Comments Add Comment

पथलैया-ढल्केबर सडक पनि ४ लेन, विश्व बैंकले लगानी गर्ने

८ माघ, काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तरगत बाराको पथलैयाबाट धनुषाको ढल्केबर (कमला)सम्म ४ लेनको सडक बन्ने भएको छ । यो सडकखण्ड विस्तारका लागि विश्व बैंकसहुलियत ब्याजदरको ऋण दिन विश्व बैंक सकारात्मक छ ।

ऋणबारे औपचारिक सहमति भएपछि विस्तृत परियोजना प्रतिवेदनसहित डिजाइन बनाउने काम अघि बढ्ने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । उनकाअनुसार विश्व बैंकसँग ऋण सम्झौतापछि परमर्शदाता छनोट हुनेछ । र, १ वर्षभित्र डिजाइनको काम सकिने अनुमान छ ।

करिब १२१ किलोमिटरको यो खण्डलाई फरक-फरक प्याकेजहरुमा विभाजन गरेर निर्माण गरिनेछ । भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन गरिने शर्मा सडक विभागका महानिर्देशक बताउँछन् । ‘सडकसीमा भित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहित लगायतका काम कसरी गर्ने भन्ने डिजाइनपछि टुंगिन्छ,’ शर्माले भने ।

कस्तो बन्छ सडक ?

अहिले मुख्य राजमार्ग फराकिलो पार्ने योजनाअनुसार धमाधम काम भइरहेको छ । विश्व बैंकको सहयोगमा मुग्लिन-नारायणगढ सडक दुई लेनमा विस्तार गरिएको छ भने मुग्लिन-नागढुंगा सडक पनि डेडिकेटेड दुई लेन विस्तारमा लगानी गर्ने योजना छ । यस्तै एसियाली विकास बैंक (एडीबी)को सहयोगमा बुटवल-नारायणगढ सडकखण्ड ४ लेनको बनाउन सुरु गरिसकेको छ ।

अब विस्तार हुने ढल्केबर-पथलैया सडकमा भने पूर्वपश्चिम राजमार्गका अन्य खण्डमाजस्तै ‘मेडियन’ (डिभाइडर संरचना)को दुईतर्फ ७-७ मिटरको दुई- दुई सडक बन्नेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । दायाँ-बायाँ नै साँढे २ मिटरको सोल्जर (अतिरिक्त पिच) गर्ने योजना रहेको भौतिक पूर्वाधार मन्त्रालयका विकास सहायता महाशाखा प्रमुख तथा सहसचिव गोपाल सिग्देल बताउँछन् ।

पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जंगली जनावरका लागि ‘एनिमल पास पुल’ पनि निर्माण गरिने सडक विभागका महानिर्देशक शर्माले बताए । यो सडक पर्सा राष्ट्रिय निकुञ्ज र चारकोसे झाडी क्षेत्र छिचोलेर बनाइएको छ । यो खण्डका मुख्य वस्ती र शहरी क्षेत्रमा दुईतर्फ सर्भिस लेन राखिनेछ । यसअनुसार शहरी क्षेत्रमा सडक ६ लेनको हुनेछ ।

सडक विस्तारमा कति खर्च लाग्छ भन्ने विस्तृत प्रतिवेदन तयार भएपछि टुंगो लाग्ने सिग्देलले बताए ।

विस्तारका फाइदा

यो सडक नेपालको पर्यटकीय चहलपहल धेरै हुनेमध्ये एक हो । पूर्वी पहाड तथा मध्य तराई घुम्न जाने पर्यटकका लागि मात्रै होइन, त्यस क्षेत्रका स्थानीयका लागि पनि काठमाडौंसहित पश्चिमतर्फ आवातजावत गर्ने मुख्य मार्ग हो ।

सरकारले निजगढसम्म काठमाडौंबाट द्रुतमार्गले जोड्दैछ । वीरगञ्जबाट पथलैयासम्म ६ लेनमा सडक विस्तार भइसकेको छ । बाराको पथलैयाबाट महोत्तरीको ढल्केबर (कमला)सम्म सडक विस्तार भयो भने निजगढ पुग्न झन सहज हुनेछ ।

यस्तै ढल्केबर (कमला) बाट कञ्चनरुप (सप्तरी)सम्म पनि सडक विस्तार गर्न अन्तिम तयारी गरिरहेको छ । यसबाहेक भिट्टामोड (जनकपुर)-ढल्केबर सडक पनि ६ लेनमा विस्तार गर्न निर्माणको काम धमाधम भइरहेको छ । सबै योजनाहरु पुरा हुँदा सो क्षेत्र आधुनिक राजमार्गहरुले घेरिने र त्यसले स्थानीय आर्थिक गतिविधिलाई काठमाडौंसँग जोड्ने महानिर्देशक शर्माको भनाइ छ ।

‘योजना अनुरुप वीरगञ्जबाट कञ्चनरुपसम्म कम्तिमा ४ लेनको सडक बन्छ भने द्रुतमार्ग र जनकपुरबाट ढल्केबरसम्म पनि ६ लेनको सडक बन्छ’ उनी भन्छन्, ‘यसले तराईसँग राजधानीको कनेक्टिभिटी सुध्रन्छ र आवागमन सहज हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment