Comments Add Comment

दोब्बर भयो मूल्यवृद्धि, सबैभन्दा धेरै काठमाडौंमा

५ माघ, काठमाडौं । उपभोक्ताहरुले खरिद गर्ने वस्तु तथा सेवाको मूल्य दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै मूल्यवृद्धि बढेको बताएको हो ।

राष्ट्र बैंकका अनुसार २०७६ मंसिरमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, फलफुल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर-खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणहरु उपसमूहको मूल्य बढेको छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकाको मूल्यवृद्धि सबैभन्दा धेरै देखिएको छ । काठमाडौं उपत्यकाको मूल्यस्फीति ७.६० प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

यसैगरी तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले बताएको छ ।

२०७५ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ३.६८ प्रतिशत, ३.६५ प्रतिशत, ३.८४ प्रतिशत र ४.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment