Comments Add Comment
नेपाली कांग्रेसको अन्तरसंघर्ष :

कांग्रेसमा कसले जित्यो, कसले अनुहार जोगायो ?

नेविसंघमा सहमति जुट्यो, तरुण दलमा अझै बाँकी

Photo Credit : फाइल फोटो

१० माघ, काठमाडौं । साढे दुई महिना लामो आन्तरिक विवाद समाधान भएसँगै नेपाली कांग्रेसको संस्थापन र इतर समूह हार-जितको लेखाजोखामा जुटेका छन् ।

समग्रमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले बाजी मारेको देखिन्छ । तर, बराबरीको हैसियतमा चुनाव लड्ने स्थिति बनाउन भने बाँकी नै छ ।

हारजितको लेखाजोखा गर्नुपूर्व कांग्रेसमा के सहमति भयो, हेरौं ।

-१४ औं महाधिवेशन २०७७ फागुन ७-१० मै गर्ने । तर, यसको कार्यतालिका र कार्यविधि भने संशोधन गर्ने ।

-क्रियाशील सदस्यता छानविन गर्न समिति बनाउने । त्यो समितिलाई १३ औं महाधिवेशनमा नरहरि आचार्यको नेतृत्वको समितिकै टीओआर दिने ।

शुक्रबार शीर्ष नेताहरुले सहमति जुटाएको १४औं महाधिवेशनको मिति पौडेल र सिटौला समूहविना नै बसेको बहुमत केन्द्रीय समितिले पास गरेकै कार्यतालिकामा उल्लेख भएको मिति हो । यसरी हेर्दा महाधिवशेनको मिति तोक्ने विषयमा देउवाले नै जितेको जस्तो देखिन्छ ।

तर, यस्तो निश्कर्षमा पुग्नुअघि मंसिर २६ को केन्द्रीय कार्य समितिलाई सम्भिmनुपर्छ । जुन दिन, बैठक सुरु गर्दैगर्दा संस्थान पक्ष महाधिवेशनको कार्यतालिका बनाउन तयार भएको थिएन । संस्थापन पक्षको तर्क थियो, अन्तरिम संरचना बनाइसकेपछि मात्र महाधिवशेनको एजेण्डामा प्रवेश गर्ने हो ।

जब पौडेल र सिटौला समूहले लगातार बैठक बहिस्कार गरे, तब देउवाले महाधिवेशनको कार्यतालिका बनाउन सहमत भएको खबर पठाए । वार्ता चलिरहेकै बेला बहुमतको बलमा कार्यतालिका पनि बनाए, तर त्यो निकै अव्यवहारिक भएको स्वयं संस्थापन पक्षकै नेताहरुले स्वीकार गरेका छन् ।

शुक्रबारसम्म आइपुग्दा महाधिवेशनको कार्यतालिकासँगै कार्यविधि संशोधन गर्ने सहमति भएको छ । यदि पौडेल र सिटौला समूहले बैठक बहिस्कार नगरेको भए महाधिवेशनको कार्यतालिका नै नआउने दाबी गर्दै कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘आजको सहमतिले अब १४ महाधिवेशन सुनिश्चित भएको छ । सभापति पेलेर जान चाहन्थे । निर्णय पनि गरेकै हुन्, तर सफल भएनन् । हिजो गरेका सबै निर्णय फेरि केन्द्रीय समितिमा ल्याएर पास गराउनुपर्ने अवस्था आयो ।’

तर, बहुमतका आधारमा तोकिएको महाधिवेशनको मिति कायम रहेकाले देउवाले पनि ‘फेस सेभ’ भने गर्न पाएको ती केन्द्रीय सदस्यको विश्लेषण छ ।

तर, यसमा संस्थापन पक्षको तर्क भने अलि फरक छ । संस्थापन पक्षका नेताहरुको दाबीअनुसार देउवाले जितेकै हुन् र संस्थापन इतर समूहको फेससेभ भएको छ । यसका लागि संस्थापन पक्षका नेताहरु पुस १० को परिघटनालाई अघि सार्छन् ।

त्यो दिन बहुमतका आधारमा महाधिवेशनको मिति तय गर्ने निर्णय भएको थियो । ‘रामचन्द्र पौडेलको अनुपस्थितिमा पनि उनकै पक्षमा निर्णय भएको थियो । तर, पौडेलले त्यसलाई स्वीकार गरेनन्’ संस्थापन पक्षका एक नेता भन्छन्, ‘अहिले एक महिनापछि त्यही मिति मान्न पौडेल तयार भएका छन् । यो सहमतिले देउवाको जित र पौडेललाई फेससेभको मौका दिएको छ ।’

संस्थापन पक्षका केन्द्रीय सदस्य महेन्द्र यादव आफूले तोकेको मितिमा महाधिवेशन गर्न सबैलाई सहमत गराउनु देउवाको जित भएको बताउँछन् ।

बराबरीमा उभिएर महाधिवेशन !

कांग्रेस नेताहरुका अनुसार संस्थापन इतर समूहको अर्को उपलब्धी भनेको क्रियाशील सदस्यता छानविन समिति बनाउने सहमति हो ।

कांग्रेसको विधान अनुसार यस्तो समिति सभापतिकै नेतृत्वमा बन्नुपर्ने हो । तर १३ औं महाधिवेशनमा नरहरि अचार्यकै नेतृत्वमा बसेको समितिकै टीओआर दिएर अर्को समिति बनाउने सहमति हुनु महाधिवेशनका लागि महत्वपूर्ण हुने पौडेल सिटौला समूहका एक नेताले बताए ।
ती नेता भन्छन्, ‘तर, बराबरीको मैदानमा उभिएर महाधिवेशन लड्ने वातावरण भने अझै बनेको छैन ।’

उनको संकेत विभागहरु गठनतर्फ हो, जसमा शुक्रबार सहमति जुटेको छैन । संस्थापन पक्षले बहुमतका आधारमा २८ वटा विभागलाई बढाएर ४७ मा पुर्‍याएको छ । यो आफ्नो समूहलाई रिझाउन र भोट सुरक्षित गर्न भनेको आरोप देउवामाथि छ ।

शुक्रबारको बैठकमा पनि देउवाले सबै विभागहरु बनाउने प्रस्ताव गरेका थिए । पौडेलले विधानअनुसार २८ वटा मात्र बनाउन सकिने बताएका थिए भने सिटौलाले महाधिवेशन अगाडि विभागहरु नै बनाउन नहुने धारणा राखेका थिए ।

संस्थापन इतर एकजुट

२६ मंसिरको केन्द्रीय कार्य समिति बैठकअघिसम्म संस्थापन समूह एक ढिक्काजस्तो देखिन्थ्यो भने अरु तितर-वितर । संस्थापनतिर देउवा निर्विकल्प सभापतिको उम्मेदवार बन्दा अर्कोतिर रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायतका नेताहरु सभापतिको दौडमा देखिन्थे ।

तर, सभापतिले देउवा बहुमतको बल प्रयोग गर्दा संस्थापन इतर समूह एकठाउँमा आएका छन् । पार्टी नेतृत्व परिर्वतन गर्न संस्थापन इतर समूह एक हुनुपर्नेमा नेताहरु सहमत देखिएका छन् । यद्यपि भोलिका दिनमा सभापतिमा को लड्ने भन्ने विवादै हुँदैन भन्ने छैन । तर, अहिलेका लागि सबै एक देखिएका छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने शुक्रबारको सहमतिले कसेको हारजीत भन्दा पनि पार्टीमा एकता पैदा भएको प्रतिक्रिया दिए ।

नेवि संघ र तरुण दलमा के भयो ?

कांग्रेसको आन्तरिक विवादको अर्को कारण प्रमुख दुई भ्रातृ संगठन नेविसंघ र तरुण दललाई लिएर थियो । शुक्रबार नेविसंघमा सहमति जुटेको छ । जसअनुसार नेविसंघको १२ औं महाधिवेशन ६ महिनाभित्र गर्ने गरी तदर्थ समिति बन्नेछ ।

संघको सभापति देउवाले तोक्नेछन् भने संस्थापन समूहबाट तीन, पौडेल समूहबाट तीन र सिटौला समूहबाट दुई गरी ८ महामन्त्री हुनेछन् । तदर्थ समितिमा पर्ने पदाधिकारी र सदस्यले आगामी महाधिवेशनमा भाग लिन पाउने छैनन् । साथै, नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद सकिएको दिनसम्म ३२ वर्ष ननाघेका नेताहरुले संघको महाधिवेशनमा भाग लिन पाउने छन् ।

यो सहमतिबाट देउवाले आफूले चाहेका व्यक्तिलाई नेविसंघको सभापति बनाउन पाउने भएका छन् भने पौडेल र सिटौला समूहले पनि आफ्नो भाग पाएका छन् । साथै अब नेवि संघको महाधिवेशन ६ महिनाभित्रै गर्नुपर्ने भएको छ ।

तरुण दलको हकमा भने अझै सहमति जुटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment