Comments Add Comment

बस्तीको मुखमा बुटवल उपमहानगरको फोहोरको थुप्रो

महामारी फैलिने डर भयो : स्थानीयवासी

६ माघ, बुटवल । बुटवल उपमहानगरपालिकाले बस्तीको मुखैमा फोहोर फाल्दा दुर्गन्धले स्थानीयवासी बस्न नसक्ने अवस्थामा पुगेपछि आन्दोलित भएका छन् ।

बुटवल-११ स्थित हात्तीसुड र विनापाते क्षेत्रको बस्ती छेउमै उपमहानगरपालिकाले अस्थायी डम्पिङ साइट बनाएर फाहोर फाल्दै आएको छ ।

फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिँड्ने बाटोसमेत नरहेपछि स्थानीयले उपमहानगरको फोहोर ल्याउन रोकेका छन् ।

आक्रोशित स्थानीय बासिन्दाले हात्तीसुड टोल विकास संस्थाको कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन् ।

सुरुमा हरेक दिन जम्मा हुने फोहोरलाई ४ इन्च मिस्कट वा माटोले पुरेर दुर्गन्ध हुन नदिने, स्थानीयले माग गरे अनुसार नदी तटबन्ध, सडक, विद्युत, पानीलगायत विकासका पूर्वाधार दिने सहमति गरेर फोहोर फाल्न सुुरु गरे पनि उपमहानरगले सहमति पालना गरेको छैन ।

यहाँ मरेका जनावरदेखि कुहिने र नकुहिने सबैखाले फोहोर ल्याएर फालिन्छ । हात्तीसुड र बिनापाते क्षेत्रका चारसय बढी परिवारका करिब दुई हजार जनसंख्या फोहोरको दुर्गन्धबाट प्रभावित भएका छन् ।

फोहोरमाथि मिस्कट हालेर पुर्ने काम नहुँदा दुर्गन्ध, झिंगा, लामखुट्टे बढेर बालबालिका र बृद्धबृद्धाको स्वास्थ्य जोखिममा परेको र जुनसुकै बेला महामारी फैलिने डर भएको हात्तीसुड टोल विकास संस्थाका अध्यक्ष राजेश थापाले बताए ।

फोहोरले आफूहरु घरमा बस्न र खाना पकाएर खान सक्ने अवस्था नभएपछि आन्दोलनमा उत्रिनुपरेको थापाले बताए ।

फोहोरको उचित व्यवस्थापन गर्न उपमहानगरका जनप्रतिनिधि र कर्मचारीलाई जानकारी गराउँदा उल्टै दुव्र्यवहार भएको हात्तीसुँड टोलकी स्थानीय विनिता सुनारले बताइन् । ‘फोहोरको थुप्रो पहाड बन्यो, गन्हाएर बस्न/खान नसक्ने छ, महामारी फैलिने डर भयो,’ सुनारले भनिन्, ‘समस्या समाधा गरिदिन पर्‍यो भन्दा जनप्रतिनिधि र कर्मचारीले उल्टै हप्काउँछन्, धम्काउँछन् ।’

स्थानीयले उपमहानगरलाई फोहोर ल्याएर फाल्न रोकेपछि दुई दिनदेखि बुटवलको फोहोर उठ्न पाएको छैन ।

स्थानीय आन्दोलित भएर फाहोर फाल्न नदिएपछि उपमहानगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेलसहितको टोली पुगेर टोलवासीसंग छलफल गरेको छ । तर स्थानीयले सहमति अनुसार फोहोरको उचित र वैज्ञानिक व्यवस्थापन नगरेसम्म फाल्न नदिने अडान दोहोर्‍याएका छन् ।

बुटवलमा दैनिक करिब ५५ टन फोहोर उत्पादन हुने गरेको छ । फोहोर मैलाको व्यवस्थापनका लागि एशियाली विकास बैंकको अनुदानमा बुटवलमा सञ्चालन गर्न खोजिएको २५ करोड ६२ लाख रुपैयांको एकीकृत फोहरमैला प्रशोधन केन्द्र परियोजना उपमहानगरपालिकाले ठाउँको व्यवस्थापन र स्थानीयलाई सहमतिमा ल्याउन नसक्दा फिर्ता भइसकेको छ ।

बुटवल र देवदहको सीमा क्षेत्र बुटवलको शिवनगर सामुदायिक वनमा पर्ने भनभने खोचमा बनाउने भनिएको फोहेर मैला प्रशोधन केन्द्र आयोजना सन् २०१४ डिसेम्बरमा ६ सय दिनमा सम्पन्न गर्ने गरी जेडआईईसी-पप्पु जेभीसंग सम्झौता भए पनि काम नै अगाडि बढ्न नसकी फिर्ता भएको हो ।

निर्माण कम्पनीले कामै नगरी २ करोड २१ लाख रुपैयाँ पेश्की स्वरुप लगेको छ । नेतृत्वको कमजोरी र केही हदसम्म राजनीतिक दलहरुबीच उचित समन्वय र समझदारी हुन नसक्दा एडीबीका तीनवटै परियोजना गुमेका हुन् ।

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले फोहोरको उचित व्यवस्थापनमा उपमहानगर लागिरहेको तर विकल्प अझै नभेटिएको बताउँछन् ।

विपक्षी दल नेपाली कांग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डेले उपमहानगरपालिकाले बस्तीमा फोहोर फालेर आफ्ना नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको बताउँछन् ।

‘चुनावमा स्मार्ट र स्याटलाइट सिटी बनाउंछौं भनेर झुठा आश्वासन बाँडियो, अहिले बस्तीमा फोहोर फालेर नगरवासी आन्दोलित हुनु र उपमहानगरको बेइज्जत हुनु विडम्वना भएको छ,’ नगर सभापति खेलराज पाण्डेले भने, ‘उपमहानगरले तत्काल फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment