Comments Add Comment

परमेश्वरको नाम लिँदै बलात्कार गरेको आरोपमा पाष्टर पक्राउ

५ माघ, काठमाडौं । गहुँ गोरो वर्ण, दुब्लो शरीर । ५ फिट तीन इन्च उचाइका ध्रुवबाबु भनिने विश्वास जोशी ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली (चर्च) का पाष्टर हुन् ।

तर, एक सातादेखि प्रहरी हिरासतमा छन् । महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका उनीमाथि शिष्यलाई बलात्कार गरेको आरोप छ ।

ललितपुर प्रहरीको मुद्दा शाखाका डीएसपी सन्तोष तामाङका अनुसार अदालतबाट म्याद थपेर घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा छालासम्बन्धी रोग निको पारिदिने भन्दै पाष्टरले बलात्कार गरेको हुनसक्ने देखिएको उनी बताउँछन् ।

अरु पनि जोशीबाट पीडित भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाइएको उनले सुनाए ।

बाथ रोग निको पार्ने भन्दै बलात्कार…

वर्षौंदेखि पालिरहेको रोग निको हुन्छ भने जे गर्न पनि तयार हुने थिएँ – पीडित

पीडित २१ वर्षीया युवती शारीरिक रुपमा अशक्त छिन् । नख्खिपोटमा कस्मेटिक पसल खोलेर बसेकी उनी फुर्सदको समयमा कुसुन्तीको चर्चमा गएर प्रार्थना गर्थिन् ।

करिब १० वर्षअघि क्रिस्चियन धर्म मान्न थाल्दा उनलाई चर्चमा गएर प्रार्थना गरे बाथ रोग निको हुन्छ भनिएको थियो । यही विश्वासले उनी आफू मात्र होइन, परिवारका सदस्यहरुलाई पनि धर्म परिवर्तन गर्ने बनाइन् ।

तर रोग विसको उन्नाइस भएन ।

पछिल्लो समय पास्टर जोशी कहाँ पुगेपछि भने उनले रोगबारे अनौठो कारण सुनाए । ‘बच्चामा तिम्रो धेरैसँग शारीरिक सम्पर्क भएकोरहेछ, तिमीले गरेको पाप मेटाउनका लागि मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’, जोशीले उनलाई भनेका थिए, ‘प्राथनामा बस्दा मलाई परमेश्वरले यो कुरा भन्नु भएको हो ।’

पास्टरको कुरा उनलाई अनौठो लाग्यो । तर परमेश्वकै नाम लिएर रोग निको हुन्छ भनेपछि अलमलमा परिन् ।

पास्टरले सतप्रतिशत निको हुने आश्वसन दिएपछि उनी जोशीले भनेअनुसार गर्न तयार भइन् ।

जोशीले तीन महिनाअघि चापागाउँ मोडको एक गेष्ट हाउसमा बोलाए र शारीरिक सम्बन्ध राखे । पीडित युवतीले प्रहरीमा दिएको जाहेरीअनुसार होटलमा प्रवेश गर्दा उनलाई अफ्ठ्यारो लागेको थियो । तर पहिल्यै सहमति जनाएर आएकाले इन्कार गर्नसक्ने स्थिति थिएन ।

दिन, हप्ता हुँदै महिना वित्यो । रोगमा सुधार हुने संकेत देखिएन । बरु पाष्टरको गलत क्रियाकलाप बढ्दै गयो ।

फेरि जोशीले सम्बन्ध राख्ने प्रस्ताव राखे । उनले नमान्दा  परमेश्वरले दिएको शक्ति नास भएर जाने धम्की दिए ।

‘म प्रहरीलाई खबर पर्ने पक्षमै थिएँ’, पीडितले भनेकी छन्, ‘तर कसैलाई भने जे पनि गर्छु भनेपछि हच्किएँ । अरुले थाहा पाए इज्जत के होला भन्ने पनि डर थियो ।’

पाष्टर नख्खीपोटस्थित उनको पसलमै आए । सम्बन्ध राख्ने खोजे, उनले प्रतिकार गरिन् । पाष्टरले पहिले सम्बन्ध राखेको सबैलाई भनिदिने भन्दै धम्क्याए । र, पीडित युवती उनकै पसलमा जबरजस्ती करणीमा परिन् ।

त्यसपछि त जोशी पसलमा नियमित जसो आउन थाले । पटकपटकको धम्की र दोहोरिरहने नियतिबाट उनी छुटकरा पाउन चााहेकाले आँट गरेर प्रहरीलाई खबर गरेको उनले बताएकी छन् ।

इज्जत गुम्ने डर

उनको जाहेरीका आधारमा प्रहरीले जोशीलाई पक्राउ गरेर अहिले कानूनी प्रक्रिया अघि बढिरहेको छ ।

जोशीले पीडित महिलालाई लागेको होटलका सञ्चालकसँग पनि प्रहरीले बयान लिइसकेको छ । यसले अन्य युवतीलाई पनि रोग निको हुने प्रलोभनमा बलात्कार गरेको हुनसक्ने देखिएको छ ।

तर पीडित युवतीलाई अझै डर छ, घटनाबारे अरुले जानकारी पाएर बेइज्यत हुने हो कि ?

डरकै कारण अहिलेसम्म आफूमाथि भएको घटनाबारे अभिभावकलाई पनि भनेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment