Comments Add Comment

भीम रावल : अतिवादी कि राष्ट्रवादी ?

पार्टीभित्र लोकप्रियता घट्दो, बाहिर बढ्दो

१० माघ, काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टी दुई वर्षअघि एकीकरण भएर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ अनेकन विचार समूहहरुको साझा अखडाजस्तो छ । विचारधारात्मकरुपमा दशौं ध्रुवमा छरिएकाहरु यस पार्टीभित्र अटाएका छन् । जनयुद्ध विरोधीदेखि जनयुद्धका संवाहकसम्म । पृथ्वीनारायण शाहको शालिक फुटाउनेदेखि उनको शालिक ढोग्नेसम्म । संघीयताका लागि लडेकादेखि संघीयताविरुद्ध लडेकासम्म ।

यहाँ चर्चा गर्न गर्न लागिएका पात्र भीम रावलले चाहिँ नेकपाभित्रको ‘राष्ट्रवादी ध्रुव’ लाई नेतृत्व गरिरहेका छन् । यो आलेखमा उनको सांगोपांगो विश्लेषणको प्रयास गरिनेछ ।

खासगरी, राष्ट्रियतासँग जोडिएका मुद्दालाई लिएर आफ्नै पार्टी र पार्टीले नेतृत्व गरेको सरकारमाथि एकपछि अर्को हमला गरिरहेका छन् नेकपाका स्थाई समिति सदस्य रावल । उनलाई ‘पार्टीभित्रको प्रतिपक्ष’ मान्न थालिएको छ । प्रधानमन्त्री केपी ओलीले अहिले शेरबहादुर देउवाभन्दा भीम रावलसँग बढी सतर्क हुनुपर्ने अवस्था छ । सत्तापक्षको नेताले प्रतिपक्षीभन्दा कडा ढंगले सरकारको विरोध गर्नु साहसिक कुरा हो, तर यो राजनीतिक आचरण वा पार्टी अनुशासनको दायराभित्र पर्छ वा पर्दैन भन्ने प्रश्नचाहिँ उठ्छ ।

सरकारका गलत काम–कारवाहीविरुद्ध ठीक समयमा ठीक ठाउँमा प्रहार गर्दा रावलको लोकप्रियता बढेको छ । विषयको गहिराइभित्र पसेर त्यसको केस्रा–केस्रा केलाउँदै तार्किक बहस गर्ने खुबी छ उनीसित । आम जनमानसमा उनले प्रखर, अध्ययनशील र राष्ट्रप्रेमी नेताको छवि बनाएका छन् । तर, नेकपाभित्र चाहिँ उनलाई कुण्ठित, ओलीविरोधी, स्टन्टबाज इत्यादि भनेर प्रचार गर्न थालिएको छ ।

भारतले नाकाबन्दी गर्दा ओलीले लिएको राष्ट्रवादी अडानका कारण रावलसँग उनको रसायन मिलेको थियो । तर, ओली दोस्रोपटक प्रधानमन्त्री बन्दा भने रावल उनका कटु आलोचक बनेका छन् ।

पहिले–पहिले कम्युनिष्ट पार्टीभित्र फलामे अनुशासन हुन्थ्यो । पार्टीको नीति–निर्णयभन्दा थोरै दायाँबायाँ गएर बोल्ने÷लेख्नेहरुले कठोर कारवाहीको सामना गर्नुपथ्र्यो । तर, अहिले नेकपा पनि कांग्रेसजस्तै खुकुलो भएको छ । मिडियामा आएर पार्टी नेतृत्वको कटु आलोचना गर्ने स्वतन्त्रता स्थापित भएको छ । यही स्वतन्त्रताको लाभ रावलले मज्जासँग उठाइरहेका छन् । उनका अभिव्यक्तिहरु कारवाही त परै जावस, पार्टीभित्र छलफलको विषय पनि बनेका छैनन् ।

फरक मतका श्रृंखला

दुई वर्षअघि केपी ओली नेतृत्वको सरकार गठन भएदेखि नै रावलका फरक मतहरु धाराप्रवाह प्रकट हुन थालेका हुन् । नागरिकता ऐनदेखि होली वाइन काण्डसम्म, आइफा अवार्डदेखि सिके राउतसँगको सम्झौतासम्मका विषयमा उनका तार्किक प्रस्तुतले जनताको मन जितेको छ । यद्यपि, पछिल्लो समयमा एमएमसी सम्झौताका बुँदाहरुलाई अतिरञ्जित वा तोडमोड गरेको आरोप उनीमाथि लागेको छ ।

वर्तमान सरकार र नेकपा लक्ष्यित रावलका फरक विचारका श्रृंखला यसप्रकार छन् ः

१. होली वाइन प्रकरण

एउटा धर्म प्रचारक संस्थाले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सरकार सहआयोजक बन्यो । प्रधानमन्त्री केपी ओली केही दिन पाँचतारे होटलमै अड्डा जमाएर बसे । यस कुराको चौतर्फी विरोध हुँदा सबैभन्दा बुलन्द स्वर भीम रावलको थियो ।

२. सिके राउतसँग सम्झौता

सिके राउतलाई मूलधारमा ल्याउने विधि र सम्झौताको व्यहोरामा भीम रावलले प्रश्न उठाए । हुन पनि सरकारकै समानान्तर शक्तिको रुपमा स्वीकारेको झल्किने गरी राउतसँग सम्झौता गरिएको थियो । यद्यपि, राउतलाई विखण्डनकारी अभियानबाट वैध राजनीतिमा ल्याउनु सरकारको महत्वपूर्ण सफलता हो ।

३. नागरिकता ऐन

संसदमा पेश भएर लामो समयदेखि अलपत्र बनेको नागरिकता ऐनमा रावलको फरक मत छ । उनी नागरिकताको नीति नेपालले कडा बनाउनेपर्ने मान्यता राख्छन् । खास गरी, विदेशी बुहारी र ज्वाइँलाई नागरिकता दिने सम्वन्धमा खुकुलो प्रावधान राख्न नहुने अडान उनले लिइरहेका छन् ।

४. आइफा अवार्ड

नेपाल सरकारले पर्यटन प्रबद्र्धनका लागि भन्दै एक अर्ब रुपैयाँ आपैंmले खर्चेर काठमाडौंमा एउटा भारतीय फिल्म अवार्ड आयोजना गर्ने तयारी थियो । रावलले त्यसको धुवाँधार विरोध गरे । सरकारले उक्त अवार्ड आयोजकसँग गर्न लागेको सम्झौता आपत्तिजनक नै थियो । अन्ततः चौतर्फी विरोधपछि अवार्ड रद्द भयो ।

६. राष्ट्रपतिको सक्रियता

राष्ट्रपतिको रोहबरमा शीतलनिवासभित्रै प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डबीच जिम्मेवारी बाँडफाँडको सम्झौता भयो । पार्टीभित्र राष्ट्रपतिले भूमिका बढाएको भन्दै रावलले आलोचना गरेका छन् । साथै राष्ट्रपतिलाई नेकपाका केही नेताले सामुहिक भेटेको पनि उनलाई मन परेको छैन ।

७. ललितानिवासको जग्गा फिर्ता

पार्टीकै जिम्मेवार नेता मुछिएको ललिता निवास प्रकरणमा पनि रावलको प्रतिपक्षी भूमिका देखियो । उनले प्रधानमन्त्री निवासछेउको जग्गा कब्जा गर्नेमाथि कारवाही गर्न सार्वजनिक माग राखे ।

८. राजापासँगको गठजोड

राष्ट्रिय जनता पार्टीसँग अपारदर्शी ढंगले राष्ट्रियसभा चुनावका लागि गठवन्धन गरिएको भन्दै उनले विरोध जनाएका छन् । पार्टीको वैठकमा छलफल नगरी दुई अध्यक्षले बालुवाटारमा राजपा नेताहरुसँग कुन उद्देश्यले सम्झौता गरेका हुन् भन्दै उनले जवाफ मागेका थिए ।

९. एमएसी सम्झौता

सरकारले अमेरिकासँग गरेको एमएमसी सम्झौतालाई विवादमा तान्ने एक प्रमुख पात्र भिम रावल हुन् । उनले सम्झौतामा रहेका थुप्रै बुँदामा प्रश्न उठाएका छन् ।

सूर्य थापासँग जुहारी र ‘मार्ने धम्की’

केही समयदेखि रावल र प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमा रस्साकस्सी चलिरहेको छ । थापाले उनीविरुद्ध फायर खोलेपछि रावलले पनि कडा जवाफ फर्काएका छन् । यही क्रममा रावलले आफूलाई बालुवाटारबाट मार्ने धम्की आएको सनसनीपूर्ण वयानसमेत दिए ।

सूर्य थापाले गत पुस १४ गते यस्तो स्टाटस लेखेका थिए :

कमरेड, ‘राष्ट्रवाद’ को बहसमा बुझेर नै उत्रिनुभएको हो त ?

पार्टीले तपाईका कविताबमोजिम चलिदिनुपर्ने कि कसो हो ? यी दुई कविताको ‘पुरानो’ र ‘नयाँ कवि’ तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुबै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ ।

म पुरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ । तर, स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भ्रत्सनाको मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन । तपाईका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत् पक्षले क्रमशः पापाराजीको फन्दामा उहिले डायना परेजस्तो÷वा आज तपाई परिरहेको अनुभव भइरहेको छ । यो नबुझेर वा नजानेर त पक्कै गर्नुभएको होइन होला । ‘एक्लो बृहस्पति’ बन्न नखोज्नु नै हितकर हुन्छ होला !

तपाईंको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिदैन । कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाश मात्रै थाम्न खोज्नु उचित होला कि ! विषयको संवेदनशीलता र गम्भीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन । आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दि ।’

थापाले योे लेखेको भोलिपल्ट रावलले सञ्चार माध्यममा अन्तरवार्ता दिँदै आफूलाई बालुवाटारबाटै ज्यान मार्ने धम्की आएको बताए । रावलले अन्तरवार्तामा भनेका छन, ‘मलाई ज्यानको समेत धम्की दिइएको छ बालुवाटार बस्ने व्यक्तिबाट । लेडी डायनाले जसरी नै तिमीले पनि ज्यान गुमाउनु पर्ला भनेर मलाई धम्की दिइयो । तर, म यस्ता धम्कीसित डराउँदिनँ ।’

रावलले सूर्य थापालाई फेसबुकमा दिएको जवाफचाहिँ यस्तो छः

‘देश र जनताको पक्षमा बोल्दा ०३२ सालमा निरंकुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रम केपी ओलीजी पनि त्यहीँ हुनुहुन्त्यो । तर, उहाँको सल्लाहकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो । अतः मैले कुन सन्दर्भमा देश र जनताको पक्षमा के गरेँ भन्ने उहाँलाई थाहा नहुनु स्वाभाविक हो । मैले संविधान तथा पार्टीका सिद्धान्त नीतिअनुरुप बोल्दा राष्ट्रवादको बहसमा उत्रेको भनी धम्की दिएको पढ्दा २०३३ सालमा श्री ५ को सरकारको घुँडा टेकुवा नीति मूर्दावाद भन्ने पर्चा निकालेकोमा निरंकुश शासकहरुले राजकाज मुद्दा लगाई जेल हालेको सम्झना भयो । देशको पक्षमा बोल्दा प्रम केपी शर्मा ओलीजीका सल्लाहकारले धम्की दिएपछि जनताको तर्फबाट प्रश्न गर्न चाहन्छु– के देश, जनता विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्नेहरुमाथि दमन गर्न खोजिँदै छ त ? देशलाई नयाँ रंगको निरंकुशतन्त्रतर्फ धकेलिन खोजिँदै छ त ? म राष्ट्रिय हित, जनता, संविधान, पार्टी विधानको पक्षमा र निरंकुशताको विरुद्ध लड्न तयार छु । एक्लो वृहस्पति हुन लागेको भनेर पार्टी कार्यकर्ता र सदस्य तथा देशभक्त नेपाली जनतालाई दिनुभएको धम्कीले पात पनि झर्दैन ।’

सत्ताधारी दलको नेताले आफूलाई प्रधानमन्त्री निवासबाट ज्यान मार्ने धम्की आएको बयान दिनु अति संवेदनशील कुरा थियो । तर, सूर्य थापाको स्टाटसलाई नै उनले ज्यान मार्ने धम्कीका रुपमा अथ्र्याएको पाइएपछि सो वयानले सोचेजति खल्बली ल्याउन सकेन । ‘पापाराजीको फन्दामा उहिले डायना परेजस्तो आज तपाईं परिरहेको अनुभव भइरहेको छ’ भन्ने वाक्यांशलाई नै रावलले ज्यान मार्ने धम्कीका रुपमा लिएको बुझियो ।

बालुवाटारले पनि उनको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छैन । ‘बालुवाटारबाट आएको धम्की’ का सम्वन्धमा हामीले प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईलाई प्रश्न गर्दा उनले यस्तो जवाफ दिए :

‘यो उहाँको एउटा स्टन्ट हो । जब आफूले उठाएका कुराको वजन हुँदैन, तब जनताको ध्यान आफूतिर तान्न यस्ता स्टन्टहरुको सहारा लिनुपर्ने अवस्था आउँछ । उहाँले आफूतिर जनताको ध्यान खिच्न ज्यान लिने धम्की आएको हल्ला चलाउनुभएको हो । यदि धम्की नै आएको भए फलानाले, फलानो मितिमा, फलानो समयमा, फलानो माध्यमबाट भन्न सक्नुहुन्थ्यो । र, त्यसको कानुनी उपचार पनि खोज्नुहुन्थ्यो । उहाँले त्यस्तो केही गर्नुभएन । उहाँ स्वयम् यसमा गम्भीर हुनुहुन्न । त्यसैले यसलाई प्रधानमन्त्रीको सचिवालयले गम्भीरतापूर्वक लिएन । हरेक हल्ला र स्टन्टमा बहकिएर त्यसमा समय खर्च गर्ने प्रधानमन्त्रीको सचिवालयलाई फुर्सद पनि छैन ।’

सूर्य थापाको ‘धम्कीपूर्ण’ भनिएको स्टाटसबारे बजगाईं भन्छन्, ‘सूर्य थापाले ‘डायनाको पछि लागेर उनलाई चर्चित बनाउन लागेकाहरुबाट उनी स्वयं सुरक्षित भइनन्’ भनेर रावललाई सचेत हुन सुझाव मात्र दिनुभएको हो । एउटा शुभचिन्तकले आफ्ना बारेमा बढाइ–चढाइ प्रचार गरिदिने कृत्रिम हल्लाखोरबाट बच्न दिएको सुझावलाई धम्की भन्न मिल्दैन जस्तो मलाई लाग्छ ।’

बजगाईको बुझाइमा रावलले विभिन्न विषयमा व्यक्त गर्दै आएका फरक मतहरु उनको कुण्ठाका अभिव्यक्ति मात्र हुन् । उनी भन्छन्, ‘खासमा उहाँको भित्री असन्तुष्टि ‘यत्रो ठूलो बहुमत ल्याएर सरकार बनिरहेको छ, मचाहिँ सरकार बाहिरै बस्नुपरेको छ’ भन्ने हो । यही कुरा उहाँ खुलेर भन्न सक्नुहुन्न । त्यसैले सरकारले जेजस्ता काम गरे पनि त्यसको आँखा चिम्लेर विरोध गरिरहनुभएको छ ।’

भीम रावलले अनुशासन तोड्नुभएको छैन : अमृत बोहरा

नेकपाभित्र अनुशासन विभाग छ, जसका प्रमुख हुन् अमृत बोहरा । विभागले पूर्णता भने पाएको छैन । रावलका फरक मतहरु र धम्कीको आरोपबारे हामीले बोहरासित संक्षिप्त कुराकानी गर्यौं–

रावलका पार्टी र सरकारविरोधी अभिव्यक्तिहरुमा पार्टी अनुशासन आकर्षित हुन्छ कि हुँदैन ?

यसमा सोलोडोलो एकै शब्दमा टिप्पणी गर्न मिल्दैन । उहाँले दिएका प्रत्येक अभिव्यक्तिहरु केलाउनुपर्छ । पार्टीको विधानले पनि मर्यादापूर्ण तरिकाबाट पार्टी र सरकारका नीति–निर्णयबारे आलोचना गर्न छुट दिएको छ । चित्त नबुझेको कुरा संयम भाषामा सञ्चार माध्यममा राख्न पाइन्छ । कसैको प्रस्तुति कडा, कसैको नरम हुन्छ । तर, शब्द छनोटमा विचार पुर्‍याउनुपर्छ ।

भन्नाले उहाँले विधानको दायराभित्रै रहेर बोलिरहनुभएको छ ?

त्यो निक्र्यौल निकाल्न चाहिँ घटनाविशेषकै विश्लेषण गर्नुपर्ने हुन्छ । उहाँले कुन कुराको कस्तो शब्दमा विरोध गर्नुभएको छ भन्ने केलाउनुपर्ने हुन्छ । अहिले अनुशासन विभागले पूर्णता पाएको छैन । म एक्लै छु । त्यसैले यो विषयमा छलफल भएको छैन ।

पार्टी नेतृत्व र सरकारप्रतिको असन्तुष्टि पार्टीभित्रै राख्नु पर्छ भन्ने मान्यता थियो पहिले । अहिले त्यस्तो छैन ?

खोई, पार्टीका वैठक नै नियमित बस्दैनन् । छिटोछिटो वैठक बसेदेखि सबैले आफ्ना कुरा राख्ने वातावरण हुन्थ्यो । वैठक नै नबसेपछि के गर्ने ? अनि सञ्चारमाध्यममा आफ्ना कुरा राख्नुपर्ने वाध्यता पनि हुन्छ ।

अर्को कुरा अहिले पार्टीभित्र अलिकति खुकुलो पनि बनाइएको छ । अस्ति स्थाई कमिटिमा पेश भएको प्रतिवेदनमै आलोचना–आत्मालोचना गर्न पाउने भनिएको थियो । योभन्दा अगाडि आलोचनालाई निरुत्साहन गरियो । आलोचना गर्नेलाई लखेट्ने नीति बनाइयो । अहिले हामीले नै आलोचनालाई प्रोत्साहित गर्नुपर्छ भनेका हौं । यो राम्रो कुरा हो । आलोचना गर्नेप्रति पूर्वाग्रह राख्ने काम गरिनेछैन भनेर लेख्नुपर्छ भनेका छौं ।

नेता रावल र प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाबीच सामाजिक सञ्जालमै जुहारी चल्ने गरेको छ । यसलाई चाहिँ कसरी हेर्नुहुन्छ ?

यस्तो गर्नु हुँदैन । यस्ता विषयहरु पार्टीभित्र छलफलको विषय बनाउनुपर्छ । सार्वजनिकरुपमा एक–अर्काको आलोचना गर्नु ठिक होइन ।

रावलले बालुवाटारबाटै आफूलाई मार्ने धम्की आयो पनि भन्नुभएको छ । यो संवेदनशील कुरा होइन ?

मैले कता–कता सुनेको छु । तर, मलाई यो विषयमा धेरै थाहा छैन । थाहा नभएको कुरामा टिप्पणी नगरौं होला ।

झलनाथको पीएदेखि उपप्रधानमन्त्रीसम्म

अछाममा विसं. ०१३ सालमा जन्मेका रावल किशोरावस्थाबाटै वाम राजनीतिमा होमिएका हुन् । ०३२ सालमा उनी हालका प्रधानमन्त्री केपी ओलीसँगै केन्द्रीय कारागारमा थुनिएका थिए । तर, ०४६ सालसम्म पार्टीको नेतृत्व तहमा उनी पुगेका थिएनन् ।

०४६ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारका कृषि, भूमिसुधार तथा वनमन्त्री झलनाथ खनालले रावललाई आफ्नो स्वकीय सचिव बनाएका थिए । उनलाई राज्यमन्त्रीसरह सुविधा दिइएको थियो । अनलाइनखबरसँगको एक अन्तरवार्तामा रावलले त्यतिबेला आफूलाई मन्त्री नै बन्ने प्रस्ताव आएको भए पनि भूमिगत नेतालाई स्थापित गर्नुपर्छ भनेर झलनाथलाई अघि सारेको दाबी गरेका छन् ।

राष्ट्रवादी अडानहरुले गर्दा रावलको क्रेज बढिरहेको छ र उनलाई भावी प्रधानमन्त्रीका रुपमा हेर्न चाहनेहरु पनि बढिरहेका छन् । जोकोही नेता यस्तो क्षणमा आइपुग्दा सस्तो लोकप्रियताको पछाडि कुद्ने र कुनै पनि ‘अलोकप्रिय’ कुरा बोल्नबाट बच्ने प्रवृत्ति हुन्छ ।

रावल अहिलेसम्म ४ पटक मन्त्री बनिसकेका छन् । ०५१ सालमा बनेको एमालेको अल्पमतको सरकारमा पहिलोपटक मन्त्री बनेका उनले वाणिज्य, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका थिए । ०५५ सालमा उनी फेरि पर्यटनमन्त्री बने । सँगै उनले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए । ०६६ सालमा माधवकुमार नेपालले उनलाई गृह मन्त्रालयको अभिभारा दिए । यसैगरी केपी ओलीले आफ्नो अघिल्लो कार्यकालमा उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री बनाए । त्यसबेला ओलीले बनाएका ६ जना उपप्रधानमन्त्रीमध्येका उनी एक थिए ।

रावललाई पार्टीभित्रका विरोधीहरुले ‘बन्दूके मन्त्री’ को संज्ञा दिने गरेका छन् । उनले यो संज्ञा एमालेको छैटौं महाधिवेशनबाट पाएका हुन् । उक्त महाधिवेशनमा दुई समूहबीच झडपको स्थिति आएपछि रावलले योगेश भट्टराई, रुपनारायण श्रेष्ठलगायतका युवा नेतालाई औंल्याउँदै ‘यिनीहरुलाई बन्दुक हान्’ भनेका थिए । त्यहीँबाट उनी ‘बन्दुके नेता’ कहलिन पुगे ।

आठौं महाधिवेसनमा रावल उपाध्यक्षमा लडेका थिए । तर, पराजित भए । केन्द्रीय सदस्यमा भने जितेका थिए । उपाध्यक्षमा हारेपछि महाधिवेशनमा धाँधली भएको भन्दै उनले कन्द्रिीय सदस्यको पनि सपथ लिन मानेनन् । त्यसको केही समयपछि माधवकुमार नेपालको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री नियुक्त भए ।

केन्द्रीय सदस्यको सपथ नलिएको व्यक्तिलाई मन्त्री बनाइनुहुँदैन भन्दै पार्टीभित्र विवाद उब्जियो । त्यसपछि रावलले पहिले बल्खुमा केन्द्रीय सदस्यको सपथ खाएर त्यसपछि सिंहदरबारमा मन्त्रीको सपथ खाएका थिए ।

नवौं महाधिवेशनमा रावल माधव नेपाल गुटबाट उपाध्यक्ष लडे र जिते । तर, त्यसयता उनको पार्टी अध्यक्ष केपी ओलीसँग अनायास निकटता बढ्यो । उनी ओलीका विश्वासपत्रका रुपमा चिनिन थाले । यतिसम्म कि प्रतिपक्षी दलको नेता जानुपर्ने संवैधानिक परिषदमा ओलीले रावललाई पठाए ।

ओली ०७२ सालमा प्रधानमन्त्री बन्दा रावललाई उपप्रधान तथा रक्षामन्त्री नियुक्त गरे । त्यसबेला झन् रावल ओलीका दाहिने हातझैं बनेका थिए । सरकारका हरेक महत्वपूर्ण काम कारवाहीमा ओलीले रावललाई अघि सार्थे । भारतले नाकाबन्दी गर्दा ओलीले लिएको राष्ट्रवादी अडानका कारण रावलसँग उनको रसायन मिलेको थियो । तर, ओली दोस्रोपटक प्रधानमन्त्री बन्दा भने रावल उनका कटु आलोचक बनेका छन् ।

एमालेमा उपाध्यक्ष रहेका रावलले पार्टी एकतापछि बनेको सचिवालयमा स्थान पाएनन् । त्यहीँदेखि उनको नेतृत्वप्रति तुष पोखिन थालेको आलोचकहरुको आरोप छ । साथै, ओलीले सरकारमा पनि स्थान नदिँदा उनी थप रुष्ट बनेको उनीहरु टिप्पणी गर्छन् ।

प्रमाणित नभएको त्यो आरोप

भीम रावल दोस्रोपटक पर्यटनमन्त्री हुँदा अनियमितता आरोपमा मुछिएका थिए । ०५५ सालमा कांग्रेस–एमाले संयुक्त चुनावी सरकारले बीकेमान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिनाटेण्डर चाइना साउथवेस्ट एयरलाइन्ससँग विमान भाडामा लिने सम्झौता गरेको थियो । त्यसमा निगमले २२ करोड रुपैयाँ नोक्सानी व्यहोरेको बताइएको थियो ।

यो आरोप कतैबाट प्रमाणित भने भएन । तर, उनका विरोधीहरुले यसलाई ठूलै हतियार बनाए । तत्कालीन एमाले फुटेर बनेको नेकपा मालेका युवा नेताहरु योगेश भट्टराई, घनश्याम भुसााल, नारायण ढकाललगायतले ०५५ सालमा एउटा पुस्तक लेखेका थिए, जसको नाम थियो, ‘राष्ट्रघाति, विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’

‘अपराध सूची’ को आठौं नम्बरमा चाइना साउथवेस्टसम्वन्धी विषय उल्लेख छ ।

उक्त पुस्तकमा लेखिएको छ, ‘हालै चुनावी सरकारका नाममा कांग्रेसको पुच्छर समाएर वैतरणी तर्न बिनार्सत सरकारमा सामेल भएको एमालेका बन्दुके मन्त्री भीम रावलले चुनावी खर्च जुटाउन बिनाटेन्डर चाइना साउथ एयरलाइन्ससँग प्रतिउडान घण्टा २ हजार ५ सय ५० डलरमा प्राप्त हुने हवाइजहाजलाई ३ हजार १ सय ५० डलरमा एक वर्षका लागि सम्झौता गरी १४ करोड रुपैयाँ कमिसन खाए । उक्त कुराको विरोध गर्ने पाइलटहरूलाई हड्तालमा उत्रिन बाध्य पारेर मुलुकको ५० औं करोड रुपैयाँ नोक्सान पारे । स्वाभिमानी पाइलटहरूलाई पञ्चायती कानुन प्रयोग गरी कारबाही गरे ।’

यसैगरी १७ औं र १८ नम्बरको आरोप पनि भीम रावलमाथि नै केन्द्रित छ । उनले तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालसित मिलेर ६ करोड रुपैयाँ घुस खाएको योगेश–घनश्यामहरुले आरोप लगाएका छन् । आरोपको १७ नम्बरमा भनिएको छ, ‘कांग्रेसी सरकारले दिनेश धमिजालाई आरएनएसीको युरोपको २ वर्षका लागि दिएको जिएसएबाट संस्थानलाई ठूलो घाटा भएको थियो । पछि भीम रावल मन्त्री बनेपछि मुद्दा मिलापत्र गराउने नाममा ६ करोड घूस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्नुपर्ने पारी संस्थानलाई डुबाई सो रकम पनि पार्टीमा नबुझाई महासचिव माधव नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टाचार गरे ।’

नेकपा नेता वर्षमान पुन भीम रावलबारे भन्छन् : मेरो अनुभवमा उहाँ स्पष्ट वक्ता हो, कहिलेकाहीँ अलि खरो अडान लिँदा र स्पष्ट वक्ता हुँदा उहाँलाई अप्ठ्यारो पनि पारेको छ । उहाँ बाहिर देखिँदा एकदमै खरो र कडा पनि देखिनुहुन्छ, तर भित्र काम गर्दा त्यस्तो लाग्दैन, समन्वकारी क्यारेक्टर पनि छ ।

१८ औं नम्बरमा भनिएको छ, ‘तत्कालीन पर्यटनमन्त्री भीम रावलले माधव नेपालको निर्देशनमा नेपालका तीनवटा हिमशिखर आरोहण गर्ने नाममा त्यहाँ अत्याधुनिक उपकरण जडान गरी साम्राज्यवादलाई चीनविरुद्ध जासुसी गतिविधि सञ्चालन गर्न चार लाख अमेरिकी डलर कमिसन खाई अमेरिकी गुप्तचर संस्था ‘सिआइए’ लाई स्वीकृति दिई साम्राज्यवाद र प्रभुत्ववादको निर्देशनमा चीनविरोधी क्रियाकलाप गर्ने वातावरण मिलाइदिए ।’

तत्कालीन समयमा नेकपा एमाले र मालेबीचको सम्वन्ध अत्यन्त तिक्ततापूर्ण थियो । एक–अर्कामाथि हिलो छ्यापाछ्याप गर्ने क्रम उत्कर्षमा बेला योगेश–घनश्यामले लगाएका कतिपय आरोप कपोलकल्पित र अतिरञ्जित थिए । योगेश र घनश्याम दुवै अहिले मन्त्री छन् । योगेश, घनश्याम र भीम रावल तीनैजना माधव नेपाल गुटका नेता हुन् ।

अमेरिकाका सम्पर्क सूत्र ?

रावलका आलोचकले उनीविरुद्ध प्रयोग गर्ने अर्को एउटा मसला पाएका छन् । केही समयअघि विकिलिक्सले १२ वर्ष पुरानो एउटा रिपोर्ट लिक गरेको थियो, जसमा नेपालस्थिति अमेरिकी दूतावासले नेपालका केही नेताहरुलाई आफ्ना ‘कि कन्ट्याक्ट’ वा ‘क्लोज कन्ट्याक्ट’ को संज्ञा दिएको छ । यस्तो संज्ञा पाउनेमा रावलदेखि कांग्रेसका नेता गगन थापासम्म छन् ।

दूतावासले आफ्नो सम्पर्कमा रहेका नेताहरुलाई यसरी उद्वृत गरेपछि त्यसले सामाजिक सञ्जालमा तरंग ल्याएको थियो । तर यही प्रतिवदेनका आधारमा उनीहरु अमेरिकाका खास मान्छे हुन् भनेर पत्याउन सकिँदैन ।

यस विषयमा रावलले प्रतिक्रिया दिएका छन्, ‘मैले तीन दशक बढी तत्कालीन नेकपा एमालेके विद्यार्थी संगठनदेखि पार्टीको विदेश विभागमा काम गर्दा त्यतिबेला अंग्रेजी बोल्ने र लेख्ने मानिसहरुको नितान्त अभाव थियो । पार्टीका नेताहरुले प्रायः विदेशीहरुसँग कुरा गर्दा वा पत्राचार गर्दा मेरो सहयोग लिनुहुन्थ्यो । मैले अनेकौं वैठकहरुमा विदेशीहरुलाई पार्टी र राष्ट्रिय राजनीतिबारे अंग्रेजी भाषामा जानकारी गराएको छु । यस अर्थमा नेकपा एमाले र राष्ट्रिय राजनीतिबारे जानकारी दिने व्यक्ति कसैले भनेछ भने त्यसलाई मेरो बारेमा कुप्रचार गर्ने विषय बनाउनु दुष्टताको पराकाष्टा हो ।’

रावलको अमेरिकासँग विशेष सम्वन्ध भएको प्रमाणित हुने अरु कुनै तथ्य भेटिँदैन पनि । यदि त्यस्तो हुन्थ्यो भने सम्भवतः एमसीसीको यसरी विरोध गर्न सक्दैनथे होला ।

वर्षमान पुनको नजरमा भीम रावल

हामीले नेकपाका युवा नेता एवं बहालवाला उर्जामन्त्री वर्षमान पुनसँग तपाईलाई भीम रावल कस्तो लाग्छ भनेर सोध्यौं । मन्त्री पुनले रावलका बारेमा यस्तो टिप्पणी गरे–

‘भीम रावलजी शान्ति प्रक्रियामा पनि काम गरेको मान्छे । अर्को, उहाँ स्पष्ट वक्ता हुनुहुन्छ । कानून, राजनीति, परराष्ट्र नीति र शिक्षा नीतिका विषयमा पनि जानकार हुनुभएकाले शान्ति प्रक्रियामा पनि काम गर्न हामीलाई सजिलो भयो । मैले उहाँसँग मिलेर सेना समायोजन विशेष कमिटीमा पनि काम गरें । अरु विभिन्न अनौपचारिक फोरमहरुमा पनि मैले उहाँसँग काम गरेको छु । संविधान निर्माणका बेलामा पनि संविधानसभामा रहेर काम गरेको छु ।

मेरो अनुभवमा उहाँ स्पष्ट वक्ता हो, कहिलेकाहीँ अलि खरो अडान लिँदा र स्पष्ट वक्ता हुँदा उहाँलाई अप्ठ्यारो पनि पारेको छ । उहाँ बाहिर देखिँदा एकदमै खरो र कडा पनि देखिनुहुन्छ, तर भित्र काम गर्दा त्यस्तो लाग्दैन, समन्वकारी क्यारेक्टर पनि छ । तत्कालीन माओवादीले काठमाडौंमा ६ दिने हडताल गर्दा उहाँ गृहमन्त्री हुनुहुन्थ्यो, हामी सडकमा थियौं, रिङरोड घेराबन्दी गरेका थियौं, त्यस्तो बेलामा पनि उहाँले हामीसँग समन्वय गर्नुभयो । यतिसम्म उहाँ समन्वयनकारी पनि हुनुहुन्छ ।’

रावलका कमजोरी के हुन् ?

नेकपाकै अन्य कतिपय नेताहरुको विश्लेषणमा आज राष्ट्रवादी नेताका रुपमा उदाएका रावलको विगत त्यस्तो वाहवाही गर्नुपर्नेखालको छैन । अहिले चर्का राष्ट्रवादी कुरा गर्ने उनले विगतमा रक्षा, गृहजस्ता महत्वपूर्ण मन्त्रालय सम्हाल्दा राष्ट्रियताको सम्वर्द्धनमा खासै ठोस निर्णय लिएको पाइँदैन ।

उदाहरणका लागि, भारतले कालापानीलाई आफ्नो नक्शामा पारेको विषयमा उनले अहिले तLव्र विरोध गरे । तर उनी गृह वा रक्षामन्त्री हुँदा पनि सो भूभाग भारतले आफ्नो नक्शामै राखेको थियो र भारतीय सेनाले कालापानीमा कब्जा जमाएकै थियो । कालापानीबाट भारतीय सेना फिर्ता गर्न उनले कुनै पनि पहल अगाडि बढाएका हुन्थे भने उनको बोली र व्यवहारमा एकरुपता रहेको मान्न सकिन्थ्यो भन्ने कतिपयको तर्क छ ।

चारपटक मन्त्री हुँदा रावल लगभग–लगभग ‘क्लीन’ नै निस्किए । तर उनले आफूले नेतृत्व गरेको मन्त्रालयमा आम सुधार गरेको वा राष्ट्रलाई दीर्घकालीन हित हुने खालका महत्वपूर्ण निर्णय लिएको पनि भेटिँदैन ।

कतिपयले रावललाई क्षेत्रियतावादी पनि ठान्छन् । केही समयअगाडि उनले सुदूरपश्चिमको छुट्टै क्षेत्रीय पार्टी स्थापना गर्ने असफल प्रयास गरेको चर्चा पनि मिडियामा आयो । सुदूरपश्चिमबाट उनले पार्टीमा अरु नेतालाई माथि उठ्न नदिएको आरोप पनि लाग्ने गर्छ, जसलाई रावलले खण्डन गर्दै आएका छन् ।

अन्त्यमा

६३ वर्षको उमेरमा हिँडिरहेका रावललाई ‘सम्भावना बोकेका नेता’ को उपमा दिन सुहाउँदो नहोला । किनकि, उनी आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा छन् । पदीय हिसाबले उनी अब प्रधानमन्त्री बन्न मात्र बाँकी छ ।

राष्ट्रवादी अडानहरुले गर्दा रावलको क्रेज बढिरहेको छ र उनलाई भावी प्रधानमन्त्रीका रुपमा हेर्न चाहनेहरु पनि बढिरहेका छन् । जोकोही नेता यस्तो क्षणमा आइपुग्दा सस्तो लोकप्रियताको पछाडि कुद्ने र कुनै पनि ‘अलोकप्रिय’ कुरा बोल्नबाट बच्ने प्रवृत्ति हुन्छ । अनि आफ्नो चर्चालाई कायम राख्न ‘स्टन्टवाजी’ गर्न पनि पछि हट्दैन ।

रावलले यस्तो प्रवृत्तिबाट बच्नुपर्छ । बालुवाटारबाट ज्यान मार्ने धम्की आएको उनको धम्की लगभग स्टन्ट नै सावित भएको छ । यसले उनको कद बढाएन ।

साथै, आफ्नै पार्टीको सरकारविरुद्ध सिलसिलेवाररुपमा धावा बोल्नु कति राजनीतिक हुन्छ भन्ने पक्षलाई पनि उनले नजरअन्दाज गर्न मिल्दैन कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment