Comments Add Comment

भाग्यो दुई सबस्टेसन बनाउने चिनियाँ ठेकेदार, प्राधिकरणले तोड्यो ठेक्का

१२ माघ, काठमाडौं । मर्स्याङदी (तनहुँ)- मातातीर्थ (काठमाडौं) २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गतको दुई वटा सबस्टेसन बनाउने ठेक्का पाएको चिनियाँ कम्पनी भागेको छ ।

तनहुँको मार्कीचोक र काठमाडौंको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसनको चिनियाँ ठेकेदार कम्पनी सेन्जेन फ्राड इलेक्ट्रिक कर्पोरेसन लिमिटेड कामलाई अलपत्र पारी भागेको हो । नेपाल विद्युत प्राधिकरणले कम्पनी भागेपछि ठेक्का सम्झौता रद्द गरेको छ ।

कम्पनीले कार्यसम्पादन जमानत बापत राखेको करिब ३५ करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्न बैंकलाई पत्र लेखिएको आयोजना प्रमुख तारा प्रधानले बताए ।

‘कामलाई अलपत्र पारी साइटबाट भागेपछि कम्पनीलाई काममा र्फकन लिखित/मौखिक रुपमा पटक-पटक ताकेताको सूचना जारी गर्यौं, तर कम्पनी नफर्किएपछि ठेक्का सम्झौताबमोजिम ठेक्का तोडिएको हो’,प्रधानले भने,’ठेक्का तोठिएपछि आयोजनामा सहुलियतपूर्ण ऋण प्रवाह गरेको एसियाली विकास बैक (एडीबी)मा पठायौं, एडीबीबाट पनि सहमति आइसकेको छ ।’

कम्पनीले सबस्टेसनमा प्रयोग हुने ३२० एमभीएका पावर ट्रान्सर्फमरहरु, कन्ट्रोल रुपमा प्रयोग हुने लगायतका अन्य अधिकांश उपकरणहरु साइटमा ल्याइसकेको छ । मार्कीचोकमा कन्ट्रोरुम रहने भवनको र अन्य सबस्टेसनको सिभिल संरचनाको निर्माण भइरहेको थियो । आयोजनाको म्याद सकिने समयसम्म करिब ५० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

पछिल्लो सयममा सन्तोसषजक प्रगति भइरहेको अवस्थामा कम्पनीका कामदार प्रतिनिधिले एकाएक साइट छाडेका थिए । त्यसपछि प्राधिरकणले कम्पनीलाई फिर्ता बोलाउन गरेको प्रयास असफल भएको थियो ।

१६० एकभिएका दुई-दुई वटा गरी मार्कीचोक र मातातीर्थ सबस्टेसनमा ३२० एमभीएका वापर ट्रान्सर्फमरहरु रहने छन् । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि एक करोड ५६ लाख अमेरिकी डलर र पाँच अर्ब ५१ करोड ५६ लाख रुपैयाँमा डिसेम्बर २०१७मा ठेक्का सम्झौता भएको थियो ।

अब लागत अनुमान तयार गरेर नयाँ कम्पनी छनोटको प्रक्रिया अघि बढाउने योजना छ ।

आयोजनाअन्तर्गतकै तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको मस्र्याङदी-काठमाडौं २२० केभी डबर सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । ८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये स्थानीयको अवरोधका कारण ५ वटाको मात्रै निर्माण बाँकी छ भने तार ७५ किलोमिटरभन्दा बढी तानिएको छ ।

मर्स्याङदी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन प्रसारणलाइन निर्माण गरिएको हो । निर्माण अवरोध हटेमा चैतभित्रमा प्रसारणलाइनको निर्माण सकिने आयोजना प्रमुख प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment