
१२ माघ, काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् ।
सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ ।
सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।
फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ । उता, सभामुखमा सापकोटा आजै निर्वाचित हुनेछन् । सर्वोच्च स्रोतका अनुसार, न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले सापकोटाविरुद्धको मुद्दा हेर्न मिल्दैन । दुवै न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गरेका थिए ।
प्रतिक्रिया 4