Comments Add Comment

‘स्टार’ नायकसँग जसिताको यात्रा

चलचित्र क्षेत्रमा चलेका र दर्शकले रुचाएका नायक हुन् या नायिका, उनीहरुसँग पर्दा शेयर गर्ने रुची हरेक कलाकारमा हुन्छ । अझ, चलचित्र क्षेत्रमा करिअर बनाउँदै गरेका कलाकारलाई स्टारसँगको टाइअप सुखद हुन्छ । जसिता गुरुङ, थोरै मात्र भाग्यमानी नायिकाको सूचीमा पर्छिन्, जसले छोटो समयमा नै स्टार नायकसँग टाइअप गर्ने अवसर पाएकी छिन् ।

चलचित्र क्षेत्रमा स्टार नायकको रुपमा चिनिएका प्रदिप खड्कासँग उनले डेब्यू चलचित्र ‘लिलिबिली’मा काम गर्ने मौका पाइन् । यो चलचित्रमा उनले गरेको अभिनयलाई सर्वाधिक रुचाइयो । यसपछि, उनी र नायक खड्काको प्रेम चर्चा पनि चल्यो ।

तर, दुबैले कहिले पनि प्रेम सम्बन्धलाई स्विकार भने गरेनन् । बरु, दोश्रो चलचित्र ‘लभ स्टेशन’मा पनि एकसाथ सहकार्य गरे । यो चलचित्र बक्स अफिसमा असफल हुँदा जसिता हच्किइन् ।

जसिताले तेश्रो चलचित्रको रुपमा नायक धिरज मगरसँग ‘आई एम ट्वान्टी वान’मा काम गर्दैछिन् । धिरज पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नै उदाइसकेका थिए । उनको फ्यान क्रेज गज्जब देखिएको थियो । तर, दोश्रो चलचित्र बजारमा आउन समय लाग्दा धिरजलाई समस्या पर्न सक्छ ।

जसिताले आफ्नो करिअरको चौथो चलचित्रको रुपमा नायक अनमोल केसीसँग ‘एन्टी हिरो’मा टाइअप गरेकी छिन् । अनमोल चलचित्र क्षेत्रमा यतिबेला बलेका नायक हुन् । अनमोलसँग सहकार्य गर्ने नायिकाको करिअर उचाइमा पुगेको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह, उपासना सिंह ठकुरी, सुहाना थापा यसका उदाहरण हुन् ।

यसैले पनि स्टार नायकहरुसँग जसिताको टाइअप छोटो समयमा नै जुन तरिकाले देखिएको छ, यो लोभलाग्दो छ । जसिता आफूले भने पाएको यो अवसरलाई कसरी सदुपयोग गर्ने हुन्, यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment