Comments Add Comment

महिला भलिबलमा आर्मीलाई हराउँदै एपीएफ समूह विजेता

काठमाडौं । विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ पाँचौ राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसपमा समूह ए को विजेता बनेको छ ।

यसअघि नै दुवै टोली सेमिफाइनलमा पुगिसकेकोले समूह विजेताको लागि भएको खेल एपीएफले ३-१ को सेटमा जितको हो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा एपीएफले पहिलो सेट २५-१० ले सहजै जितेको थियो । दोस्रो सेट पुनरागमन गर्दै आर्मीले २५-१९ ले जितेर खेल बराबरी गरेको थियो ।

तर त्यसपछिका दुवै सेटमा एपीएफ हावी भयो । तेस्रो सेट २५-१९ ले जितेको एपीएफले चौथो सेट २५-११ ले सहजै जित्यो ।

एपीएफले अब समूह बी को उपविजेता नेपाल पुलिससँग खेल्नेछ । यस्तै आर्मीले समूह बी को विजेता न्यू डायमण्डसँग खेल्नेछ ।

समूह बी को अन्तिम खेलमा डायमण्डले ढोरपाटन क्लबलाई सोझो सेटमा पराजित गर्दै समूह बी कोविजेता बनेको हो । डायमण्डले ढोरपाटनलाई २५-३, २५-१६, २५-१२ ले पराजित गरेको हो ।

पुरुषतर्फ क्वाटरफाइनल समीकरण पूरा

यस्तै पुरुषतर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार भएको समूहको अन्तिम दुई खेलमा एपीएफ र नेपाल पुलिस विजयी भएका छन् ।

समूह बी को विजेता बन्ने क्रमम एपीएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५-१४, २५-१०, २५-९ ले हरायो । दुवै खेल हारेको जावलाखेल समूह चरणबाटै बाहिरियो ।

एक खेल जितेको बुलबुल रारा क्लब समूह उपविजेता बन्दै क्वाटरफाइनल पुगेको छ । समूह सी अन्तर्गत खेलमा नेपाल पुलिसले बुटलवलको मणिमुकुन्द भलिबल क्लबलाई ३-० सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।

पुलिसले मणिमुकुन्दलाई २५-१४, २५-२०, २५-१४ ले हरायो । पुलिस समूह विजेता बन्दा पराजित भए पनि मणिमुकुन्द उपविजेता बन्दै क्वाटरफाइनल पुगेको छ । यस समूहमा पार्वती भलिबल क्लब खेल्न नआएपछि दुवै टोलीले यसअघि वाकओभर पाएका थिए ।

क्वाटरफाइनलमा अब समूह ए को विजेता आर्मीले समूह सी को उपवपजेता मणिमुकुन्दसँग खेल्नेछ भने समूह सी को विजेता पुलिसले समूह ए को उपविजेता नयाबजार युवा क्लबसँग खेल्नेछ ।

यस्तै समूह बी को विजेता एपीएफले समूह डी को उपविजेता बुद्धटोल युवा क्लबसँग तथा समूह डी को विजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समूह बी को उपविजेता बुलबुल रारा क्लबसँग खेल्नेछ ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भइरहेको प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment