Comments Add Comment

पर्यटकको तथ्यांक : वर्षमा झण्डै १२ लाख !

किन घट्यो नेपालमा पर्यटक आगमनको वृद्धिदर ?

१३ माघ, काठमाडौं । नेपालमा एक वर्षभित्र २० लाख पर्यटक भित्र्याउने गरी ‘भ्रमण वर्ष २०२०’ मनाइँदैछ । तर, सन् २०१९ को तथ्यांक हेर्दा पर्यटक आगमनमा दर निराशाजनक देखिएको छ । यस वर्ष ८ लाख बढी पर्यटक भित्र्याउनु चुनौतीपूर्ण देखिएको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार एक वर्षको अवधिमा सन् २०१९ मा कुल ११ लाख ९७ हजार १ सय ९१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सन् २०१९ मा नेपालको इतिहासमै सर्वाधिक संख्यामा पर्यटक भित्रिए । तर, पर्यटक आगमनको वृद्धिदर भने ज्यादै कमजोर रह्यो ।

सन् २०१८ मा नेपालको पर्यटन आगमनको वृद्धिदर २५ प्रतिशत थियो । जुन एशिया प्यासिफिक क्षेत्रकै सर्वाधिक थियो । सन् २०१८ मा नेपालले कुल ११ लाख ७३ हजार ७२ जना पर्यटकलाई नेपालमा स्वागत गरेको थियो ।

सन् २०१८ को तुलनामा सन् २०१९ मा २ प्रतिशत मात्र पर्यटक बढेका छन् ।

यो संख्यामा हवाईमार्गबाट सबै मुलुकका पर्यटक र स्थलमार्गबाट भित्रिएका भारत बाहेकका पर्यटक सम्लिलित छन् । नेपालले स्थलमार्गबाट भित्रिने भारतीय नागरिकलाई भने पर्यटकका रुपमा गणना गर्दैन ।

अब सन् २०२० मा नेपालमा २० लाख पर्यटकहरु भित्र्याउने हो भने गत वर्षको भन्दा ८ लाख बढी पर्यटक भित्र्याउनुपर्ने हुन्छ, जुन निकै चुनौतिपूर्ण देखिन्छ ।

किन घट्यो वृद्धिदर ?

नेपाल पर्यटन बोर्डका अनुसार यसवर्ष पर्यटक आगमनमा स्वदेशी र विदेशी कारणले भूमिका खलेको छ । सन् २०१७ मा झण्डै आधाजसो समय त्रिभुवन विमानस्थल पूर्ण क्षमतामा चल्न सकेन ।

यो विमानस्थल एकपटक दैनिक १० र दोस्रो पटक दैनिक ७ घण्टा बन्द भएको थियो । यसले नेपाल उडान गरिरहेका कतिपय वायुसेवा कम्पनीले उडान कटौती नै गर्नुगरेको थियो । त्यसै वर्ष नेपालमा सबैभन्दा धेरै यात्रु बोक्ने जेट एयरवेज बन्द भएको थियो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार यसअवधिमा भारतको राजधानीमा फैलिएको विषालु हावाले समेत अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा असर गरेको हो । नेपाल आउने अधिकांश अन्तराष्ट्रिय पर्यटकले दिल्लीलाई ट्रान्जिट बनाउँछन् ।
नेपालमा सिधा हवाई सम्पर्क थोरै मुलुकसँग मात्र छ । अर्कोतर्फ, इन्धनको चर्को मूल्यका कारण नेपाल महंगो हवाई गन्तव्य मानिन्छ । यसका साथै भारतमा नागरिकतासम्बन्धी विधेयकको आन्दोलन र जम्मुकश्मीरको मुद्दाले समेत सन् २०१९ को पर्यटक आगमन प्रभावित भयो । त्यसको मारमा नेपाल परेको लामिछाने बताउँछन् ।

यसबाहेक छिमेकी मुलुक भुटानले पछिल्लो समय धेरै पर्यटक तानिरहेको छ । राम्रो पूर्वाधार र दीगो पर्यटनको नारा दिएर भुटानले नेपाल आउने पर्यटकलाई समेत तान्न सफल भएको पर्यटन बोर्डका अधिकारीहरुको विश्लेषण छ ।

सन् २०१९ मा संसारभर पर्यटकको वृद्धिदर ४ प्रतिशत हाराहारी रह्यो । सन् २०१८ मा ६ प्रतिशत हाराहारी थियो । विश्वभर देखिएको यो अवस्थाले समेत नेपालमा प्रभाव पारेको लामिछाने बताउँछन् ।

१७२ मुलुकबाट भित्रिए पर्यटक

तथ्यांकअनुसार नेपालमा सन् २०१९ मा १७२ मुलुकका पर्यटक भित्रिएका छन् । यीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक हवाईमार्गबाट भित्रिएका छन् ।

त्यसपछि चिनियाँ नागरिकको संख्या धेरै छ । पर्यटनको तेस्रो स्रोत बजारका रुपमा अमेरिका रहेको छ । यसबाहेक बेलायत, श्रीलंका, थाइल्याण्ड, अष्टे«लिया, जर्मनी, म्यानमार र फ्रान्स नेपाली पर्यटनका लागि उत्कृष्ट १० स्रोत बजार रहेको तथ्यांकले देखाएको छ ।

अमेरिकी र युरोपेली पर्यटक नेपालमा खर्चालु पर्यटकका रुपमा मानिन्छन् । उनीहरुमध्ये धेरैजसो पदयात्रा र पर्वतारोहणमा आएका हुन्छन् ।

कुन–कुन नाकाबाट भित्रन्छन् धेरै पर्यटक ?

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०१९ मा हवाई मार्गबाट ९ लाख ९५ हजार ८८४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

नेपालको एकमात्र हवाई प्रवेश विन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । सडकमार्गबाट भने २ लाख १ हजार ३०७ जना पर्यटक भित्रिए । यसमध्ये सबैभन्दा धेरै पर्यटक भैरहवा नाकाबाट नेपाल भित्रिएका छन् ।

उनीहरु लुम्बिनी भ्रमणलाई लक्षित गरी नेपाल छिरेका पर्यटक हुन् । भैरहवाबाट एक वर्षको अवधिमा १ लाख ६१ हजार ३९६ जना पर्यटक भित्रिएका छन् । रसुवागढीबाट २६ हजार ७१३ जना पर्यटक नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment