Comments Add Comment

युनाइटेड बर्नलीसँग पराजित, लेस्टर र टोटनह्याम विजयी

काठमाडौं । लेस्टर सिटी र टोटनह्यामले प्रिमियर लिगमा जित हात पार्दा म्यानचेष्टर युनाइटेडले भने पराजित भएको छ ।

बयोज परेजलगायतको गोल मद्दतले तेस्रो स्थानमा रहेको लेस्टर सिटीले वेष्टह्याम युनाइटेडलाई ४–१ ले हराएको छ । हार्भे बान्सले २४ औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा रिकार्डो परेइराले १ गोल थपे र अग्रता दोब्बर बनाए ।

परेजले अन्तिम १० मिनेटभित्र २ गोल थपे । उनले ८१ औं र ८८ औं मिनेटमा गोल गर्दै लेस्टरलाई सहज जित दिलाए। वेष्टह्यामका लागि मार्क नोबलले पेनाल्टीमा ५० औं मिनेटमा एक गोल गरे ।

जितपछि लेस्टरले २४ खेलबाट ४८ अंक जोडेको छ । २३ खेलबाट २३ अंक नै रहेको वेष्टह्याम गोलअन्तरमा वर्नमाउथ र वाटफोर्डभन्दा अघि रहे पनि रेलिगेसन जोनमै छ ।

त्यस्तै, अर्को खेलमा टोटनह्यामले अंक तालिकामा पुछारमा रहेको नर्विच सिटीलाई २–१ ले हरायो । घरेलु मैदानमा डेले अलीले ३८ औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा टिमु पुक्कीले नर्विचका लागि पेनाल्टीमा बराबरी गोल गरे । सन हेउन मिनले ७९ औं मिनेटमा गोल गर्दै टोटनह्यामको जित पक्का गरे ।

जितपछि २४ खेलबाट ३४ अंक जोडेको टोटनह्याम छैटौं स्थानमा उक्लेको छ । समान अंक भए पनि म्यानचेष्टर युनाइटेड पाँचौंमा छ ।

म्यानचेष्टर युनाइटेडलाई चौथो स्थानको चेल्सीसँग अंकदूरी घटाउन अवसर थियो । तर घरेलु मैदानमै बर्नलीसँग २–० ले पराजित भयो । ओल्ड ट्राफोर्डा भएको खेलमा बर्नलीका लागि क्रिस उडले ३ मिनेट र जे रोड्रिगेजले ५६ औं मिनेटमा गोल गरे ।

२४ खेलबाट ३४ अंकसहित युनाइटेड पाँचौं स्थानमै यथावत् छ । समान खेलबाट ३० अंक जोडेको बर्नली १३ औं स्थानमा उक्लेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment