Comments Add Comment

उखु कृषकलाई दिइएको भाका भोलि सकिँदै, बक्यौता चुक्ता नहुने

६ माघ, काठमाडौं । चिनी उद्योगीले उखु कृषकलाई उनीहरुको बक्यौता चुक्ता गर्न दिएको म्याद भोलि मंगलबार सकिँदैछ । तर, म्यादभित्र सबै बक्यौता तिर्न नसक्ने भन्दै उद्योगीहरुले मन्त्रालयसमक्ष लाचारी दर्शाएका छन् ।

तीन वषैदेखिको उखुको पैसा नपाएका कृषकहरु राजधानी आएर आन्दोलन गरेका थिए । अन्ततः कृषि मन्त्रालयले उनीहरुसँग सबै रकम दिलाइदिने भन्दै गत पुस १८ गते लिखित सम्झौता गरेका थिए । उद्योगीहरुले सरकारलाई गरेको प्रतिवद्धता अनुरुप नै सरकारले उखु कृषकलाई ७ माघको ‘डेडलाइन’ दिएको थियो । सहमतिपछि खुशी भएर कृषकहरु घर फर्केका थिए ।

तर, कृषकहरुको समस्या सहमति बमोजिम पुरै समाधान नहुने देखिएको छ । उद्योगीले आफूसँग भएको स्रोतबाट किसानहरुलाई क्रमिक रुपमा रकम दिईरहेको तर सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने जानकारी मन्त्रालयलाई गराएका छन् ।

उद्योगी र किसानसँग समन्वय गरिरहेका उद्योग विभागका निर्देशक बिनोद खड्काले सबै रकम बन्दोबस्त भइनसकेकाले केही समय लाग्ने जानकारी उद्योगीले गराएको बताए ।

यो पनि पढ्नुहोस सरकार र उखु किसानबीच पाँचबुँदे सहमति

‘बक्यौता बाँकी रहेका उद्योगीलाई फोन गरेर हरेक दिन विवरण लिइरहेको छु, उद्योगी राकेश अग्रवाल र वीरेन्द्र कनोडियले ७ गतेभित्रै सबै रकम तिर्न कठिन हुने बताएका छन्,’ निर्देशक खड्काले भने ।

आफूसँग भएको रकम भुक्तानी गरिएको भन्दै उद्योगीले बैंकबाट ऋण लिन नसकिएको गुनासो गरेका छन् । उद्योगीले दिएको जवाफ आफूले मन्त्रालयमा पठाएको र थप निर्णय अब मन्त्रालयबाटै हुने पनि उनले बताए ।

तोकिएको समयसीमा सकिन अझै समय रहेकाले कुनै निर्णय भने गरी नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयसँग समझदारी गरेका उद्योगीलाई भाका सम्झाउन पत्राचार गरिएको प्रवक्ता दिनेश भट्टराईले बताए ।

‘किसानले जसरी पनि रकम पाउनु पर्छ भन्ने मान्यतामा मन्त्रालय अडिक रहेको छ, रकम दिलाएरै छाड्छौँ,’ उनले भने ।

किसानले कति पैसा पाए ?

पुसको पहिलो सातादेखि किसानले काठमाडौंमा चरणबद्ध आन्दोलन थालेपछि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी राकेश अग्रवाल र वीरेन्द्र कनेडियालाई मन्त्रालयमा झिकाएर बक्यौता तिर्ने समयाअवधि तोकिदिएको थियो ।

दुबै उद्योगीले मन्त्रालयमा गरेको प्रतिबद्धताअनुसार माघ ७ गतेसम्म सबै बक्यौता रकम किसानलाई तिर्नुपर्ने थियो । उद्योगीको प्रतिबद्धतालाई टेकेर मन्त्रालयले पुस १८ गते आफै ग्यारेन्टी बसेर तोकिएकै मितिमा रकम भुक्तानी गर्ने गरी किसानसँग समझदारी गरेको थियो ।

मन्त्रालयले किसानसँग गरेको समझदारीको म्याद गुज्रिन एक दिन मात्रै बाँँकी रहँदा महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले बताए ।

यो पनि पढ्नुहोस बल्ल मुस्कुराए रामविलास !

इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल हुन् भने महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया हुन् । अब इन्दिरा र अन्नपूर्णले किसानलाई २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

किसान नेता के भन्छन् ?

किसानको आन्दोलनपछि केही उद्योगीहरुले तालिका बनाएर बक्यौता रकम तिरिरहेको उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमणि मैनालीले बताए ।

‘महालक्ष्मी लगायतका मिल सञ्चालनमा छन् र उनीहरुले पैसा तालिका बनाएर किसानको उखु कटान सुरु गरेका छन्,’ मैनालीले सर्लाहीबाट फोनमा भने ।

किसानलाई रकम पनि कम मात्रै तिरेको र उद्योग पनि नचलाएका कारण राकेश अग्रवाल र गोल्छा समूहबाट किसान पीडित भएको मैनालीले बताए । मैनालीका अनुसार अन्नपूर्ण र इन्दिराका सञ्चालक राकेश अग्रवालले २१ करोडभन्दा बढी र श्रीराम मिल सञ्चालन गर्ने गोल्छा समूहले २५/२६ करोड रुपैयाँ अझै तिर्न बाँकी रहेको छ । जसरी पनि रकम तिर्ने वातावरण भएन भने किसानहरु पुनः आन्दोलनमा उत्रिने पनि उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment