
काठमाडौं । खाना फाल्नु केवल बाँकी खाना फ्याँक्नु मात्र होइन; यसको प्रभाव हाम्रो समाज, अर्थतन्त्र र पृथ्वीको स्वास्थ्यमा गहिरो रूपमा पर्छ । हरेक वर्ष, विश्वले खाना फाल्दा सयौँ अर्ब डलरको नोक्सानी बेहोर्छ । त्यति मात्र होइन, यसले पानी, जमीन र ऊर्जा जस्ता मूल्यवान स्रोतहरूलाई पनि खेर फाल्छ, जुन त्यही खाना उत्पादन, प्रशोधन र ढुवानी गर्न प्रयोग गरिएको थियो ।
जब यस्तो खाना फोहरमैला थुप्रिन्छ, त्यहाँ कुहिन्छ र मिथेन ग्यास उत्सर्जन गर्छ– मिथेन त्यो हरितगृह ग्यास हो जसले जलवायु परिवर्तनलाई सबैभन्दा बढी तीव्र बनाउँछ ।
वैज्ञानिकहरूको अनुमान अनुसार, विश्व खाद्य प्रणालीबाट निस्कने कुल हरितगृह ग्यास उत्सर्जनको करिब नौ प्रतिशत खाना फाल्दा मात्रै हुने गर्छ । सन् २०१५ मा खाद्य प्रणालीले करिब १८ अर्ब मेट्रिक टन ग्यास उत्सर्जन गरेको अनुमान छ, जसको ठूलो हिस्सा खाना फाल्नेमार्फत आएको हो ।
तर यसभन्दा पनि ठूलो त्रासदी के छ भने, यति धेरै खाना फालिँदा पनि विश्वभरका लाखौं मानिसहरुले भरपेट खान पाइरहेका छैनन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) का अनुसार, हरेक वर्ष करिब १ ट्रिलियन अमेरिकी डलर बराबरको खाना फालिन्छ, त्यही समयमा करिब ७८३ मिलियन मानिसहरू भोकसँग लडिरहेका छन् ।
खाना फाल्दा वातावरणमा पनि ठूलो दबाब पर्छ, किनभने यसले विश्वका कुल हरितगृह ग्यास उत्सर्जनको करिब ८ देखि १० प्रतिशत हिस्सा बनाउँछ र उत्पादन हुने खेतको करिब ३० प्रतिशत जमीन त्यही खाना उत्पादन गर्न प्रयोग हुन्छ, जुन अन्तत: कसैले खानै पाउँदैन ।
यूएनईपीको ‘फुड वेस्ट रिपोर्ट २०२४’ ले यो समस्या कति गम्भीर छ भन्ने अझ स्पष्ट चित्र देखाउँछ ।
सबैभन्दा धेरै खाना फाल्ने शीर्ष १० देशहरू
क्रम | देश | वार्षिक कुल खाना फोहर (टनमा) | अनुमानित प्रति व्यक्ति खाना फोहर (किलोग्राममा) |
---|---|---|---|
१ | चीन | १०८.६ मिलियन | ७६ |
२ | भारत | ७८.१ मिलियन | ५५ |
३ | संयुक्त राज्य अमेरिका | २४.७ मिलियन | ७३ |
४ | ब्राजिल | २०.२ मिलियन | ९४ |
५ | इन्डोनेसिया | १४.७ मिलियन | ५३ |
६ | जर्मनी | ६.५ मिलियन | ७८ |
७ | रुस | ४.८ मिलियन | ३३ |
८ | फिलिपिन्स | २.९ मिलियन | २६ |
९ | दक्षिण अफ्रिका | २.८ मिलियन | ४७ |
१० | घाना | २.८ मिलियन | ८४ |
सन् २०२२ मा विश्वभर करिब १.०५ अर्ब टन खाना फालिएको अनुमान छ । यो फोहर मुख्यत: तीन स्रोतबाट आएको थियो– खुद्रा पसलहरू, रेस्टुरेन्ट तथा खाना सेवा र घरपरिवारहरू ।
औसतमा, सन् २०२२ मा विश्वका हरेक मानिसले करिब १३२ किलोग्राम खाना फालेका थिए । त्यसमध्ये करिब ७९ किलोग्राम खाना घरमै फालिएको थियो । अर्थात् समस्याको ठूलो हिस्सा हाम्रो आफ्नै भान्साबाट सुरु भएको छ । समग्रमा, उपभोक्ताका लागि उपलब्ध कुल खानामध्ये करिब १९ प्रतिशत खाना खेर गएको थियो ।
यो केवल धनी देशहरूको समस्या होइन
रोचक कुरा के छ भने, घरमै फालिएको खाना धनी र गरिब देश दुबैमा लगभग उस्तै देखिन्छ । उदाहरणका लागि, उच्च आय भएका देशका घरधुरीले प्रतिव्यक्ति ८१ किलोग्राम खाना फालेका छन् । माथिल्लो मध्यम आय भएका देशहरूमा यो ८८ किलोग्राम थियो भने तल्लो मध्यम आय भएका देशहरूमा ८६ किलोग्राम । सबैभन्दा गरिब देशहरूका लागि पर्याप्त डेटा नभए पनि, प्रवृत्तिले के देखाउँछ भने खाना फाल्ने समस्या केवल धनी मुलुकको होइन, यो विश्वव्यापी समस्या हो ।
कुन देशले धेरै खाना फाल्छन् ?
देशगत हिसाबले हेर्दा, जनसंख्या धेरै भएकाले चीन र भारतले सबैभन्दा बढी खाना फाल्छन् । चीनले हरेक वर्ष करिब १०८.७ मिलियन टन खाना फाल्छ भने भारतले करिब ७८.१ मिलियन टन खाना फाल्छ ।
अमेरिका पनि ठूलो मात्रामा खाना फाल्ने देश हो । अमेरिकामा वार्षिक करिब २४.७ मिलियन टन खाना फालिने गरेको तथ्यांक छ । युरोपमा फ्रान्स र जर्मनीले क्रमश: ३.९ देखि ६.५ मिलियन टन खाना फाल्ने गर्छन् ।
यसका तुलनामा, दक्षिण अफ्रिका र घानाजस्ता देशहरूले हरेक वर्ष करिब २.८ मिलियन टन खाना फाल्छन् ।
प्रतिव्यक्ति आधारमा हेर्दा भने चित्र फरक देखिन्छ । उदाहरणका लागि, भारतका हरेक नागरिकले औसतमा वर्षमा ५५ किलोग्राम खाना फाल्छन् भने अमेरिकी नागरिकले ७३ किलोग्राम ।
केही देशहरूले भने निकै कम खाना फाल्छन् । फिलिपिन्सले वार्षिक करिब ३ मिलियन टन खाना फाल्छ, तर जनसंख्यामा बाँड्दा प्रतिव्यक्ति केवल २६ किलोग्राम पर्छ । यो भारत वा अमेरिकाको तुलनामा निकै कम हो ।
नेपालको स्थान कहाँ छ ?
नेपालमा वार्षिक खाद्य फोहर लगभग २ दशमलव २५ मिलियन टन हुने गरेको छ । यूएनईपीको रिपोर्टमा नेपालीले प्रतिव्यक्ति प्रतिवर्ष ९३ किलो खाद्य फोहोर फाल्ने गरेको उल्लेख छ । यो विश्वको औसतभन्दा बढी हो । विश्वको औसत करिब ७९ केजी वार्षिक छ । यसले के स्पष्ट हुन्छ भने धेरै खाना फाल्नेहरुमा नेपाली पनि कम छैनन् ।
खाना फाल्ने समस्या कुनै एउटा देशको मात्र होइन, यो मानवजातीकै साझा चुनौती हो, जसले अर्थतन्त्र, वातावरण र सामाजिक न्याय सबैलाई असर गरिरहेको छ ।
प्रतिक्रिया 4