक्षक केसी मनाङसँग दुई अंक गुमाउँदाभन्दा छैटौं चरणमा फ्रेन्ड्ससँग ती अंक गुमाउँदा पीडा भएको सुनाए । ‘आज २ अंक गुमाउदा भन्दा अस्तीको ३ अंक मिस भयो’ केसीले भने, ‘आजको खेलमा एक अंक पाउँदा पनि छैटौं र सातौं चरणमा फरक छैन । तीन अंक लिन सकेको भए हामी टप टिमसँगै हुन्थ्यौं । तर समग्रमा सबैलाई घाटा परेको हुँदा खासै फरक पारेको छैन ।’

प्रशिक्षक केसीले यसको अर्थ थ्रीस्टार उपाधि होडबाट टाढा भएको भन्ने नभएको प्रष्ट पारे । उनले अघि भने, ‘मेहनत गर्‍यौं र पाएको अवसर सदुपयोग गर्न सक्यौं भने हामी उपाधि होडबाट छुटेका छैनौं र छुट्न पनि चाहँदैनौं ।’

समयले धेरै कुरा सिकयो

उता यस सिजन तेस्रो खेल खेलिरहेका अन्जन विष्टले मनाङ मर्स्याङ्दीका लागि दुवै गोल गरे । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध खेल्न भुटान जानुअगाडि नाइट क्लब गएका कारण ४५ दिन निलम्बनमा परेका उनले मछिन्द्र क्लबविरुद्ध लिगमा पुनरागमन गरेका थिए । उनले मछिन्द्रसँगै हिमालयन शेर्पाविरुद्ध गोल गर्न सकेनन् । तर थ्रीस्टारविरुद्ध दुई गोल गर्न सफल भए ।

४९औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले ६९औं मिनेटमा दोस्रो गोल गरेका थिए । कप्तान कमल श्रेष्ठको फ्रिकिकमा अन्जनले पेनाल्टी एरियबाट हेडमार्फत गोल गरेका थिए । तर गोल भएको थाहा नपाउँदा शुरुमा सेलेब्रेसन गरेका थिएनन् । किनकी बलले पोष्टमा लागेर गोलमा परिणत भएको थियो । ‘साथीहरुले आएर गोल भयो भनेपछि मात्र सेलेब्रेसन गर्न थालेँ’ खेलपछि अन्जनले भनेका छन्, ‘सरप्राइज गोल जस्तो भयो ।’

निलम्बनबाट फर्किएर थ्रीस्टार जस्तो बलियो टिमविरुद्ध गोल गर्न पाउँदा अन्जन खुशी देखिन्थे ।

निलम्बनमा पर्दा फुटबललाई धेरै मिस गरेको उनले बताए । ‘फुटबल खेल्न भनेर हिँडेको मान्छे फुटबल नै नभए के हुन्छ मलाई थाहा छ’ अन्जनले भने, ‘फुटबललाई धेरै मिस गरेँ, तर समयले मलाई धेरै कुरा सिकाएको छ ।’

आर्मीलाई फाइदा

शनिबार साविकको विजेता मनाङ र थ्रीस्टारले बराबरी खेल्दा प्रत्यक्ष फाइदा भने नेपाल आर्मीलाई पुग्यो ।

लिगमा सातौं चरण चलिरहँदा मनाङ, आर्मी र मछिन्द्र क्लबको समान १३ अंक छ । तर मनाङ र मछिन्द्रले ७ खेल खेलिसक्दा आर्मीले ६ खेल खेलेको छ । आर्मीले अब च्यासल युथ क्लबसँग खेल्नेछ । शनिबारै नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई २-० ले पाराजित गर्दै ७ खेलबाट ११ अंक जोडेेको छ ।

अहिले लिगमा शीर्ष पाँचमा हरेको क्लबबीच दुई अंकको मात्र अन्तर छ । आर्मी, मछिन्द्र र मनाङको १३-१३ अंक छ भने थ्रीस्टार र पुलिसको समान ११ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment