Comments Add Comment

गोल गर्न नसक्नु नै मुख्य समस्या : आर्मी प्रशिक्षक न्यौपाने

काठमाडौं । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७६ मा दोस्रो पटक गोल गर्न सकेन ।

लिगको दोस्रो खेलमैसाविक विजेता मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको आर्मी सातौं चरणसम्म आइपुग्दा १६ अंकसहित शीर्ष स्थानमा थियो । र, समान अंक भएपनि दोस्रो र तेस्रो स्थानमा रहेको मछिन्द्र र मनाङले एक खेल बढी खेलेका थिए ।

शनिबार न्यूरोड टिमविरुद्ध मैदान उत्रिँदा आर्मीसामू तीन अंकको अग्रता लिने मौका थियो ।

तर आर्मीले गोल नै गर्न सकेन । एनआरटीका गोलकिपर अजित प्रजापतिको उत्कृष्ट प्रदर्शन र आर्मीको कमजोर फिनिसिङका कारण खेल गोलरहित बराबरीमा सकियो । कप्तान भरत खवाससहित नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, दिनेश हेन्जन जस्ता फरवार्ड भएपनि आर्मीले गोल गर्न सकेन ।

आर्मीले अवसर सृजना गरेपनि गोलमा परिणत गर्न सकेन । खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि स्कोरिङमा समस्या रहेको स्वीकार गरे । ‘हामीले हरेक खेलमा गोलका अवसर पाइरहेका छौं, तर त्यसलाई सदुपयोग गर्दै गोल गर्न सकेका छैनौं । त्यही मुख्य समस्या छ’ न्यौपानेले भनेका छन् ।

आफ्नो टिमविरुद्ध एनआरटीले कम्प्याक्ट डिफेन्स राखेकाले पनि गाह्रो भएको उनले सुनाए । ‘गोलकिपर अजितले पनि राम्रो खेले’ न्यौपाने भन्छन्, ‘गत सिजन पहिलो खेलमै उनले नै उत्कृष्ट खेल्दा बराबरी भएको थियो । यसपटक पनि त्यस्तै भयो ।’

उसो त तीन अंक जोड्नुपर्ने दबावमा खेल्दा जहिल्यै गाह्रो हुने न्यौपानको अनुभव छ ।

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पनि आफ्ना गोलकिपर अजितको तारिफ गरे ।

यद्यपि तीन अंकका ल्याउन नसकेको बभन्दै उनले भने, ‘हामी ३ अंकका लागि खेलेका थियौं । भनेको जस्तो भएन । तर आर्मीलाई बराबरीमा रोक्न सफल भयौं ।’

लिगको शीर्ष ६ मा पर्ने टिमको लक्ष्यका लागि आर्मीबाट खोसेको अंक महत्वपूर्ण हुने उनले बताए । बराबरीपछि आर्मी ८ खेलबाट १७ अंकसहित शीर्ष स्थानमा रहँदा समान खेलबाट १२ अंक जोडेको एनआरटी पाँचौ स्थानमा उक्लेको छ ।

आर्मी बराबरीमा रोकिँदाका फाइदा भने मछिन्द्र र मनाङ मर्स्याङ्दी क्लबलाई पुगेको छ । सातौं चरण सकिँदा आर्मीले दुवै टोलीमाथि ३ अंकको अग्रता बनाएको थियो । तर मछिन्द्र र मनाङले आठौं चरणमा जित हात पार्दा आर्मी भने बराबरीमा रोकियो । जसले गर्दा आर्मीले १ अंकको मात्र अग्रता लिएको छ । १६-१६ अंक जोडेको मछिन्द्र र मनाङ दोस्रो र तेस्रोमा छ ।

शीर्ष स्थानमा रहेको आर्मी र छैटौं स्थानमा रहेको जावलाखेल युथ क्लबबीच ५ अंकको मात्र अन्तर रहेको यस सिजन लिगको उपाधि होड रोमाञ्चक बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment