Comments Add Comment

कोरोना भाइरस : सतर्क रहनुको विकल्प छैन

९ माघ, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले अमेरिकासम्म पुगिसकेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरुमा तीव्र रुपले फैलिइरहेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले हाललाई स्वास्थ्य इमर्जेन्सी लागू गरिसकेको छैन ।

चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको पेकिङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा अनुसन्धान प्रकाशित भएको छ । यो तथ्य सार्वजानिक भएसँगै आफू अचम्ममा परेको बताउँछन् डाक्टर शेर बहादुर पुन । ‘यो भाइरसबारे धेरै तथ्यहरु आइसकेको छैन, अहिले आएका तथ्यहरु अचम्ममा पार्ने खालका छन्’ डाक्टर पुन भन्छन्, ‘एकदम आक्रमक रुपमा फैलिएकाले अहिले केही भन्न सकिने अवस्था छैन ।’

चीनमा धेरै नेपाली विद्यार्थी छन् । भ्रमण वर्ष २०२० मनाउन चिनियाँ पर्यटकहरु पनि नेपाल भित्रिएका छन् । यसो हुदाँ नेपालमा कोरोना भाइरस संक्रमण हुने डर छ कि छैन् ? जिज्ञासा धेरैलाई छ ।

‘अवश्य छ’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका डाक्टर शेर बहादुर पुन भन्छन्, ‘कोरोना भाइरस नफैलियोस् भनेर विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर काम भइरहेको छ ।

यो पनि पढ्नुहोस चीनबाट आएका विद्यार्थीमा कोरोना भाइरसको परीक्षण

डाक्टर पुनकाअनुसार गत साता चीनबाट फर्किएका एक युवा कोरोना भाइरसको संक्रमणको आशंकमा अस्पताल पुगेका थिए । तीन दिन अस्पताल राखेर प्रारम्भिक अनुसन्धान गर्दा उनलाई त्यस्तो जटिलता देखिएन । उनी बाहेक अन्य कोही कोरोना भाइरसको आशंका गर्दै अस्पताल पुगेका छैनन् ।

डाक्टर पुनकाअनुसार नेपालबाट कोरोना भाइरसको स्याम्पल जाँच गर्न हङकङ पठाउनुपर्छ । प्रारम्भिक जाँचले कोरोना नदेखाएपनि फाइनल रिपोर्ट नआउञ्जेल केही भन्न सक्ने नभएको डाक्टर पुन बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार नेपालमै यो भाइरसबाट शंकास्पद मानिएका बिरामीहरुको नमूना परीक्षण गर्न सकिने प्रविधि र त्यसका लागि आवश्यक पर्ने केमिकलहरु विश्व स्वास्थ्य संगठनको समन्वयमा भित्राउन लागिएको छ । अबको एक हप्ताभित्र नेपाल आइपुग्ने बताइएको छ ।

विमानस्थलमा जाँच

विदेशी पर्यटन तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्य जाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ, जहाँ कोरोना भाइरसको संक्रमण देखिएको देशबाट आउने बिरामीको जाँच हुन्छ ।

यो पनि पढ्नुहोस कोरोना भाइरस जाँच गर्न त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क

कोरोना भाइरस संक्रमण भएको देशबाट आउने मानिसहरुलाई फर्म भराइन्छ । सर्सर्ती हेर्दा रुघाँ र ज्वरो आएको र बिरामी जस्तो देखिने मानिसलाई चेकजाँच गरिन्छ । विमानस्थलमा अहिलेसम्म कोही पनि कोरोना भाइरसको शंकास्पद नभेटिएको त्यहाँको हेल्थ डेस्कले जनाएको छ ।

अस्पतालमा पनि तयारी

शुक्रराज ट्रपिकल सेन्टरमा कोरोना भाइरसको लक्षण देखिएको बिरामी आएमा भर्ना गर्नका लागि आईसीयू नजिकै रहेको ६ वटा विशेष वार्ड तयारी अवस्था राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीहरुलाई इपिडिमियोलोजी, डब्लुएचओसँग समन्वय गरेर रोगबारे जानकारी दिइसकेको डाक्टर पुन बताउँछन् । ज्वरो तथा रुघाखोकीको लक्षण लिएर अस्पताल पुग्नेहरुलाई समेत विशेष सोधपुछ गर्ने गरिएको छ ।

अहिले जाडो महिना भएकाले ज्वरो र खोकीको लक्षण एन्फ्लुएन्जामा पनि देखिन्छ । ज्वरो आएको, खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या छ भने कोरोना भाइरसको जोखिम हुनसक्छ । तर कोरोना भाइरसबारे आशंका गर्न यो भाइरसको प्रभावित देशबाट आएको व्यक्ति हो वा होइन वा बाहिरबाट आएको व्यक्तिसँगै बसेको छ कि भनेर सोध्ने गरिन्छ । डाक्टर पुन भन्छन्, ‘ कोरोना र इन्फ्लुञ्जाको लक्षण मिल्ने भएकाले पनि हामीले विशेष सोधपुछ गरिरहेका छौँ ।’

के हो कोरोना भाइरस ?

चीनमा पत्ता लागेको कोरोना भाइरसलाई श्वाप्रश्वाससम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरस भनिएको छ ।

२०१९-एन सीओभी भनिएको उक्त भाइरस कोरोना वर्गको नयाँ प्रजाति भएको ठानिएको छ, जुन यसअघि मानिसमा फेला परेको थिएन । सन् २००० को दशकको आरम्भतिर संसारभरी झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोनाभाइरस नै थियो । कोरोना भाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो ।

यो भाइरसको संक्रमण भएमा ज्वरो आउने, कसैकसैमा श्वास प्रश्वासमा समस्या आउने र निमोनियाको लक्षण देखिने गर्छ । यो भाइरसले फोक्सोको ठूलो भागमा संक्रमण गराई निमोनियाको विकास गर्छ । अन्य संक्रमणमा भन्दा कोरोना भाइरसमा निमोनिया गराउन सक्ने क्षमता बढी हुन्छ ।

जनावरबाट सर्ने भनिएको यो भाइरस अहिले मानिसबाट मानिसलाई सर्ने भनिएको छ । डाक्टर पुन भन्छन्, ‘यो भाइरस डरलाग्दोसँग फैलिएको छ, त्यसैले हामी पनि सतर्क रहनुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment