Comments Add Comment

प्रवल मृत्यु प्रकरण : हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका

८ माघ, विराटनगर । सिंघिया खोलामा मृत भेटिएका प्रवल घिमिरेको हत्या भएको हुनेसक्ने आशंका आफन्तले गरेका छन् ।

विराटनगर– २ बञ्जरा चोक घर भएका ५० वर्षीय प्रवल लेखा परीक्षक हुन् । आठ वर्ष यता लेखा परीक्षकको काम गर्ने उनले प्रवल एण्ड एसोशिएट कम्पनीको अफिस घरमै राखेका छन् । सोमबार बेलुका अडिटकै सिलसिलामा नन्दकिसोर राठीले उनलाई बोलाएका थिए । करिब ५ बजे विराटनगर– २ सरस्वी टोलमा रहेको राठीको गार्मेट उद्योगमा बसेका उनीहरु साढे ६ बजेतिर मेनरोडको आमाज बेकरी पुगेका थिए ।

यो पनि पढ्नुहोस विराटनगरमा लेखापरीक्षक मृत भेटिए

त्यहाँबाट अनिल चाण्डकलाई भेट्न होटल मुनमा पुगेका थिए ।

त्यहाँबाट राति करिब १० बजे घर जान भन्दै हिँडेका प्रवल मंगलबार बिहान सिंघिया खोलामा मृत भेटिएका हुन् ।

१०ः४२ मा फोन

प्रवलका दाजु रवीनकाअनुसार मोटरसाइकल राठीको उद्योगमै राखेर दुई जना आमाज होटल पुगेका थिए । आमाजबाट मुन होटल पुगे । मुनमा अरुण राठी, अशोक अटल पनि थिए । पाँचैजना एकअर्कामा परिचित हुन् ।

त्यहाँबाट बसपार्क पश्चिम रहेको लोटस बार पुगे । लोटसमा नन्दकिसोर बसेनन् । घरबाट फोन आएपछि नन्दकिशोर फर्किए । केही समय बसेपछि अरुण र अटल पनि निस्किएका थिए । अनिल र प्रवल भने होटलमा थिए । मोटरसाइकल नभएका कारण प्रवलले अनिलको गाडीमा लिफ्ट मागेका थिए ।

तर बाटो अफ्ठयारो भएको भन्दै अनिलले प्रवललाई वडा प्रहरी कार्यालय विराटनगर अगाडि छाडेर थिए ।

श्रीमती रेनुकाले फोन गर्दा प्रवलले तीनपैनी आसपास रहेको बताएका थिए । तर उनी घर नआएपछि छोरालाई लिएर तीनपैनी चोकसम्म पुगिन् । त्यहाँ नभेटेपछि फोन गर्दा आफू रहेको लोकेशन नै थाहा नभएको बताए ।

श्रीमानले आफू रहेको ठाउँ थाहा नपाएको बताएपछि अत्तालिंदै रेनुकाले राति जेठाजू रवीनलाई घटना सुनाइन् ।

राति १०ः४२ बजे रवीनले फोन गर्दा प्रवलको जवाफ थियो, ‘म आउँदैछु ।’ तर उनी घर आइपुगेनन् । मोबाइल पनि अफ भयो । रबिनले प्रवलका साथी सञ्जल श्रेष्ठ र नवीन रिजालाई सम्पर्क गरे । राति करिब १ बजे प्रहरीमा जानकारी गराए ।

विहान ४ बजेसम्म प्रवललाई सडक र अस्पतालतिर खोजिरहे । बिहान उज्यालो भएपछि घर आउँछन् भन्ने परिवारको आश थियो । तर झिसमिसेमै ‘प्रवल जस्तै देखिने मान्छेको शव संघिया खोलामा भेटिएको खबर आयो ।

खोला पुग्दा लगाएको लुगाबाटै रवीनले भाइलाई चिने । ‘दिउँसै मान्छे पुग्न गाह्रो हुने ठाउँमा शव कसरी पुग्यो’ रवीन भन्छन्, ‘घटना धेरै शंकास्पद छ ।’ उनकाअनुसार अहिलेसम्म प्रवलको मोबाइल भेटिएको छैन ।

बोलाएर लगेका व्यक्तिले घरसम्म नल्याएको उनको गुनासो छ ।

मोरङ प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको छ । मोरङ प्रहरी प्रवक्त लोकदर्शन थापाले शंकास्पद व्यक्तिहरुसँग साधेपुछ थालिएको बताए । राति मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै उनले पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने बताउँछन् । प्रहरीले प्रवलसँग रहेका अन्य व्यक्तिको पनि कल रेकर्ड मगाएको छ भने सडकको सीसी क्यामेरा फुटेजको पनि अनुसन्धान थालेको छ ।

प्रवलले विराटनगरका ठूला कम्पनीहरुको अडिट गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment