Comments Add Comment

अन्तर्राष्ट्रिय हवाई यात्रु घटेको वर्ष नेपाल एयरलाइन्समा छलाङ

१० माघ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यात्रु संख्यामा छलाङ मारेको छ । सन् २०१९ मा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली र नेपाल उडान गर्ने विदेशी वायुसेवा कम्पनीमध्ये नेपाल एयरलाइन्स पहिलो स्थानमा छ ।

यस क्रममा सन् २०१८ को तुलनामा यस वर्ष नेपाल एयरलाइन्सको यात्रु संख्यामा उल्लेख्य मात्रा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०१९ मा नेपाल एयरलाइन्सले कूल ७ लाख ३५ हजार ८ सय ३५ जना यात्रु बोकेको छ ।

यस वर्ष नेपालमा अन्तराष्ट्रिय उडान गर्ने नियमित तथा चार्टर्ड उडानका ३५ वायुसेवा कम्पनीले ४१ लाख ३८ हजार ५ सय ६३ यात्रु बोकेका छन् । त्यसमध्ये नेपाल एयरलाइन्सको मात्र बजार हिस्सा १७.८ प्रतिशत पुगेको छ ।

नेपाल एयरलाइन्सले सन् २०१८ मा मात्र ४ लाख ९१ हजार ९ सय ७९ जना यात्रु बोकेको थियो । उक्त वर्ष कूल यात्रु संख्या ४३ लाख ४२ हजार ४ सय ८६ थियो ।

कूल यात्रुको तुलनामा नेपाल एयरलाइन्सले बोकेको यात्रुको हिस्सा मात्र ११.३२ प्रतिशत रहेको थियो । नेपाल एयरलाइन्सले एक वर्षको अवधिमै बजार हिस्सामा समेत उल्लेख सुधार गरेको छ । कूल अन्तर्राष्ट्रिय यात्रु संख्या भने सन् २०१९ मा ४.७० प्रतिशतले घटेको छ ।

सन्  २०१९ मा धेरै यात्रु बोक्ने १० अन्तराष्ट्रिय वायुसेवा कम्पनी

यसकारण बढे नेपाल एयरलाइन्सका यात्रु

सन् २०१८ मा सर्वाधिक यात्रु बोक्नेमध्ये एक जेट एयरवेज बन्द भयो । फलस्वरुप नेपाल एयरलाइन्सले दिल्लीमा उडान विस्तार गर्‍यो। दिल्लीमा दैनिक तीन उडान गर्दासमेत अक्कुपेन्सी स्वस्थ रहेको नेपाल एयरलाइन्सका नायव महाप्रवन्धक गणेशबहादुर चन्दले जानकारी दिए ।

चन्दका अनुसार सन् २०१९ मा दिल्ली र दोहाबाट आउने यात्रुले कूल संख्या बढाउन सहयोग गरेको हो । यसै वर्ष नेपाल एयरलाइन्सले जापान उडान विस्तार गर्‍यो । त्यसले समेत यात्रु बढाउन भूमिका खेलेको छ ।

यसबाहेक नेपाल एयरलाइन्सको नयाँ वाइडबडी जहाजमा उडान अनुभव गर्न चाहने यात्रु र इनफ्लाइट सुविधाका कारण पनि यात्रुले नेपाल एयरलाइन्स रुचाएको उनले उल्लेख गरे ।
चार वटै नयाँ जहाज उडिरहेका कारण यसवर्ष नेपाल एयरलाइन्सका जहाज ग्राउन्डेड हुने समस्या पनि कम भयो । नियमित उडान भएका कारण समग्र यात्रु संख्या बढेको नेपाल एयरलाइन्सको भनाइ छ ।

हिमालयले गुमायो यात्रु

तथ्यांकअनुसार नेपाली कम्पनीमध्ये निजी लगानीको हिमालय एयरलाइन्सको बजार हिस्सा भने यस वर्ष खस्किएको छ । कम्पनीले सन् २०१९ मा ढिला गरी चीन र बंगलादेशको ढाकामा उडान बिस्तार गर्‍यो ।

सन् २०१८ मा उडाइरहेको गन्तव्य मलेसिया सन् २०१९ मा बन्द गरी ढिला मात्र पुनः सुचारु गर्‍यो, जसले गर्दा यात्रु संख्या घटेको हो ।

कोलकाता उडानले बुद्धको प्रगति

सन् २०१९ मा निजी लगानीको अर्को कम्पनी बुद्ध एयरले यात्रु संख्यामा सुधार गरेको छ । सन् २०१८ मा ४ हजार ३ सय ९६ जना यात्रु बोकेको बुद्धले सन् २०१९ मा भने १४ हजार २ सय ३ जना यात्रु बोकेको छ ।

सन् २०१८ मा बुद्धले बनारसमा मात्र उडान गरेको थियो । सन् २०१९ मा भने बुद्ध वनारस र कोलकत्ता दुबै गन्तब्यमा उड्यो । यसले समग्र यात्रुको वृद्धि भएको देखिएको छ ।

बुद्धले अहिले भने कोलकत्ता उडान रद्द गरेको छ । यस रुटले कम्पनीलाई भने फाइदा नगरेको बुद्धले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment