११ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज आठौं चरणका अन्तिम २ खेल हुँदैछ । मध्याह्न १२ बजे लिग लिडर त्रिभुवन आर्मी क्लबले एनआरटीसँग खेल्नेछ भने दिउँसो ३ बजे संकटा क्लबले फ्रेण्ड्ससँग खेल्नेछ ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।
उपाधि होडमा रहेको आर्मीलाई अंक तालिकामा एकल अग्रता बनाउने अवसर छ । आर्मीले मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब समान १६ अंक जोडेको छ । गोल अन्तरमा आर्मी अगाडि छ । मछिन्द्र र मनाङले आर्मीभन्दा १ खेल बढी खेलिसकेको छ। त्यसैले आर्मीले जित हात पारे १९ अंक जोड्दै ३ अंकको स्पष्ट अग्रता बनाउनेछ । आर्मीले ७ मध्ये ५ खेल जित्दा १ बराबरी र १ हारको नतिजा निकालेको थियो ।
७ खेलबाट ११ अंक जोडेको एनआरटी छैटौं स्थानमा छ । आर्मीलाई पराजित गर्न एनआरटी पनि चौथो स्थानमा उक्लनेछ ।
यस्तै दोस्रो खेलमा संकटा र फ्रेण्ड्स भिड्दा दुवैको नजर शीर्ष ६ तर्फ हुनेछ । साविक उपविजेता संकटाले यस वर्ष त्यही लय भेट्टाउन सकेको छैन । सुरुवातमा खराब प्रदर्शन गरे पनि फ्रेण्ड्स क्लबले यस सिजन लय लिन थालेको छ ।
७ खेलबाट ९ अंक जोड्दै संकटा नवौं स्थानमा छ भने समान खेलबाट ८ अंक रहेको फ्रेण्ड्स ११ औं स्थानमा छ । संकटा विजयी भए छैटौं स्थानमा उक्लनेछ भने फ्रेण्ड्सले जित हात पारे आठौं स्थानमा पुग्नेछ ।
प्रतिक्रिया 4