Comments Add Comment

अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का

८ माघ, काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले जानकारी दिए । उनकाअनुसार उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई भनिएको छ ।

सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले मन्त्रालयसामू उखु किसानको बक्यौता दिने बाचा गरेका थिए । तर माघ ७ को भाका कट्दासम्म ३ करोड ९० लाख रुपैयाँ मात्र किसानलाई दिइएको छ । अझै ४२ करोड किसानको बक्यौता रहेको पाइएपछि मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको छ ।

यस्तै नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारी स्वामित्वको लुम्बिनी चिनी मिल मनिष अग्रवालले भाडामा सञ्चालन गरेका थिए, उनको मृत्यु भइसकेको छ । किसानको रकम भुक्तानी गर्न आग्रह गर्दा परिवार उद्योग सञ्चालकको परिवार सम्पर्कमा नआएकाले बैंक खाता रोक्का गर्नु परेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेष्टले झण्डै ८ करोड, बाग्मती खाँडसारीले ८ करोड ४१ लाद र बाबा बैजुनाथ चिनी मिलले पनि किसानको रकम दिन बाँकी छ । तर मन्त्रालयको सम्पर्कमा आएका चिल सञ्चालकहरुले रकम दिने प्रक्रियामा रहेको बताएका छन् ।

कुन मिलको बक्यौता कति ?

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हिमालय, इन्दुशंकर, इष्टन, रिलाइन्स र भागेश्वरी गरी पाँच वटा मिलले किसानलाई पूर्ण रुपमा भुक्तानी गरिसकेका छन् । यस्तै महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख रुपैयाँ भुक्तानी माघ ५ गतेसम्म गरेको छ । उसको बक्यौता २१ करोड ४० लाख ५८ हजार २५६ रुपैयाँ ७० पैसा थियो ।

अन्नपूर्ण सुगर मिलले ४२ करोड बक्यौता मध्ये ३ करोड ९० लाख रुपैयाँ किसानलाई भुक्तानी गरेको छ । मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईकाअनुसार किसानको बैंक खाता नभएका कारण एभरेष्ट चिनी मिलले ७ करोड ९३ लाख रुपैयाँ भुक्तानी दिन नसकेको जनाएको छ । श्रीराम सुगर मिलले २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ बक्यौता तिर्न किसानसँग समझदारी गरेको छ तर किसानले पैसा पाएका छैनन् ।

बागमती खाडसारी मिलले किसानलाई ८ करोड ४१ लाख ४१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उद्योगी मन्त्रालयको सम्पर्कमा नआएको सहसचिव भट्टराईले बताए । महाकालीले ६२ हजार १ सय ७ रुपैयाँ किसानलाई दिन बाँकी छ, उ पनि मन्त्रालयको सम्पर्कमा आएको छैन ।

यस्तै लुम्बिनी चिनी मिलले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिएको र उ पनि सम्पर्कमा नभएको मन्त्रालयले जनाएको छ । बाबा बैजुनाथ चिनी मिल पनि मन्त्रालयको सम्पर्कमा नआएको र उसको यकिन बक्यौता नखुलेको सहसचिव भट्टराईले बताए ।

बाँकी बक्यौता कसरी उठाउने ?

काठमाडौंमा आन्दोलनरत उखु किसानसँग १८ पुसमा पाँचबुँदे समझदारी गर्दै मन्त्रालयले माघ ७ गतेसम्म पैसा उठाइदिने बाचा गरेको थियो ।

भाकाभित्र सबै रकम नउठेपनि प्रगति सन्तोषजनक रहेको मन्त्रालयका सहसचिव भट्टराईले बताए । अधिकतम् प्रयासबाट १५ दिनमा १६ करोड भन्दा धेरै रकम किसानलाई उपलब्ध गराएको र अब भाका नतोकी जसरी पनि किसानको पैसा उपलब्ध गराएरै छाड्ने उनले दाबी गरे ।

बाँकी दिनमा बक्यौता तिर्न उद्योगीलाई बाध्य बनाउन मन्त्रालयले तीन वटा चिनी मिलको आर्थिक कारोबारमा प्रतिबन्ध लगाएको छ । अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिलको सबै आर्थिक कारोबार रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै, गोल्छा समूहको श्रीराम सुगर मिलले जग्गा बेचेर किसानलाई रकम भुक्तानी गर्ने भने पछि जग्गा बिक्री प्रक्रिया सहज बनाइदिन उद्योगले भूमिसुधार मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ । सम्पर्कमा नआएका उद्योगको सञ्चालक खोजी दिन गृह मन्त्रालयलाई पत्राचार गरेको पनि जनाएको छ । –यस अघि लेखिएको भुक्तानी दिनुपर्ने रकममा महाकाली सुगर मिलको अंक फरक परेकाले सच्याइएको छ । सं.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment